राष्ट्रिय सम्पदाको चोरी
जुम्ला नेपाली भाषा, संस्कृति र निकै हदसम्म सभ्यताको समेत प्राचीन केन्द्र मानिन्छ । प्रशासनिक हिसाबले जुम्ला तथा कर्णाली अञ्चल राजधानीबाट, विकासबाट र शासकहरूको सोच तथा चासोबाट टाढा हुनु नै उसको दुर्भाग्य हो । तर त्यसले उसको इतिहास तथा समृद्ध संस्कृतिको थलोको हैसियत कमजोर पार्दैन ।
त्यहाँको संस्कृति तथा माटोको उर्वरा शक्तिलाई बेवास्ता अरू कसैले गर्दा जुम्ला गरिब हुँदैन, तर उसको महानतालाई चिन्न नसक्नु संरक्षण र संवद्र्धन गर्न नसक्नु राष्ट्रकै कमजोरी मात्रै हैन, असफलताकै कारण बन्न सक्छ । नेपालले सधैं गर्व गर्न सक्ने र गर्नुपर्ने महान् विभूति योगी नरहरिनाथ त्यही धर्तीका प्रतिनिधि हुन् ।
यो संयोग मात्र हैन, उनले जुन परम्पराको प्रतिनिधित्व गर्छन्, तिनै चन्दननाथको मन्दिरपरिसरबाट दुई दर्जनभन्दा बढी प्राचीन मूर्तिहरू गायब भएका छन् । अपराध र आपराधिक प्रवृत्ति अहिलेको समाजमा व्याप्त छन् ।
राजनीतिक तहमै दण्डहीनताको संस्कृति मौलाउँदा सबै प्रकारका अपराधमा बढोत्तरी हुने सम्भावना प्रबल हुन्छ । त्यस्तै संविधान निर्माण र त्योसँग जोडिएको राजनीतिले नेपाली संस्कृति र धर्मको पक्षको उपेक्षा गर्दा संस्कृतिमाथि अन्याय गर्ने शक्तिहरू शक्तिशाली बन्न सक्छन् । कहीँ जुम्लामा त्यही भएको त हैन ?
नेपालले आधुनिक राज्य, सुसंस्कृत र सभ्य अनि सुन्दर, शान्त तथा विशाल बन्ने प्रेरणा यहाँका इष्टदेव, गोरखनाथको प्रेरणाबाट पाएको ऐतिहासिक मिथकहरूलाई आज पनि धेरैले विश्वास गर्छन् । भगवान् शिवकै साक्षात् रूपमा पुजिँदै आएका गोरखनाथकै प्रेरणा र आशीर्वादबाट राजा पृथ्वीनारायण शाहले नेपाललाई झन्डै २५० वर्षअघि विशाल राज्यको सृष्टि गरेका हुन् ।
त्यही नाथ परम्पराको मान्यता, सिद्धान्त र जनकल्याणको निरन्तरता या शृंखलालाई चन्दननाथले अगाडि बढाए, जुम्लालाई आफ्नो केन्द्र बनाएर । सिद्ध योगीहरूले समाज र मूल्य परिर्वतनको लागि अगुवाइ गर्न कर्मवीरहरूलाई प्रेरित गर्ने गर्छन्, गुरु गोरखनाथले पृथ्वीनारायण शाहलाई अघि सारेजसरी ।
उनले जुम्लामा धान र स्याउ खेतीको प्रयोगबाट त्यहाँको समृद्धिको परिकल्पना गरे । भनिन्छ- भारतको कश्मीरमा पाइने धान र स्याउ उनले जुम्लामा ल्याई त्यहाँको क्षेत्र हराभरा बनाए । आज पनि जुम्ला कृषिको त्यो संस्कृति, आफ्नो सम्मान र समृद्धिको परिकल्पनाको लागि इष्टदेव चन्दननाथलाई सदा आदरका साथ स्मरण र सम्मान गर्दछ । त्यही संस्कृति, मान्यता र यशलाई मौलाउने अभियान झन्डै एक हजार वर्षपछि योगी नरहरिनाथले लिए ।
दुर्भाग्य जुम्लावासीका तिनै इष्टदेव चन्दननाथको मन्दिरपरिसरबाट चार दिनअघि उनीलगायत भैरव र अरू दुई दर्जनभन्दा बढी देवदेवीका मूर्ति चोरी भएका छन् । भौगोलिक रूपमा अनि पिछडिएको र सम्पर्क सडकहरूको स्वरूप पनि त्यति विकास नभएकाले सम्भवतः ती मूर्तिहरू टाढा पुगिसकेका छैनन् ।
मूर्ति चोरी हुनुमा पूजारी तथा मन्दिर व्यवस्थापनले अपनाएको सुरक्षा व्यवस्थापन अति नै कमजोर रहेको त प्रत्यक्ष सावित भएको छ । तर धर्मपरायण तथा चन्दननाथप्रति समर्पित कुनै जुम्लावासीले यति जघन्य अपराध गर्ला र भन्ने सोचका कारण पनि सम्भवतः लापरबाही भएको हुन सक्छ ।
पैसासँग धर्म, संस्कृति र इष्टदेवप्रतिको समर्पण तुलना हुन सक्तैन । तर यी तिनैलाई समाप्त गर्नु आपराधिक शैलीमा स्वदेशी-विदेशी समूह संगठित भएका हुन् भने त्यसको परिणाम भोलिका दिनमा अझ गम्भीर हुनेछ । अपराध अनुसन्धान ब्युरोले यसमा छानबिन अगाडि बढाएको देखिन्छ, तर यो नेपालसँगै खासगरी हरेक जुम्लीको मान्यतामाथि आघात भएकोले त्यो अनुसन्धानमा स्थानीयवासीले सहयोग पु¥याए भने तत्काल अपराधीसँगै उनीहरूको नियत पनि खुल्नेछ ।