आधुनिक चामल कारखाना संकटमा
बर्दियाः देशकै अन्नको भण्डार एवम् धान उत्पादनको पकेट क्षेत्र मानिने बर्दियाको राजापुरमा अवस्थित नेपाल खाद्य संस्थानको आधुनिक चामल कारखानाले यस वर्ष धान खरिद गर्न नसक्दा संकटमा परेको छ ।
धानको मुल्य निर्धारण पश्चात खरिद शुरु गरेको संस्थानमा किसानले धान बिक्री नगरी व्यापारीलाई बिक्री गर्न थालेपछि कारखाना संकटमा परेको हो ।
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको मुल्य निर्धारण समितिले गरेको मुल्य भन्दा व्यापारीले धानको मुल्य बढी दिन थालेपछि संस्थानले धान खरिद गर्न नसक्दा कारखाना समेत ठप्प हुने स्थितीमा पुगेको हो ।
नेपाल खाद्य संस्थान आधुनिक चामल कारखाना राजापुरले मंसिर ६ गते देखि धानको खरिद शुरु गरेको छ । यस वर्ष संस्थानको ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेपनि हाल सम्म २ सय १२ क्विन्टल मात्र धान खरिद गरेको नेपाल खाद्य संस्थान आधुनिक चामल कारखाना राजापुरका मिल प्रवन्धक भोजराज पाण्डेले बताए ।
उनले भने तत्कानीन बजार मुल्यलाई आधार बनाएर हामीले मुल्य निर्धारण गरेपनि व्यापारीले ५० देखि १ सय रुपैया सम्म बढी दिएकाले किसान व्यापारीलाई धान बेच्ने गरेका हुन् । यस वर्ष समितिले मोटो धान प्रति क्विन्टल १ हजार ९ सय ५० रुपैया, मकवानपुर धान २ हजार २ सय र मद्यम धान २ हजार २ सय ५० रुपैया मुल्य कायम गरेको छ ।