हकप्रद सेयर निष्कासन गर्दै एसबीआई बैंक
काठमाडौः नेपाल एसबीआई बैंक लिमिटेडले प्रत्येक १० कित्ता सेयरबराबर चार कित्ताका दरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकको सञ्चालक समितिको सोमबार बसेको बैठकले एक अर्ब ९९ करोड १९ लाख ४२ हजार तीन सय साठी रकमबराबर हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।
हाल निष्कासनका क्रममा रहेको सेयर र थप निष्कासनको बाँडफाँट तथा सञ्चालक समितिले नेपाल राष्ट्र बैंकको स्वीकृतिको अधीनमा आर्थिक वर्ष २०७२/७३ को बाँडफाँट योग्य कोषमध्येबाट वितरण हुने २८ प्रतिशत बोनस सेयर जारी गरेको थियो ।
सेयर जारी भएपछि कायम हुने चुक्ता पुँजीलाई आधार मानी समितिले उक्त हकप्रद सेयरको अनुपात निर्धारण गरेको हो । बैंकको २२ औं साधारणसभाले निर्धारण गरेको हकप्रद निष्कासनको अधिकतम सीमा दुई अर्ब ६० करोड तथा सोही साधारणसभाले समितिलाई प्रत्यायोजन गरेको समितिले उक्त हकप्रद निष्कासनको रकम तथा अनुपात तय गरेको बैंकले जनाएको छ ।
बैंकले नेपाल राष्ट्र बैंकले तोकेको समयसीमाभित्रै बैंकको चुक्ता पुँजी आठ अर्ब पुर्याउने गरी गत वर्ष बैंकले तर्जुमा गरेको पुँजी योजना कार्यान्वयनका क्रममा बैंकले हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।