बाटो नै छेकेर पार्किङ ! (भिडियोसहित)
काठमाडौं: पार्किङ क्षेत्र अभावको कारण देखाएर सवारी चालकले मनपरि ढंगले फुटपाथमा पार्किङ गर्दै आएका छन् । पैदलयात्री हिंड्ने बाटो नै छेकिने गरी सवारीसाधन पार्किङ गर्ने प्रवृत्ति बढ्दो छ ।
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारकै पूर्वी गेटको विपरित भागका फुटपाथ अहिले पार्किङ क्षेत्र बनेको छ । त्यहाँ जो कोहीले पनि निर्धक्कसँग सवारी पार्किङ गर्दै आएका छन् । मनकामना मोटरसाइकल वर्कसप र देउराली मोटरसाइकल वर्कसपले सडक पेटी नै कब्जा गरेर व्यवसाय सञ्चालन गर्दै आएको छ । यीसँगै अन्य होटल, चिया तथा फलफुल पसल, हार्डवेयर पसल र बैंक तथा वित्तिय संस्थाले समेत सडक पेटीलाई पार्किङ बनाउँदै आएका छन् ।
महानगरपालिकाले सडकमै पार्किङ अनुमति दिएपछि सडक पेटीसमेत भरिन थालेका छन् । खासगरि न्यूरोड, दरबारमार्ग, बानेश्वर, भोटाहिटी, कालिमाटी, टेकु लगायत स्थानका सडकमै पार्किङ अनुमति दिएपछि दुर्घटना जोखिमसँगै सडकका पेटी समेत पार्किङमै परिणत भएका छन् । यी स्थानमा कामकाजी मानिसहरुले विहानै पार्किङ गरे पनि साँझ मात्रै मोटरसाइकल लिएर गन्तव्यमा जाने गरेका छन् ।
बानेश्वरस्थित संविधानसभा भवन नजिकै श्रीराम पान भण्डारदेखि ग्रुप फोर सेक्योरिटी कार्यालयसम्मको फुटपाथमा मोटरसाइकल पार्किङसँगै साना पसलहरु सञ्चालन भएका छन् । फुटपाथमा मात्रै नभएर मुख्य सडकको दुवैपट्टी एक लेनमा मोटरसाइकल पार्किङ गरिरहेको भेटिन्छ । त्यसैगरी बागबजार, मैतिदेवी, कमलपोखरी, नक्साल लगायतका भित्री सडकका पेटीसमेत पार्किङले भरिएका हुन्छन् ।
भिडियो हेर्नुहोस्
महानगरपालिकाले नगर प्रहरी परिचालन गरेर फुटपाथ एवं जथाभावी पार्किङ गर्ने सवारी साधनलाई कारबाही गर्दै आएको छ । चालक नभेटिए सडकबाटै उठाउने र भेटिएमा चीट काटेर जरिवाना स्वरुप एक हजार बुझाउने बाहेक महानगरपालिकाले फुटपाथ पार्किङ नियन्त्रणमा कुनै ठोस अभियान चालेको छैन । महानगरले खाली सडकको एउटा भागमा नगर प्रहरी र ट्राफिक प्रहरी परिचालन गरेर सडकमै पार्किङ गर्ने व्यवस्था मिलायो ।
जुन अहिलेसम्म पनि कायमै छ, अव्यवस्थित रुपमा । महानगरले एक लेन सडकमा निशुल्क पार्किङ गर्न दिए पनि चालकले भने दुई लेन कब्जा गरिसकेका छन् । महानगरपालिकाका अनुसार गत साउनदेखि कात्तिकसम्म दुई हजार चार सय ३९ जना मोटरसाइकल चालक फुटपाथ एवं जथाभावी पार्किङ गरेको कसुरमा कारबाहीमा परेका छन् । मासिक साढे पाँच सयदेखि साढे ६ सयसम्म मोटरसाइकल कारबाहीमा पर्ने गरेको प्रहरीको तथ्यांक छ ।
महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले कारबाही मात्रै गरेर फुटपाथमा पार्किङ गर्ने समस्या समाधान नहुने स्वीकार गरे । उनले फुटपाथ र सकड पार्किङ समस्या समाधानका लागि महानगरपालिकाले तीनवटा ठूला पार्किङस्थल निमार्णका लागि अध्ययन गरेर संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पठाईसकेको जानकारी दिए । कार्कीले भने, 'टुंडिखेल, लैनचौर र न्यूरोडको खाली जग्गामा भूमिगत पार्किङ बनाउनका लागि अध्ययन गरेर फाईल मन्त्रालय पठाईसक्यौं, स्वीकृत भएर आएपछि काम थाल्छौं, फुटपाथमा पार्किङ गर्नहुंदैन भनेर जान्दाजान्दै पनि चालकले जवर्जस्ती रोकेपछि कारबाहीको अलावा अर्को विकल्प हामीसँग छैन ।'
उनका अनुसार न्युरोडको धर्मपथस्थित दुई रोपनी जग्गा खाली रहेकाले उक्त स्थानमा अटोमेटिक कार पार्किङ स्थल बनाउन संभाव्यता अध्ययन भईरहेको छ । पुरानो वसपार्कमा विजनेश कम्प्लेक्ससँगै पार्किङ बनाउने काम ठेकेदारका कारण ढिलाई भईरहेको जानकारी कार्कीले दिए ।
महानगरीय ट्राफिक महाशाखाले महानगरपालिकालाई पार्किङको समस्या समाधानका लागि तीन वटा विकल्प प्रस्तृत गरेको छ । जसनुसार मिटर पार्किङ, जरिवाना वृद्धि र मल्टीस्टोरेज पार्किङ निमार्ण गरेमा तत्काललाई अहिलेको समस्या केही हदसम्म समाधान हुने महाशाखाको अपेक्षा छ ।
महाशाखा प्रमुख डीआइजी प्रकाश अर्यालले अन्य मुलुकमा सडकमा पैदलयात्रीलाई विशेष प्राथमिकता दिए पनि हाम्रो मुलुकमा भने पैदलात्रीको अधिकार हनन् गर्ने होडबाजी चलेको बताए । 'फुटपाथ पैदलयात्रीका लागि बनेको हो तर फुटपाथ नै छेकिने गरी मोटरसाइकल पार्किङ गरेको देखिन्छ, मोटरले समेत आधाबाटो छेक्ने गरी पार्किङ गर्छन,' डीआइजी अर्यालले भने, 'फुटपाथमा पार्किङ गर्ने चालकलाई हाल गरिंदै आएको जरिवाना रकम बढाउनुपर्यो र पैदलयात्री हिंड्नुपर्ने सडकमा पार्क गर्ने हरुलाई कानुन रुपमा निरुत्साहन गर्ने सजायँ नभएकाले पनि यो समस्या विकराल बन्दै गएको छ ।'
उनले सवारीसाधन खरिदबापत राज्यलाई कर तिरेको भन्दैमा सडकमा जथाभावी पार्किङ गर्ने छुट कसैलाई नभएको बताए ।