ओलीले भनेः प्रचण्डजी तपाईंको अनुहार हेर्न पनि मन छैन
काठमाडौंः एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अनुहार पनि हेर्न मन नभएको बताएका छन् ।
बिहीबार व्यवस्थापिका संसदको बैठक स्थगित भएपछि नेताहरु बाहिरिदै थिए । बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष अोलीबीच जम्काभेट भयो । दुवै नेताले मित्रताका साथ हात मिलाए।
प्रचण्डले कुरा गरौँ भन्दै प्रस्ताव गरे । ओलीले भने रुखो जवाफ फर्काउँदै भने, ‘तपाईंसँग कुरा गर्न त परै जाओस् तपाईंको अनुहार हेर्न पनि मन छैन ।’
ओलीले यस्तो जवाफ दिएपछि पुन प्रचण्डले भने, ‘त्यसो भनेर कहाँ हुन्छ कुरा त गर्नुपर्छ ।’
प्रचण्ड र ओलीबीचको यो कुराकानी अधिकांश सांसद् सुनिरहेका थिए । त्यसपछि भने दुवै नेता आआफ्नो बाटो लागेको नाम नभन्ने सर्तमा एमालेका एक सांसद्ले अन्नपूर्णलाई जानकारी दिए ।
बिहीबारको संसद बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध गरेको छ । सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावको विरोध गर्दै एमालेले संसद बैठक अबरुद्ध गरेको हो।
बैठक सुरुमै विशेष समय लिएर एमालेका उपाध्यक्ष बामेदव गौतमले बोले लगत्तै एमालेका सांसदहरुले बैठक अबरुद्ध गरेका हुन्।
बैठकमा बोल्दै एमाले उपाध्यक्ष गौतमले सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेर संविधानको ठाडो उल्लंघन गरेको आरोप लगाए। गौतमले प्रदेशको सीमांकनलाई हेरफेर गर्दै सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गर्नु संविधानको उल्लंघन भएको आरोपसमेत लगाए।
गौतमले बोले लगत्तै एमालेका सांसदहरु उठेर विरोध जनाए। त्यसपछि सभामुख ओनसरी घर्तीले आशन ग्रहण गर्न पटक पटक आग्रह गरेपनि एमालेका सांसदहरुले आशन ग्रहण नगरेपछि बैठक शुक्रबार दिउँसो तीन बजेसम्मका लागि स्थगित भएको छ ।