काँग्रेसका मधेसी सांसदद्वारा संशोधन प्रस्तावको स्वागत
काठमाडाैं: नेपाली काँग्रेसका मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले सरकारले अघि सारेका संविधान संशोधनको प्रस्तावलाई स्वागतयोग्य कदम रहेको बताएका छन्।
काँग्रेसका सांसदहरु फरमुल्लाह मन्सुर, महेन्द्र यादव, रामकृष्ण यादव, प्यारेलाल राना, अमरेशकुमार सिंहलगायत २७ जनाले बिहीबार विज्ञप्ति जारी गरी संशोधन प्रस्ताव मधेसका माग सम्बोधन गरी निर्वाचनमा जानका लागि कोसेढुङ्गासावित हुने उल्लेख गरेका छन्।
उनीहरुले नेकपा (एमाले) जस्तो जिम्मेवार पार्टीले संशोधन विधेयक अघि बढाउने प्रक्रिया नै रोक्ने गरी संसद् अवरुद्ध गर्नु र सडक आन्दोलन चर्काउनुले समस्या समाधान गर्ने नभएर चर्काउने दिशामा उद्धत भएको आरोप लगाएका छन्।
संशोधन विधेयकका पक्षमा दृढताका साथ उभिन र दुईतिहाइ मतबाट अनुमोदन गराउन संसद्मा भएका सबै दल र सांसदहरुलाई उनीहरुले अपिलसमेत गरेका छन्। रासस