डा. केसीलाई लचिलो बन्न आग्रह
काठमाडौं: सरकारले डा. गोविन्द केसीले चाहे जसरी चिकित्शास्त्र अध्ययन संस्थानका डिनलाई राजिनामा गराउन र त्रिभुवन विश्व विद्यालयका उपकुलपतिलाई वर्खास्त गर्न नसक्ने भन्दै उनलाई आफ्नो मागमा लचिलो बन्न आग्रह गरेको छ ।
नियमसम्त तरिकाले नै नियुक्त गरिएका डिन र उपकुलपतिलाई पदबाट हटाउने कुनै कानुनी आधार नभएकाले उक्त मागमा लचिलो बन्दै अनशन तोड्न समेत डा. केसीलाई आग्रह गरेको हो । डा. केसीसँग सहमतिका लागि मंगलबार गरिएको प्रयास पनि बिफल भएको छ ।
वार्तामा स्वास्थ्य सचिव डा. शेनेन्द्रराज उप्रेती र शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले संस्थानका डिन डा. केपी सिंह र उनलाई नियुक्त गर्ने त्रिवि उपकुलपति तीर्थ खानियालाई हटाउने आफुहरुसँग कुनै पनि कानुनी आधार नभएको अडान दोहोर्याएका थिए । डा. केसीका समर्थकहरुले भने डा. सिंह र खानियालाई पदबाट नहटाएसम्म सरकारसँग सम्झौता नगर्ने अडान लिएका थिए । सहमितका लागि तीन दिन देखि प्रयास गरिए दुवै पक्ष आआफ्नै अडानमा रहन थालेपछि डा.केसीको अनशन अझै लम्बिने देखिन्छ ।
स्रोतका अनुसार सरकारी टोलीले कानुनी आधार बिना कसैलाई पनि राजिनामा गर भन्ने अधिकार आफुहरुसँग नभएको र त्यसो गरे पञ्चायतकाल जस्तो हुने भन्दै केसी पक्षलाई लचिलो हुन आग्रह गरेका हुन । उनीहरु डिन नियुक्त लगायत विषयमा मापदण्ड बनाउन गठन गरिएको रमेशकान्त अधिकारीको समितिले प्रतिवेदनलाई कुर्न समेत केसी पक्षलाई आग्रह गरेका थिए ।
डा. केसीले वरिष्ठताको आधारमा डिन नियुक्त हुनुपर्ने अडानमा कुनै वैज्ञानिक आधार समेत नभएको भन्दै सरकारी पक्षले आफ्नो अडान कायम राखिएको बुझिएको छ । डा. केपी सिंहलाई हटाई वरिष्ठताको आधारमा आईओएमका डिन नियुक्त हुनुपर्ने, गत वर्ष झै यसवर्ष पनि एमबीबीएस र बीडीएस कार्यक्रमको निर्धारित शुलक लागु गर्नुपर्ने, आइओएमलाई पूर्ण स्वायत्तता दिनुपर्ने, चिकित्सा शिक्षा ऐन आउनुपुर्व नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने, उक्त ऐन पारित हुँदा आफ्नो सुझावसँगै माथेमा प्रतिवेदन र विगतका सम्झौताहरु समेटिनुपर्ने लगायत १० बुँदे माग उनले राखेका छन् । उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
स्वास्थ्यमन्त्री द्धारा डा. केसीसँग भेट
अनशनरत डा. गोविन्द केसीलाई भेटेर उनको स्वास्थ्य अवस्थाबारे बुझ्न शिक्षण अस्पताल पुगेका स्वास्थ्य मन्त्री गगन थापाले उनका माग संवोधनका लागि आफुले पनि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले डा. केसीका स्वास्थ्य प्रति आफु चिन्तित रहेको र माग पुरा गराउन आफुले पनि पहल गर्ने बताएका हुन । यसअघि पनि डा. केसीलाई भेटन गएका स्वास्थ्य मन्त्री थापाले उनका माग संवोधनका लागि सरकारले ढिलाइ गर्न नहुने बताएका थिए । उनकै दवाव पछि सरकारले केसीसँग वार्ताका लागि समिति गठन गरेको थियो ।
आकस्मिक बाहेक सबै सेवा बहिस्कार
डा. केसीको अनशन १८ दिनमा प्रवेश गर्दा पनि सहमतिका लागि सरकार गंभिर नभएको भन्दै उनका समर्थक त्रिवी शिक्षण अस्पतालका आवासिय चिकित्सकले बुधबार देखि आकस्मिक बाहेक सबै सेवा बहिस्कार गर्ने निर्णय गरेका छन् । डा. केसीको जीवनरक्षाका लागि आफुहरुले सेवा बहिस्कार गर्न बाध्य भएको आवासिय चकित्सकको छाता संगठन नेशनल रेजिडेन्ट डाक्टर एसोसिएसनले जनाएको छ ।