संशोधनको विपक्षमा माले
काठमाडौँः नेकपा (माले) ले सरकारले ल्याएको संविधान संशोधनको विरोध गरेको छ ।
सो पार्टीका महासचिव सिपी मैनालीले आज विज्ञप्ति जारी गरी संशोधन विधेयकमा प्रदेश नं ५ का पहाडी जिल्लालाई टुक्र्याएर त्यस प्रदेशलाई तराई मधेस मात्र रहेको दोस्रो क्षेत्रीय प्रदेश बनाउने, राष्ट्रियसभामा जनसङ्ख्यामा आधारित प्रतिनिधित्वका नाममा प्रदेशबीच भेदभाव कायम गर्ने, नेपालको एउटा अन्तर्राष्ट्रिय भाषा हिन्दी भाषालाई नेपालको ‘सरकारी कामकाजको भाषा’ बनाउने उद्देश्य लिइएको भन्दै विरोध गर्नुभएको हो ।
राष्ट्रघाती उद्देश्य रहेको उपरोक्त संविधान संशोधन विधेयक नेपाल र नेपाली जनता विरोधी छ ।
सरकारले त्यसलाई अविलम्ब फिर्ता लेओस् तथा ९० प्रतिशतभन्दा बढी सभासद्को सहभागितामा जारी गरिएको संविधान कार्यान्वयन गर्नेतिर प्राथमिकताका साथ लाग्न र संविधान सम्बन्धमा रहेका सबै दलका मत भिन्नताबारे सहमति खोज्न तथा त्यसप्रकार प्राप्त हुने सहमतिलाई संवैधानिक प्रक्रियाद्वारा संविधानमा संस्थागत गर्दै जान प्रतिनिधिमूलक एउटा उच्चस्तरीय राजनीतिक समितिको गठन गर्न माग गर्दछौँ”– विज्ञप्तिमा भनिएको छ । रासस