'संविधान संशोधन प्रस्ताव असफल हुन्छ'
काठमाडौः नेकपा (एमाले) ले संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्ताव असफल बनाउन सदन र सडकमा प्रतिरोध गर्ने भएको छ ।
एमालेका सचिव प्रदीप ज्ञवालीले आफ्नो पार्टीसँग छलफलबिना जनमत र संविधानको भावनाविपरीत सङ्घीयता लगायतका विषयमा संशोधनको प्रस्ताव आएकाले त्यसलाई सफल हुन नदिने बताएका हुन् ।
पार्टीको प्रचार विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले प्रदेशसभा गठन र एमालेको सहमतिबिना त्यसमातहतका सिमाना हेरफेर गर्ने अधिकार अहिलेको संसद्लाई नभएको उनले तर्क गरे ।
‘‘संविधानको सर्वस्वीकार्यताका नाममा एमालेलाई एक्लो पार्न खोजेर कसरी निकास हुन्छ, यस्तो प्रयासले केवल राष्ट्रिय स्वाधिनतामा आँच आउने बाहेक अरु काम गर्ने छैन ।’ उनले भने ।
संसदीय दल बस्दै
यसैबीच, सरकारले संसद्मा मङ्गलबार दर्ता गराएको सविधान संशोधनपछिको रणनीति तय गर्न नयाँ बानेश्वरमा एमाले संसदीय दलको बैठक राखिएको सो दलका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए । रासस