संविधान संशोधनको विरोधमा नयाँ बानेश्वरमा चक्काजाम
काठमाडौंः सरकारले मंगलबार व्यवस्थापिका संसदमा संविधान संशोधन विधेयक दर्ता गरेको विरोधमा प्रमुख प्रतिपक्षी दल एमाले आन्दोलनमा उत्रिएको छ।
बुधबार एमाले युवा संगठन अनेरास्ववियु र युवा संघले नयाँ बानेश्वरमा एक घन्टा टायर बालेर चक्काजाम गरेका छन् । सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक राष्ट्रघाती भएको भन्दै एमालेका युवा सडमा उत्रिएका हुन् ।
बुधबार बिहान अनेरास्ववियु र युवा संघको संयुक्त बैठकले संविधान संशोधन प्रस्ताव फिर्ता नभएसम्म विरोध कार्यक्रम गर्ने निर्णय गरेको युवा संघका प्रवक्ता प्रभातविक्रम कटुवालले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए ।
राजधानीको नयाँ बानेश्वरमा भएको प्रदर्शनका क्रममा एमाले युवाले एउटा सरकारी गाडी फुटाएका छन् । बा १ झ ८११३ नम्बरको सरकारी गाडी तोडफोड गरेका हुन् । प्रदर्शनका कारण नयाँ बानेश्वर क्षेत्रको सवारी अवातजातव अस्तव्यस्त भएको छ ।
एमाले युवा संगठनले केहीबेरमा बैठक बसेर थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ ।विरोध प्रदर्शनका क्रममा युवा संघका अध्यक्ष राजीव पहारी र अनेरास्ववियुकी अध्यक्ष नविना लामाले सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक जलाएका छन् ।