'सेनाले नेपाललाई चिनाएको छ'
काठमाडौः राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न द्धन्द्धग्रस्त मुलुकमा शान्ति स्थापनार्थ नेपाली सेनाको भुमिका प्रशंसनीय भएको बताएकी छन । दक्षिणी सुडान र लिबियामा शान्ति स्थापनार्थ जान लागेका सैनिक अधिकारीहरुको पूर्व परिचालन तालिमको निरीक्षणका क्रममा राष्ट्रपति भण्डारीले नेपालको मान, सम्मान र इतिहासलाई विश्वमाझ पुर्याउन नेपाली सेनाले खेलेको भूमिका गौरव गर्न लायक भएको बताइन् ।
नेपाली सेनाले नेपाल र नेपालीहरुको प्रतिनिधित्व गर्दै विश्व शान्तिका लागि विभिन्न द्वन्दग्रस्त मुलुकहरुमा गरेको योगदानले नेपाललाई विश्वसामु चिनाएको राष्ट्रपति भण्डारीको भनाइ थियो । राष्ट्रपति भण्डारीले दक्षिण सुडान र लिवियामा तैनाथ हुन जाने टोलीहरुद्वारा प्रस्तुत प्रदर्शनी तथा अभ्यासको अवलोकन गरेकी थिइन ।
रक्षामन्त्री बालकृष्ण खाँडले नेपालको परराष्ट्र नीतिलाई व्यवहारिक रुपमा बहुराष्ट्रहरु सम्मिलित मिसनमा परिचित र स्थापित गर्न नेपाली शान्ति सैनिकहरुको महत्वपूर्ण योगदान रहेको वताए । नेपाली सेना शान्ति स्थापनार्थ पहिलो पटक लिविया जान लागेको हो ।
सैनिक प्रवक्ता तारा वहादुर कार्कीले सुडान र लिबियामा जान नेपाली फौज तयारी अवस्थामा रहेको र छिट्टै त्यस तर्फ जाने वताए । नेपाली सेनाको एक टोली वस्तु स्थिती अध्ययान गर्न अहिले लिबिया पुगेको छ । लिबियाका लागि २ सय ३४ जना फौज तयारी अवस्थामा रहेको छ । लिबिया सहित नेपाली सेनाको शान्ति सैनिक फौज अहिले १६ वटा मिसनमा तैनाथ रहेको छ ।