अनसनरत केसी भेट्न स्वास्थ्यमन्त्री थापा शिक्षण अस्पतालमा
काठमाडौंः १७ दिनदेखि आमरण अनसनमा रहेका त्रिवी शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीलाई भेट्न स्वास्थ्य मन्त्री गगन थापा अस्पताल पुगेका छन् ।
मन्त्री थापाले डा. केसीसँगको भेटमा मागका सम्बन्धमा सरकार गम्भीर भएको जानकारी गराएका छन् । केही दिनदेखि डा.केसी पक्ष र सरकारी वार्ता टोलीबीच कुराकानी भए पनि निष्कर्षमा पुग्न सकेको छैन् ।
केसीसँगको भेटमा मन्त्री थापाले वार्ता निष्कर्षमा पुर्याउन उच्च राजनीतिक नेतृत्वसँग कुरा गर्ने आश्वासन समेत दिएका छन् ।
थापाले मंगलबार साँझ बस्ने मन्त्रिपरिषद् बैठकले केसीका मागका सम्बन्धमा छलफल गरेर निर्णय गर्ने आश्वासन समेत दिएका छन् । मन्त्री थापाका प्रेस सल्लाहकार जीवन भण्डारीका अनुसार स्वास्थ्यमन्त्रीले कसरी समस्या समाधान गर्न सकिन्छ भनेर राय समेत लिएका छन् ।
डा. केसी त्रिवी उपकुलपति तीर्थ खनियाँ र चिकित्सा अध्ययन संस्थान (आइओएम)का नवनियुक्त डिन केशवप्रसाद सिंहको बर्खास्तीलगायत माग राख्दै १७ दिनदेखि अनसनमा छन् ।