‘संविधान संशोधन प्रस्ताव आए एमालेले असफल बनाउँछ’
काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव भीम आचार्यले वर्तमान सरकारले कुनै हालतमा संशोधन प्रस्ताव ल्याउन नसक्ने ठोकुवा गरेका छन्। आचार्यले भने,‘म दाबीका साथ भन्छु, यो सरकारले संशोधन प्रस्ताव ल्याउनै सक्दैन।’
नेता आचार्यले संविधानको संशोधनको अहिले कुनै आवश्यकता र औचित्य नभएकोले पनि वर्तमान सरकारले कुनै हालतमा संशोधन प्रस्ताव ल्याउन नसक्ने बताए।
उनले संशोधन प्रस्तावबारे सत्तारुढ गठबन्धनभित्रै एकरुपता नभएको र संशोधनको माग गरेको मधेशी मोर्चा नै असहमत रहेको उल्लेख गर्दै पहिला आफ्नो दलमा सहमति कायम गरेर देखाउन चुनौती दिए।
रिपोर्टर्स क्लब नेपालले गरेको कार्यक्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकपछि अर्को गर्दै काँचो, अपरिपक्व कदमहरु चालिरहेको समेत आरोप लगाए। आचार्यले भने,‘प्रचण्डजीले एकपछि अर्को अपरिपक्वता देखाउँदै जानुभएको छ, त्यसैले उहाँ असफल भैरहनुभएको छ ।’ उनले यतिवेला मुलुक र जनताको लागि पनि चुनाव आवश्यकता भएको स्पष्ट पारे।
उनले संविधान संशोधनको नाममा कथित मुद्दाहरु उठाएर मुलुकलाई ध्रुविकरण गर्न खोजिएको समेत आरोप लगाए। उनले अहिले सीमांकनको परिवर्तन गर्ने पक्षमा एमाले नभएको जिकिर गरे।