संशोधन प्रस्ताव विरुद्ध प्रदर्शन, बिहानैदेखि प्युठान बन्द
प्यूठानः सरकारले संविधान संशोधनका लागि संसद् सचिवालयमा दर्ता गराएको प्रस्ताव विरुद्धमा आज विहानैदेखि प्यूठान वन्दको आव्हान गरिएको छ ।
यसअघि कायम भएको प्रदेश नम्वर पाँचबाट प्यूठानलाई अलग गराई प्रदेश नम्वर ४ मा मिसाइएको विरुद्धमा जिल्लावासी आन्दोलित भएका हुन् ।
बिहानैदेखि जिल्लामा यातायात, उद्योग, व्यवसाय, शैक्षिक संस्था पूर्ण रुपमा वन्द भएका छन् । वन्दकर्ताहरु सडकमै उत्रिएर नाराजुलुस र टायर बालेर आन्दोलन गरिरहेका छन् ।
जिल्लाका ग्रामीण क्षेत्रमासमेत सर्वसाधरण सडकमै उत्रिएर ठाउँ ठाउँमा विरोध सभा, र्याली गरेर प्यूठानलाई प्रदेश नम्वर पाँचमै राख्न माग गरेका छन् ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र विजुवार, बाग्दुला, जुम्रिबजार, सदरमुकाम खलंगा सहित मच्छि, भिंगृ, बाहाने, बांगेफेदी लगायत क्षेत्रमा सर्वसाधरण सडकमै उत्रिएर आन्दोलन गरिरहेका छन् । वन्दले जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ ।
सरकारले प्यूठानीको भावना विपरित आत्मघाती निर्णय गरेकाले सातदिनदेखि आन्दोलनरत जिल्लावासी आक्रोसित भएको प्यूठान–रोल्पा संघर्ष समितिका संयोजक एवं प्यूठानका पूर्व सांसद् मुक्ती शर्माले जानकारी बताए । आजै संघर्ष समितिको बैठकबसी शसक्तका आन्दोलनका कार्यक्रम तय गरिने समेत उनले जनाए ।
मंगलबार राति बसेको मन्त्रिपरिषद बैठकले संविधान संशोधन प्रस्ताव पारित गरी राति नै संसद सचिवालयमा दर्ता गराएको थियो ।