प्रदेश नम्बर ५ टुक्राउने प्रस्तावविरुद्ध जनता सडकमा
गुल्मीः सपाँच नम्बर टुक्राउने संशोधनको विरोध गर्दै गुल्मी, पाल्पा र अर्घाखाँचीका जनता सडकमा उत्रेका छन्।
गुल्मी, पाल्पा र अर्घाखाँचीलाई पाँच नम्बरबाट अलग गराउने खेल कुनै हालतमा सफल नहुने बताउँदै यसले विखण्डन निम्त्याउने चेतावनी दिएका छन्। यही विरोध तथा प्रदर्शनका कारण तीनैजिल्ला बुधबार दिनभर तनावग्रस्त रहे र जनस्तरबाटै बन्दको आव्हान गरिएको छ।
विरोध प्रदर्शनका कारण गुल्मी भित्रने र बाहिरिने सवारी साधन चल्न सकेनन् भने बजार पसल पूर्ण रुपमा बन्द भए । उद्योग वाणिज्य संघ गुल्मीको नेतृत्वमा सर्वसाधारण र युवा स्वतस्फूर्त सडकमा उत्रिएका थिए ।
सडकमा उत्रिएका युवा र सर्वसाधारणले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारविरुद्ध चर्को नाराबाजी गरेका छन् ।
जनभावना विपरित संविधान संशोधन प्रस्ताव दर्ता भएको भन्दै विरोधमा जस्तोसुकै मुल्य चुकाउन आफू तयार रहेको बताउदै वाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गा पाण्डले आन्दोलनको नेतृत्व गरेका छन् ।
अध्यक्ष पाण्डले संविधान संशोधन प्रस्ताव फिर्ता नभएसम्म अनिश्चितकालिन गुल्मी बन्द गर्ने घोषणा गरे । बजार पसल बन्द भए पनि विद्यालयको पढाइमा भने प्रदर्शनकारीले कुनै अवरोध नगर्ने बताएका छन् ।