होटेल गएर युवती भेट्थे भगौडा कैदी

होटेल गएर युवती भेट्थे भगौडा कैदी

पोखरा: कारागारमा कैदीलाई के के सुविधा हुन्छ ? सामान्यतया साँघुरा कारागारमा कैदीलाई सुविधाभन्दा सास्ती नै बढी हुन्छ । पछिल्लोपटक कास्की कारागारको नयाँ भवन बनेपछि कैदीलाई धेरै सजिलो भएको थियो । विशेष खातिरदारी पाएका कैदी बेलाबखत बाहिर निस्कन पनि पाउँथे ।

मंसिर ९ गते उपचारका लागि लैजाँदा अस्पतालबाट भागे भनिएका कैदी पुष्कर खड्कालाई कारागारबाट बाहिर निस्केर यौन तृष्णा मेट्ने सुविधा पनि मिल्ने गरेको तथ्य पत्ता लागेको छ ।

उनको चाहनाअनुसार न्यू रोडस्थित दीपसागर होटेलमा पुर्‌याएर युवतीसँग भेटाएको स्रोत बताउँछ । यसअघि पनि यसरी नै बाहिर आउने गरेका खड्काले आफूलाई नियन्त्रणमा लिएर आउने प्रहरीको विश्वास जितेका थिए ।

त्यही विश्वासका आधारमा यसपालि पनि बाहिर निस्किएका उनी ९ गते भने ती प्रहरीलाई पनि धोका दिँदै भाग्न सफल भए । उनी भागेलगत्तै कास्की कारागार र प्रहरीले उपचारका लागि गण्डकी शिक्षण अस्पताल लैजाँदा त्यहाँको शौचालयबाट भागेको बताएको थियो ।

कैदी बन्दीलाई उपचार आवश्यक परे बाहिर निकाल्ने अनुमति कारागार प्रशासनले दिनुपर्ने प्रावधान कारागार व्यवस्था ऐनले गरेको छ । तर बाहिर निकालिसकेपछिको सुरक्षाको जिम्मेवारी भने प्रहरीको हुन्छ । बाहिर निकालिएकालाई सुरक्षित फेरि कारागार पुर्‌याउने जिम्मेवारी पनि प्रहरीकै हो ।

जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी घनश्याम अर्यालले कारागारसँग सम्बन्धित विषय भएकाले उतैबाट अनुसन्धान भइरहेको जानकारी दिए । 'तर भागेका कैदीलाई हामी खोजीरहेका छौं', उनले भने, 'धेरैतिर स्रोत परिचालन भएका छन्, छिट्टै पक्राउ पर्ने छन् ।'

प्रहरी सहायक निरीक्षक बोजकुमारी क्षेत्री नेतृत्वमा हबल्दार श्याम परियार र कारागारका कार्यालय सहायक पवन अधिकारीले खड्कालाई बाहिर ल्याएका थिए । कैदी भगाएको आरोपमा उनीहरूलाई कास्की कारागारकै हिरासतमा राखेर अनुसन्धान गरिएको कारागार प्रमुख (जेलर) हरिप्रसाद गौतमले बताए । 'कैदी भागे÷भगाएको कसुरमा अनुसन्धान भइरहेको छ', उनले भने, 'अहिले आन्तरिक रूपमै अनुसन्धान भएको हो, पछि अदालतमा पेस गरेर मुद्दा चलाइनेछ ।'

जेलर गौतमले कारागारमा हुने स्वास्थ्य विभागको सिफारिसअनुसार कैदीको उपचारका लागि अस्पताल लैजान अनुमति दिने वा नदिने निर्णय हुँदै आएको जानकारी दिए । 'हामीले त्यो प्रक्रिया पुर्‌याएरै पठाएका हौं', उनले भने, 'बाहिर पुर्‌याएर फर्काउँदा के भयो हाम्रै हिरासतमा राखेर अनुसन्धान गरिरहेका छौं ।'

शरीर बन्धक तथा अपहरण कसुरमा खड्का कैद थिए । चार लाख रुपैयाँ जरिवाना र ६ वर्ष कैद सजायमा उनले ३ वर्ष कैद भोगिसकेका थिए । बीचमै भागेको हुँदा उनी पक्राउ परेको खण्डमा फेरि उनले भोग्नुपर्ने कैद बढ्ने छ ।

कैदी खड्का भागेलगत्तै कारागार प्रशासन र जिल्ला प्रहरी कार्यालय कास्कीका अधिकारीले उनी अस्पतालबाट भागेको बताएका थिए । कैदी खोज्न तुरुन्तै जिल्लाबाट परिचालित प्रहरी टोलीले खड्कालाई ल्याएको टोलीलाई नियन्त्रणमा लिएको थियो । पछि उनीहरूबाटै खड्कालाई होटेलमा ल्याइएको र त्यहाँबाट उनी भागेको पत्तो लागेको जिल्ला प्रहरी कार्यालय स्रोतले बतायो ।

काभ्रे गणेशस्थान गाविस-३ घर भएका खड्काले २०६९ मा पोखराका दुई युवतीलाई बन्धक बनाई लुटपाट गरेका थिए । मोडेल बनाइदिन्छु भन्दै युवतीलाई फकाउने र होटेलमा बोलाई लुट्ने गरेको पुष्टि भएकैले उनलाई अदालतले कैद फैसला गरेको थियो । त्यही कसुरमा उनी कास्की जेलमा थिए ।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.