रामदेवले भने,‘गढीमाईमा पशु बली रोक्न धर्नामा बस्न तयार छु’
वीरगन्जः योग गुरु बाबा रामदेवले बाराको बरियापुरमा रहेको विश्व प्रसिद्ध गढीमार्इ मन्दिरमा पशु पंक्षीको बली रोक्नु पर्ने बताएका छन्।
वीरगन्जमा पतन्जली योग समितिले आयोजना गरेको पाँच दिने बृहत योग विज्ञान शिविरको अन्तिम दिन सोमबार सहभागीहरुलाई योग प्रशिक्षण दिँदै बाबा रामदेवले गढीमार्इ मन्दिरमा हुने पशु बली अन्त्य गर्न आग्रह गरे।
‘यो पृथ्वीमा मानवलाई जस्तै अन्य जीवजन्तु र पशुपंक्षीलाई पनि बाँच्न पाउनु पर्ने हक छ,’ बाबा रामदेवले भने,‘ विगतमा जे भयो त्यो गलत भयो, अब त्यसो हुनु हुँदैन। गढीमार्इ मन्दिरमा धर्मको नाममा कुनै पनि पशुपंक्षीको बली चढाउने काम बन्द गर्नुपर्छ।’
गढीमार्इ मन्दिरमा हुने पशुपंक्षीको बली रोक्न आवश्यक परे आफु धर्नामा पनि बस्न तयार रहेको उनले बताए। बाबा रामदेवले भने,‘गढीमार्इमा हुने पशु बली रोक्न धर्नामा बस्नैपर्ने अवस्था आउँछ भने म आएर धर्नामा बस्न तयार छु।’ उनले कुनै पनि जीवजन्तुको बली दिएर धर्म प्राप्त नहुने पनि बताए।उनले योगको माध्यमबाट अलौकिक र अविश्वसनीय परिवर्तनहरु आउने दावी पनि गरे। बाबा रामदेवले नेपालको हरेक जिल्लामा पतञ्जली योगपिठको शाखा खोल्ने उद्घोष पनि गरे।
वीरगन्जमा आयोजित पाँच दिने बृहत योग विज्ञान शिविरको समापन समारोहमा सोमबार सभामुख ओनसरी घर्ती पनि सहभागी भएकी थिइन्। पाँच दिने शिविरमा वीरगन्ज आसपासका क्षेत्र र छिमेकी भारतबाट गरी करिब ५५ हजार जनाले योग अभ्यासको प्रशिक्षण लिएको योग शिविर मुल आयोजक समितिका संयोजक विजय सरावगीले बताए।
शिविर आयोजनामा झण्डै एक करोड रुपैयाँ खर्च भएको पनि उनले जानकारी दिए। शिविर आयोजनाका लागि गैरअवासीय नेपाली संघ (एनआरएन)का संस्थापक अध्यक्ष उपेन्द्र महतोले २५ लाख रुपैयाँ सहयोग गरेको सरावीले बताए।