हस्तकला मेलामा १० करोडको कारोबार
काठमाडौः नेपाल हस्तकला महासंघले आयोजना गरेको १४ औं हस्तकला व्यापार मेला तथा १२ औं हस्तकला प्रतियोगितामा १० करोडबराबरको आर्थिक कारोबार भएको छ । भृकुटीमण्डपमा मंसिर १० गते चलेको मेलाको अन्तिम दिन मंगलबार प्रत्यक्ष र परोक्ष गरी १० करोडबराबरको आर्थिक कारोबार भएको आयोजकले जनाएको छ । मेला करिब दुई लाख मानिसले अवलोकन गरेका छन् ।
समापन समारोहमा महासंघका अध्यक्ष धर्मराज शाक्यले हस्तकला क्षेत्रले आर्थिक विकासका क्रममा निर्यात व्यापारमा अग्रणी भूमिकाका साथै रोजगारी सिर्जनाद्वारा गरिबी निवारणका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।
उनले हस्तकला क्षेत्रले करिब ११/१२ लाख व्यक्तिलाई प्रत्यक्ष र परोक्ष रूपबाट रोजगारी प्रदान गरेको बताए । समुचित कानुनी व्यवस्था र सांगठनिक संयन्त्रका साथै उपयुक्त पूर्वाधार, विकास, निर्यात व्यापार लक्षित प्रभावकारी कार्यक्रम र सुविधाको व्यवस्था गर्नसकेमा हस्तकला व्यवसायलाई गाउँगाउँसम्म विस्तार गर्न सकिने उनको विश्वास छ ।
साथै मंगलबार आयोजित समापन समारोहमा मेलामा उत्कृष्ट हुनेलाई सम्मान गरियो । त्यसमा उत्कृष्ट प्याभिलियनतर्फ सवा नेपाल, उत्कृष्ट स्टलमा राजापुर बर्दियाको आरजेस बेतबाँस फर्निचर लघु उद्योग, उत्कृष्ट वस्तुअन्तर्गत परम्परागत विधातर्फ क्रिएटिभ उड कार्भिङका गोपाल गारु, टेक्सटाइल/होम डेकोरेसन विधातर्फ सेर नेपाल क्राफ्टका भीम शेरचन, फेसन एसेसरिज/फ्युजन विधातर्फ विश्वासिलो अल्लो धागो तथा कपडा उद्योग उत्कृष्ट भएका छन् ।
साथै बुनाइ विधातर्फ प्रथम द्वितीय र तृतीय क्रमशः उमा गोठे कपाली, पद्मिनी बज्राचार्य र ज्ञानी शाक्य भएको आयोजकले जनाएको छ । धातु पत्रकला विधातर्फ माणिकमान शाक्य, दीपेन्द्र शाक्य र लक्ष्मण महर्जन क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् ।