चार विद्यार्थीका चार ‘बिजनेस आइडिया'
काठमाडौंः ललितपुरमा सञ्चालित जेम्स स्कुलका विद्यार्थीले चारवटा ‘इनोभेटिभ बिजनेस प्लान' तयार पारेका छन् । व्यवस्थापन संकायतर्फ कक्षा १२ मा अध्यनरत चार विद्यार्थीले ‘विजनेस आइडिया' तयार पारेका हुन् । जेम्स स्कुलले व्यवस्थापन पढ्ने विद्यार्थीबीच ‘बिजनेस प्लान' प्रतिस्पर्धा गराएको थियो ।
सोमबार सम्पन्न प्रतिस्पर्धामा प्रज्ञा पन्त, नेहा श्रेष्ठ, उमेध शाक्य र प्रिताराज राजकर्णिकार सहभागी थिए । जसमध्ये पन्तले बनाएको ‘बिजनेस प्लान' सर्वोत्कृष्ट भयो ।
विजेता पन्तले काठमाडौंको बसन्तपुरमा ‘गेमिङ जोन' सञ्चालन गर्ने योजना प्रस्तुत गरेकी थिइन् । उनले त्यहाँ स्तरीय क्याफे पनि हुने प्लानमा उल्लेख गरकी थिइन् । उनले अवसर नपाएका उत्पीडित महिलालाई रोजगारीको अवसर दिइने योजना प्रस्तुत गरेकी थिइन् । उनको ‘बिजनेस योजना'ले जजहरूको विश्वास जित्न सफल भएको थियो ।
नेहा श्रेष्ठले काठमाडौंमा फरक खालको डेरीजन्य वस्तु उत्पादन गर्ने उद्योग सञ्चालनको योजना प्रस्तुत गरिन् । उद्योगमा चौंरी, बाख्रा र गाईको दुधबाट विभिन्न वस्तुहरू उत्पादन गरिनेछ । यसका लागि काभ्रेमा गएर किसानलाई गाई र बाख्रा पाल्न हौसाउने उनको योजना छ । उनले अगाडि सारेको उद्योगमा पनि पिछडिएका महिलालाई रोजगारी दिने प्रतिवद्धता छ ।
उमेध शाक्यले हस्तकला उद्योगको योजना प्रस्तुत गरे । योजनामा उद्योगबाट मेटल, पश्मिनालगायतका विभिन्न वस्तुहरू बनाउने र थाइल्यान्ड, चीन, बर्मा, भुटानलगायतका देशहरूमा निर्यात गर्ने योजना उल्लेख छ । यसले विदेशी मुद्रा आर्जन गर्न र रोजगारीका अवसरहरू सिर्जना गर्न सहयोग पुर्याउने छ ।
उनको योजनामा विदेशीसँग अनलाइन बुकिङ लिएर डेलिभरि सुविधा उपलब्ध गराउने उल्लेख छ । लुम्बिनीमा भव्य सो-रुम राखेर विदेशी पर्यटकमाझ नेपाली हस्तकलाको प्रवद्र्धन गर्ने उनको योजना छ ।
प्रिताराज राजकर्णिकारले अमेरिकाको न्यूयोर्कबाट कस्मेटिक्स वस्तुहरूको फ्रेन्चाइज नेपालमा ल्याउने बिजनेस योजना प्रस्तुत गरे । उक्त वस्तुहरू देशभर आउटलेट खोलेर ग्राहकलाई उपलब्ध गराउने उनको योजना छ ।
अहिले काठमाडौंका ठूला मल, दरबारमार्गजस्ता ठाउँहरूमा मात्र ब्रान्डेड कस्मेटिक्स पाइन्छ । काठमाडौंको पोलुसनबाट बच्नका लागि कस्मेटिक्स प्रयोग अनिवार्य रहेको उनको जिकिर छ ।
यस्तो प्रतियोगिता वर्षमा एक पटक आयोजना हुने व्यवस्थापन संकायका संयोजक चिरञ्जीवी निरौलाले बताए । ‘विद्यार्थीलाई बुकमात्र घोकाएर हुँदैन, विद्यार्थीको पढाई रिसर्च ओरिन्टेड हुनुपर्छ' उनले भने, ‘सबै संकायमा यस्ता किसिमका कार्यक्रमहरू आयोजना गर्दै आएका छौं ।'
आगामी वर्ष उपत्यकाव्यापी प्रतियोगिता गराउने योजना बनाएको निरौलाले जानकारी दिए । ‘विस्तारै राष्ट्रव्यापी रूपमा कार्यक्रम आयोजना गर्नेर्छौं' उनको भनाइ छ । यसले विद्यार्थीलाई ‘इनोभेटिभ' बनाउन मद्दत पुग्छ ।
सन् १९८४ मा खुलेको जेम्समा विद्यालय तह, ए लेभल, प्लस टुतर्फ विज्ञान र व्यवस्थापन विषय पढाइ हुन्छ । जेम्समा दश कक्षासम्म २७ सय विद्यार्थी अध्यनरत रहेको निरौलाले बताए ।
गेमिङ जोनको भविष्य राम्रो छ
प्रज्ञा पन्त
तपाईंको ‘बिजनेस प्लान' कस्तो थियो, जसले उपाधी जितायो ?
मेरो बिजनेस प्लान ‘गेमिङ जोन' सञ्चालन गर्ने थियो । त्यहाँ एउटा राम्रो क्याफे हुनेछ । गेमिङ जोनमा बच्चादेखि युवासम्म सबै रमाउन सकुन् । त्यहाँ युवाहरूले रुचाउने भिडियो गेम हुनेछन् । नेपालमा यस्ता गेमहरू खेल्ने ठाउँको अभाव देखिन्छ । साइबरहरू भए पनि त्यहाँ रमाउने वातावरण हुँदैन । राम्रो वातावरणमा गेमिङ जोन चलाएमा राम्रो चल्छ ।
मैले सामाजिक सञ्जालबाट सर्भे गरेको थिएँ । विभिन्न प्रश्नहरू तयार पारेर ८० जनासँग सोधेँ, गेमिङ जोन कत्तिको चल्छ ? सबैले राम्रोसँग चल्ने प्रतिक्रिया दिनुभयो । धेरैले राम्रो वातावरण भएको गेमिङ जोन भएमा आफूहरू खेल्न आउने बताउनुभयो । मैले बसन्तपुर एरिया छनौट गरेँ, त्यहाँ धेरै पर्यटक आउँछन् । नेपालमा मात्र गेमिङ जोन नभएको हो । विदेशमा सबैभन्दा बढी मान्छे ओइरिने नाफा भएको बिजनेस हो यो । यसले पर्यटक आकर्षित गर्छ ।
क्याफेमा अवसर नपाएका महिलालाई जागिर दिइने छ । उत्पीडित तथा पिछडिएका महिलाले क्याफे चलाउनु हुनेछ । त्यहाँ हाइजेनिक खाना पनि उपलब्ध हुनेछ ।
गेमर्सहरू एकदमै कम्फरटेवल भएर गेमहरू खेल्न पाउनेछन् । ग्राहक आकर्षित गर्न हरेक महिना टुर्नामेन्ट आयोजना गरेर गिफ्ट प्रदान गरिनेछ । यसमा ‘वान टाइम इन्भेस्टमेन्ट, लाइफ टाइम अर्निङ' हुन्छ । यो बिजनेसले युवालाई एकै ठाउँमा जम्मा पारेर सामाजिक बनाउन पनि सहयोग पुर्याउँछ ।
‘गेमिङ जोन'को बिजनेस प्लान बनाउने भावना कसरी आयो ?
मेरो पनि दाइ, दिदीहरू हुनुहुन्छ । घुम्न जाँदा गेम खेलेर समय बिताउँथ्यौं । यहाँ राम्रो वातावरण भएको गेमिङ जोन थिएन । सिटी सेन्टरमा भएको गेमिङ जोन भरिभराउ हुन्थ्यो । मेरा साथीहरू पनि फुर्सद हुने वित्तिकै गेम खेल्न जान्थे । अहिले युवाहरू मोबाइल, ल्यापटमा गेम खेलिरहेका भेटिन्छन् । अनलाइन गेमहरू खेल्न थालिएको छ । मैले गेमिङ जोन राम्रोसँग चलेको देखेकी थिएँ । युवकको गेमप्रतिको बढ्दो आकर्षण देखेर नै ‘गेमिङ जोन'को योजना बनाएकी हुँ ।
‘गेमिङ जोन'को योजना बनाउनुभयो । भविष्यमा यही बिजनेस गर्नुहुन्छ ?
यो बिजनेस सुरु गर्न ८० लाखदेखि एक करोडसम्म लाग्छ । मसँग लगानी गर्ने पैसा भएमा अवश्य गर्छु । यो बिजनेसमा लगानी गर्ने वित्तिकै आम्दानी हुन्छ । भविष्य झनै सुरक्षित छ । टेक्नोलोजीको जमानामा गेमिङ जोन सँधै लोकप्रिय हुन्छ । मान्छेहरू अझै टेक्नोलोजीप्रति आकर्षित हुँदैछन् । टेक्नोलोजी अझै एडभान्स हुँदै जान्छ । जसले गेमिङको सम्भवना झन् बढ्दै जाने छ । मसँग लगानी भएमा अवश्य पनि यो बिजनेस गर्नेछु ।
भविष्यको योजना के छ ?
म भविष्यमा लयर बन्न चाहान्छु । लयर सँगसँगै बिजनेस ह्यान्डल पनि गर्न चाहान्छु । पहिला ब्याचलर सिध्याउँछु । अनि ‘ल' ज्वाइन हुन्छु । मलाई एड्भोकेसी गर्न मन पर्छ । बोल्न धेरै रुचाउँछु । नयाँ नयाँ मान्छे भेट्न, चिनजान गर्न रमाइलो लाग्छ ।
व्यवस्थापन विषय पढेर ‘इन्टरप्रेनर' बन्नेहरू धेरै कम हुन्छन्, किन ?
अहिलेको जेनेरेसन मेहनत गर्न चाहँदैन । एकैचोटी टपमा पुग्न चाहन्छन् । बिजनेस सुरु गरेमा मेहनत गर्नुपर्छ, प्रतिफलका लागि समय कुर्नुपर्छ । बिजनेसमा विस्तारै सिँढी चढेर टप लेभलमा पुग्न सकिन्छ । तर, जागिर सुरु गरेपछि मेहनत गर्नुपरेन, पैसा राम्रो आउँछ, जोखिम मोल्नु परेन । त्यही भएर विजनेसमाभन्दा जागिरमा आकर्षण देखिन्छ ।