सामान्य घरमा ‘हाइटेक प्रविधि'बाट विद्युत चोरी
भक्तपुरः लोडसेडिङ घटाउन भक्तपुरमा विद्युत चुहावट नियन्त्रण सुरु गरेको विद्युत प्राधिकरणका प्राविधिक तथा कर्मचारीहरु आश्चर्यमा परेका छन् । सामान्य घरमै हाइटेक प्रविधि प्रयोग गरी विद्युत चोरी गरिएको पाइएपछि उनीहरु आश्चर्यमा परेका हुन् ।
खम्बाबाट घरसम्म लगिएको केबलमा आफ्नो मिटर नपुग्दै सर्वसाधारणले प्वाल पारेर विद्युत चोरी गर्नु सामान्य प्रविधि हो । त्यस्तै मिटरको शील तोडेर विद्युत चोरी गर्नु पनि अर्को सामान्य प्रविधि नै हो । यस्ता प्रविधि प्रयोग गरेर गरिने चोरी सामान्य सबैले देख्न र भेट्टाउन सकिन्छ ।
तर भक्तपुरका केही घरहरुमा विद्युतका प्राविधिकहरुले समेत साधारण रुपमा पत्ता लगाउन नसकिने गरी विद्युत चोरी गरिएको पाइएको प्राधिकरण भक्तपुर वितरण केन्द्रका प्रमुख विक्रम अमात्य बताउँछन् ।
‘सामान्य घरमा हाइटेक प्रविधिबाट विद्युत चोरी गरिएको पाउँदा हामी नै आश्चर्यमा पर्यौं',' उनले भने, ‘यस्तो चोरी विद्युतका प्राविधिकहरुको संलग्नताविना सम्भव हुँदैन ।'
उनका अनुुसार खम्बाबाट घरसम्म पुगेको केबललाई मिटर नपुग्दै भित्ताभित्रै विशेष प्रविधि प्रयोग गरी चोरी गर्नु नै हाइटेक प्रविधि हो । यस्तो प्रविधि सामान्य नांगो आँखाले देखिँदैन । विद्युतका कर्मचारी तथा प्राविधिकहरुले खम्बाबाट घर पुगेको र मिटरमात्रै जाँच गर्ने गर्छन् । घरभित्र पुगेको केबलको विस्तृत जाँच गरिँदैन । यसैको फाइदा उठाएर हाइटेक प्रविधि प्रयोग गरेर विद्युत चोरी गर्ने गरेको पाइएको प्रमुख अमात्य बताउँछन् ।
उनले विद्युत चुहावट नियन्त्रण पनि उत्पादनसरह नै भएकाले भक्तपुर वितरण केन्द्र विद्युत चुहावट नियन्त्रणमा तदारुकताका साथ लागिपरेको जानकारी दिए । भक्तपुर केन्द्रले गएको वैशाखदेखि विद्युत चुहावटसम्बन्धी जनचेतना अभिवृद्धि अभियानकै रुपमा अघि बढाएको थियो ।
त्यस्तै विद्युत महसुलको बाँकी बक्यौता तिरेर लाइन काट्ने समस्याबाट बच्न माइकिंगसमेत गरिएको थियो । उक्त अभियानबाट चालू आर्थिक वर्ष एक करोड रुपैयाँभन्दा बढी विद्युत महसुल संकलन भएको प्रमुख अमात्य बताउँछन् ।
‘पहिले एक करोड ७५ लाख रुपैयाँ विद्युत महसुल संकलन भइरहेको थियो', उनले भने, ‘तर विद्युत चुहावट र बाँकी बक्यौता बुझाउने जनचेतनामूलक अभियान सञ्चालन गरिएपछि एक करोड बढी महसुल संकलन भयो ।'
विद्युत चुहावटमा उल्लेख्य सुधार
उक्त अभियानले भक्तपुरमा विद्युत चुहावटमा पनि भारी कमी आएको उनले दावी गरे । सरकारी तथ्यांकअनुसार भूकम्पअघिसम्म भक्तपुरमा ६३ प्रतिशत विद्युत चुहावट भइरहेको थियो । तर भूकम्प र जनचेतना अभियानका कारण चुहावट अहिले ३३ प्रतिशतमा झरेको प्रमुख अमात्यको दावी थियो ।
‘भूकम्पअघिसम्म विद्युत चुहावट ६३ प्रतिशत थियो', उनले भने, ‘अहिले ३३ प्रतिशतमा झरेको छ । विद्युत चुहावट नियन्त्रण अभियान जारी नै भएकाले चालू आवभित्र चुहावट २२ प्रतिशतमा झार्ने लक्ष्य रहेको छ ।'
उनका अनुसार करिब सात प्रतिशत प्राविधिक चुहावट हुन्छ । यसलाई चुहावट नमानिए चालू आवको चार महिनाभित्रै २६ प्रतिशत पुगेको उनको भनाइ थियो ।
चालू आर्थिक वर्षको मंसिर पहिलो साताभित्र विद्युत चोरी गर्ने ४९ जनालाई नियन्त्रणमा लिइएको छ । केन्द्रका अनुसार उनीहरुबाट १४ लाख ७६ हजार एकसय ८५ रुपैयाँ जरिवानीस्वरुप राजस्व आम्दानी गरिएको छ ।
चुहावट नियन्त्रण दैनिक कर्मचारी परिचालन
केन्द्रले अहिले पनि दैनिक दुई समूह खटाएर विद्युत चुहावट नियन्त्रणलाई तीव्रता दिँदै आएको छ । केन्द्रका अनुसार भक्तपुरमा मासिक ३५ लाख रुनिट बिक्री भइरहेको छ । केन्द्रको सिस्टममा भने ५१ लाख युनिट विजुली आइरहेको केन्द्रले जनाएको छ ।
‘सिस्टममा मासिक ५१ लाख युनिट आइरहेको छ', केन्द्र प्रमुख अमात्य भन्छन्, ‘तर ३५ लाख युनिटमात्रै बिक्री भएको तथ्यांक छ । १६ लाख युनिटको चुहावट भइरहेको छ ।'
बक्यौता नतिर्नेको नाम कालोसूचीमा
केन्द्रले विद्युत चुहावट नियन्त्रणसँगै बिजुली उपयोग गरेर लाग्ने शुल्क वर्षौंसम्म पनि नतिर्ने ग्राहकहरुको नाम कालोसूचीमा प्रकाशित गर्दै आएको छ । यसरी कालोसूची प्रकाशनपश्चात पनि बक्यौता रकम नतिर्ने ग्राहकहरुको लाइन नै काट्ने गरिएको छ ।
केन्द्रका अनुसार करिब १२ करोड रुपैयाँ बक्यौता उठाउन बाँकी छ । बाँकी बक्यौताको ८० प्रतिशतभन्दा बढी सडक बत्ती तथा मठमन्दिरमा प्रयोग भएको बिजुलीको रहेको केन्द्रका प्रमुख अमात्य बताउँछन् ।
सडक बत्ती र मठमन्दिरमा प्रयोग हुने बत्तीको शुल्कबारे स्थानीय निकाय, पुरातत्व विभाग र प्राधिकरणले नीतिगत निर्णय नगरेसम्म यो बक्यौता बढ्दै जाने उनको भनाइ थियो ।
जनशक्ति अभावले समस्या
केन्द्रका प्रमुख अमात्यले चुहावट नियन्त्रण टोली नियमित रुपमा खटाउन केन्द्रमा जनशक्ति अभाव भएको दुःखेसो पोखे । उनले दरबन्दीअनुसार जनशक्ति भए भक्तपुरमा विद्युत चुहावट नियन्त्रणमा कुनै समस्या नहुने बताए ।
‘केन्द्रमा एकसय ८ जनाको दरबन्दी छ तर जनशक्ति भने ८८ जनामात्रै छौं', उनले भने, ‘जनशक्ति अभावमा पनि प्राविधिक दरबन्दी बढी छन् । प्राविधिक जनशक्तिको कमीले चुहावट नियन्त्रणमा समस्या छ ।'
विद्युतको माग बढ्दो
केन्द्रका अनुसार भक्तपुरमा विद्युतको माग पनि बढिरहेको छ । काठमाडौं उपत्यकामा बढ्दो जनसंख्याको चापअनुसार पछिल्लो समय भक्तपुमा पनि नयाँ घर बनाउनेहरुको संख्या अत्यधिक बढेको छ । जसअनुसार महिनामा तीनसयभन्दा बढी नयाँ लाइन जडानको निम्ति निवेदन पर्ने गरेको केन्द्रले जनाएको छ ।
बढ्दो विद्युत मागलाई धान्न सब–स्टेशनको संख्या बढाउने प्रक्रिया अघि बढाइएको केन्द्रले जनाएको छ । केन्द्रका करिब ३२ हजार ग्राहक छन् ।