भारत-पाकिस्तान तनावः सात भारतीय सैनिकसहित १० को मृत्यु
एजेन्सीः भारत प्रशासित जम्मु काश्मिरमा भारतीय सुरक्षाकर्मी र विद्रोहीबीच भएको भिडन्तमा सात भारतीय सैनिकको मृत्यु भएको छ भने तीन जना विद्रोही मारिएका छन् ।
जम्मु क्षेत्रको नगरोटाको सैनिक शिविरमा भिडन्त हुँदा भारतीय सेनाका दुई अधिकृतसहित पाँच जवानको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । त्यसैगरी तीन विद्रोहीको मृत्यु भएको भारतीय सेनाले दाबी गरेको छ ।
विद्रोही भारतीय सेनाको शिविरमा प्रवेश गरेर १२ सैनिक, दुई महिला तथा दुई बालकलाई बन्धक बनाएपछि भारतीय सेनाले जवाफी कारबाही गरेर उद्धार गरेको हो ।
विद्रोहीविरुद्धको कारबाही अभियानको क्रममा उक्त क्षेत्रलाई घेराबन्दी गरिएको भारतीय सेनाका प्रवक्ता कर्नेल मनिष मेहताले बताएका छन् । गएको सेप्टेम्बरपछि भारत प्रशासित जम्मु काश्मिरको उडीमा तनाव चुलिदै आएको छ । उडीमा भएको तनावपछि भारत र पाकिस्तानको सम्बन्ध आम रुपमै बिग्रदै गएको छ ।
मंगलबार नै साँबा सेक्टरको अन्तराष्ट्रिय सीमामा विद्रोही र भारीय सीमा सुरक्षा बलबीच गोलीहानाहान भएको छ । उक्त भिडन्तमा एक जवान घाइते भएको बताइएको छ ।