'फुटबल विकासका गतिविधि रोकिनु हुन्न'
अखिल नेपाल फुटबल संघ (एन्फा)का तत्कालीन अध्यक्ष गणेश थापा भ्रष्टाचारको आरोपमा विश्व फुटबल महासंघ (फिफा)बाट प्रतिबन्धित भएपछि बढेको नेपाली फुटबलको संक्रमण गत महिना सम्पन्न निर्वाचनले एक हदसम्म किनारा लगाएको छ। यसले नेपाली फुटबललाई विधि र प्रक्रियाको बाटोमा डोर्याएको छ।
संयोग नै मान्नुपर्छ, गणेश थापामाथिको प्रतिबन्धसँगै अन्तर्राष्ट्रिय फुटबलमा नेपाली फुटबलले पछिल्लो एक वर्षभित्र लगातार सफलता हात पारिरहेको छ। यसैकारण भन्न सकिन्छ, नेपाली फुटबलले ‘ट्र्याक’ समाएको छ। तर, अझै पनि समस्या प्रशस्तै छन्, उत्तिकै चुनौती पनि। राष्ट्रिय टोलीको व्यवस्थापन, घरेलु लिगको निरन्तरता, क्लब र खेलाडीको आर्थिक पक्ष सुदृढीकरण र अन्तर्राष्ट्रिय स्तरमा थप उचाइ लिनु एन्फासामु अहिले देखिएका चुनौती हुन्। नेपाली फुटबलको पछिल्लो उथलपुथल, वर्तमान र भविष्यका सम्भावना तथा चुनौतीबारे फुटबल विश्लेषक नवीन पाण्डेसँग अन्नपूर्णकर्मी दीपेन्द्र गुरुङले गरेको कुराकानी:
-भर्खरै एन्फाको अध्यक्ष र एक उपाध्यक्षको निर्वाचन सम्पन्न भएको छ । एन्फाको अध्यक्ष पदका लागि पहिलोपटक भएको प्रतिस्पर्धा कडा देखियो । निकै उतारचढावपछि फरक परिवेशमा भएको यो निर्वाचनको नतिजालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
एन्फामा अध्यक्ष पदका लागि चुनाव हुनु नै ठूलो उपलब्धि हो । लामो इतिहास बोकेको एन्फाको अध्यक्ष पदका लागि यसअघि यस्तो प्रतिस्पर्धा भएकै थिएन । निर्वाचनमा उत्रिएका दुवै पक्षले परिवर्तनकै नारा लगाए । तर, निर्वाचित नेतृत्वले हालसम्म पनि परिवर्तनको आभास दिन सकेको छैन । हामीले निर्वाचनपछि एन्फामा सुशासन, पारदर्शिता, ‘सिस्टम’को अपेक्षा गरेका थियौं । तर, एन्फामा नरेन्द्र श्रेष्ठ अध्यक्ष निर्वाचित हुनुभएपछि नेपालले सहभागिता जनाएको एएफसी सोलिडारिटी कपमा असम्बन्धित चारजना व्यक्तिलाई पठाइयो, जसको नेपाली फुटबलमा केही योगदान छैन । जब कि नेपाली टोलीमा डाक्टरसम्म लगिएन । टोलीमा फिजियो थियो, तर उसले डाक्टरको काम गर्न सक्दैन । यसले एन्फा अझै पनि पुरानै शैलीमा चलिरहेको संकेत गर्छ । त्यसैले मेरो विचारमा यो निर्वाचनबाट हामीले जुन परिवर्तन चाहेका थियौं, त्यो परिवर्तन देखिएन ।
-अहिलेको नेतृत्व आएको धेरै पनि भएको छैन, विस्तारै परिवर्तन आउला नि ?
अहिले विश्व फुटबल महासंघ (फिफा) पनि भ्रष्टाचारलाई हटाएर सुशासन र सिस्टम कायम गर्दै आफ्नो गिरेको साख फर्काउने अभियानमा लागेको छ । उनीहरूले आफ्ना सदस्य राष्ट्रका लागि पठाउने सबै कार्यक्रममा कडाइ गरेको छ । त्यसैले फिफाबाट आउने ‘फन्ड’मा एन्फाले अब चाहेर पनि कुनै चलखेल गर्न सक्दैन । यसअघि विभिन्न एकेडेमीमा एउटै खेलाडीलाई देखाएर पनि फिफाको बजेट हिनामिना गर्ने गरेको पाइन्थ्यो । अहिले फिफाले आफूले लगानी गरेको परियोजनालाई सूक्ष्म तरिकाले हेर्ने गरेको छ । त्यसैले अब त्यस्ता कार्यक्रममा हिनामिना गर्नसक्ने ठाउँ छैन ।
हालै पनि फिफाले नेपाललाई टेक्निकल डाइरेक्टरमार्फत मात्रै रकम दिएको छ । एन्फाले उपेन्द्रमान सिंहलाई टेक्निकल डाइरेक्टर नियुक्त गरेको देखाएपछि मात्र फिफाले रकम निकासा गरेको हो । यद्यपि सरकारबाट आउने रकममा भने हिनामिना हुने सम्भावना अहिले पनि कायमै छ । अबको नेतृत्व यी कुरामा पनि पारदर्शी हुनु आवश्यक छ । निष्पक्ष काम गर्न सक्नुपर्छ । फुटबल विकासका लागि काम गर्न सक्नुपर्छ ।
अर्काे कुरा, यो निर्वाचनले एउटा राम्रो काम पनि गरेको छ, एन्फामा एउटा गतिलो प्रतिपक्ष जन्माएको छ । बलियो प्रतिपक्षले एन्फामा हिजोको जस्तो मनपरी गर्न दिनेछैन । निर्वाचनले एन्फामा ‘चेक एन्ड ब्यालेन्स’को स्थिति सिर्जना गरिदिएको छ । पहिलेको जस्तो बोल्नसम्म डराउनुपर्ने अवस्था अहिले छैन । पछिल्लो समय खेलाडीमा पनि हामीले बोल्यो भने फुटबल विकासका लागि केही हुन्छ कि भन्ने मानसिकता विकास भएको छ ।
-निर्वाचनअघि कर्मा छिरिङ पक्षधरले पनि त केही कुरामा ‘कम्प्रोमाइज्ड’ गरेको देखियो नि ?
हो, कर्माछिरिङ शेर्पा र उहाँको टोलीले केही कम्प्रोमाइज्ड गरेकै हो । जस्तो कि निर्वाचनको अघिल्लो दिनमात्रै संस्थापन पक्षले टासी घलेलाई मानार्थ अध्यक्ष बनाउने प्रस्ताव ल्यायो, जुन नेपाली फुटबलका लागि घातक निर्णय थियो । एसियाली फुटबल महासंघ (एएफसी)ले दिएको रोडम्यापअनुसार विधान बनाउने तथा निर्वाचन प्रक्रियालाई अघि बढाउने कामलाई छाडेर घलेलाई अध्यक्ष बनाइनुमा संस्थापन पक्षको स्वार्थ देखिन्छ । यसबाट आफूहरूलाई बेफाइदा पुग्छ भन्ने थाहा पाउँदापाउँदै पनि कर्माजीहरूले सम्झौता गर्नुभयो । सायद उहाँहरूको उद्देश्य जसरी भए पनि निर्वाचन होस् भन्ने थियो ।
-तपाईंले अहिले पनि एन्फा प्रतिबन्धमा परेका पूर्वअध्यक्ष गणेश थापाकै निर्देशन चल्छ भन्ने आरोप लगाउँदै आउनुभएको छ नि ?
एउटा महत्वपूर्ण कुरा के हो भने गणेश थापालाई फिफा र एएफसीले कारबाही गरेको अवस्थामा समेत एन्फाले उहाँको बारेमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन । बरु एन्फाकै जिम्मेवार पदाधिकारीले पत्रपत्रिकामा फिफा र एएफसीले थापामाथि गरेको कारबाही नितान्त व्यक्तिगत हो भन्ने खालको अभिव्यक्ति दिएको पढेको छु ।
एन्फाको अध्यक्षमाथिको कारबाही कसरी व्यक्तिगत हुनसक्छ ? अर्काे कुरा गणेश थापाले अझै पनि एन्फाकै एक करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने गाडी प्रयोग गरिरहनुभएको छ । उहाँ आफैंले पनि विभिन्न अन्तर्वार्तामा त्यो स्वीकार गर्नुभएको छ । एन्फामा थापाको निर्देशन चल्दैन भने त्यति महँगो गाडी उहाँले कसरी प्रयोग गरिरहनुभएको छ ? जब कि उहाँ फुटबलबाटै प्रतिबन्ध हुनुभएको लामो समय भइसकेको छ ।
त्यसमाथि एन्फाभित्र अझै पनि थापाकै जेठा छोरा गौरव र सालो मणि कुँवर छन् । गौरव एएफसीमै राम्रो पोजिसनमा कार्यरत थिए । बिन हमामले गौरवकै खातामार्फत गणेश थापालाई रकम पठाएको मुद्दाले उनले पनि एएफसी छाड्नु परेको थियो। एएफसीको सुविधासम्पन्न जागिर त्यागेका गौरवलाई नरेन्द्र श्रेष्ठले फेरि किन अन्तर्राष्ट्रिय जिम्मेवारी सुम्पिए ?
-त्यसो भए एन्फा पुरानै शैलीमा चलिरहेको छ त ?
परिवर्तन एकैपटक आउने कुरा हैन, त्यसका लागि समय लाग्छ । अहिले केही संकेत भने देखिएको छ । जस्तो अहिले महिला टोलीका लागि कुमार थापालाई मुख्य प्रशिक्षक बनाइएको छ । यो किन पनि सम्भव भएको हो भने हालै नेपालमै भएका प्रशिक्षकहरूको ‘ए’ लाइसेन्स पास गर्ने आठजनामध्ये उहाँ पहिलो स्थानमा हुनुहुथ्यो । त्यसमाथि उहाँलाई एएफसी आफैंले बोलाएर प्रशिक्षणमा सहभागी गराएको थियो । यो सकारात्मक परिवर्तनको संकेत पनि हो ।
-नेपाली फुटबल टोलीले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेको छ । अघिल्लो महिनामात्रै लगातार तेस्रो उपाधिका रूपमा सोलिडारिटी कप जित्यो । यो प्रदर्शन र उपलब्धिलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
पानी नआउने धारामा फोहोर नै भए पनि १० मिनेट पानी आइदियो भने हामी खुसी हुन्छौं । जलस्रोतको धनी देशमा बिजुली र पानीको त अभावै नहुनुपर्ने हो । आजभोलि लोडसेडिङ कम भएको छ । धारामा पानी आउनु र लोडसेडिङ नहुनु त स्वाभाविक प्रक्रिया हुन् नि । हुनैपर्ने कुरा भएका हुन् । तर, हामी धारामा पानी आउँदा र लोडसेडिङ नहुँदा खुसी हुन्छौं ।
हो, नेपाली फुटबल टोलीले बंगबन्धु गोल्ड कप, सोलिडारिटी कप जित्दा खुसी हुनु भनेको पनि त्यस्तै हो । केही नभएको अवस्थामा यत्तिको सफलता प्राप्त हुँदा खुसी हुनु स्वाभाविक हो । विचरा खेलाडीहरूले आफ्नो क्षमताले जे सम्भव थियो त्यो लिएर आएका छन् ।
तर बंगबन्धु गोल्ड कप क्लबस्तरीय प्रतियोगिता हो । त्यहाँ राष्ट्रिय टोली गएर उपाधि जित्नु ठूलो कुरा होइन । साग पनि यू–२३ टोलीको प्रतियोगिता हो, सिनियर टोलीले जितेको हैन । सोलिडारिटी कप भनेको एसिया कपमा छनोट हुन नसकेका र विश्व कपको छनोट चरणमा अगाडि बढ्न नसकेका राष्ट्रहरूले खेल्ने प्रतियोगिता हो । यसलाई पनि ‘लोकल’ स्तरकै प्रतियोगिता भन्दा हुन्छ । त्यसैले नेपाली टोली कमजोरहरूमध्ये केही बलियो भइदिएको मात्रै हो । यसलाई नेपाली फुटबल विकासको उपलब्धि मान्न सकिन्न । त्यसो भन्दैमा फेरि हामीले अहिले नै निकै ठूलो अपेक्षा गर्ने कुरा पनि आउँदैन । हाम्रोजस्तो अवस्थाबाट गएर उपाधि जित्नु राम्रो कुरा हो तर उपलब्धि नै भने होइन ।
त्यसो भए नेपाली फुटबलको अवस्था अहिले कहाँ छ, अनि हुनुपर्ने कहाँ थियो ?
नेपाली फुटबलको अवस्था निकै दयनीय छ । एउटा उदाहरण दिन चाहन्छु, नेपालमा हालै २०औं वर्षपछि प्रशिक्षकहरूको ‘ए’ लाइसेन्सको प्रशिक्षण भयो । त्यो प्रशिक्षणमा नेपालमै ‘सी’ लाइसेन्स गरेका एक भुटानी प्रशिक्षकले आएर नेपाली प्रशिक्षकहरूलाई पढाएर गए । हामी यो अवस्थामा छौं । पहिलेपहिले प्रतियोगिताहरूमा भुटानले हामीसँग सधैं ६/७ गोल खान्थ्यो । अहिले फिफा वरीयतामा समेत नेपालभन्दा भुटान निकै माथि छ । यति बेला नेपाली फुटबल दक्षिण एसियामै सबैभन्दा माथि हुनुपर्ने हो ।
हामीसँग राम्रा खेलाडी छन् । नेपालीको त नशानशामा फुटबल बग्छ । कुनै सुविधा नपाउँदा त खेलाडीले नेपाललाई एक सय ९० भन्दा तलकै वरीयतामा टिकाइराखेका छन् । सबै क्षेत्रमा राम्रो हुने हो भने नेपाली टोली पक्कै पनि दक्षिण एसियामा राज गर्नसक्ने टोली हो । तर, दुःखका साथ भन्नुपर्छ— एन्फासँग आफ्नो ‘न्युट्रिसियनिस्ट’सम्म छैन । प्रशिक्षकहरूकै स्थायित्व छैन । एउटा प्रतियोगितामा एउटा प्रशिक्षक जान्छन्, अर्काेमा अर्कै प्रशिक्षक हुन्छन् । यस्तो प्रवृत्तिले खेलाडीले प्रशिक्षकले सिकाएको कुरा नै सिक्न सक्दैनन् । अरूलाई हड्डी बाँडेर आफू सिंगै खसी खाने योजनाले प्रतियोगिता नै पिच्छे प्रशिक्षकलाई भागबन्डा गरेर पठाइन्छ । त्यसैले फेरि पनि भन्छु, नेपाली फुटबलको अवस्था वास्तवमै दयनीय छ ।
नेपाली फुटबल अगाडि बढ्न नसक्नुको कारण के होला ?
सोलिडारिटी कपमा मिडफिल्डर विशाल राई घाइते थिए, तैपनि उनलाई मलेसिया लगियो । अनि एउटा पनि खेल नखेलाई फर्काइयो । उनकै पोजिसनमा खेल्नसक्ने अन्य खेलाडीलाई पनि अवसर दिन सकिन्थ्यो तर त्यसो गरिएन । अवश्यक परेको बेलामा ती खेलाडीले खेल्थे र अनुभव बटुल्ने अवसर पनि पाउँथे । अर्काे कुरा, हाम्रा ट्रेनिङहरू वैज्ञानिक छैनन् । कतिसम्म भने हामी कुन देशमा खेल्न जाँदैछौं ? त्यहाँको वातावरण कस्तो छ ? खानपिन कस्तो छ ? भनेर कहिल्यै विचार गर्दैनौं । गर्मी हुने देशमा खेल्न जाँदैछौं भने हामी दिउँसो अभ्यास गर्दै खेलाडीलाई तयार पार्न सक्छौं । चिसो हुने देशमा जाने हो भने बिहान अभ्यास गर्न सक्छौं ।
तर हाम्रोमा खेलाडीको यात्रादेखि लिएर सबै कुरामा ‘कम्प्रोमाइज्ड’ गरिन्छ । विदेशमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न एन्फामा बजेट आउँछ । तैपनि पैसा बचाउनतिर लागेर खेलाडीको यात्रालाई नै असहज बनाउने गरिन्छ । प्रतियोगिता स्थलसम्म पुग्दा हाम्रा खेलाडी समस्यैसमस्याबाट पीडित भइरहेका हुन्छन्, पृवत्ति नै यस्तो भएपछि कसरी राम्रो नतिजाको अपेक्षा गर्ने ?
नियमित रूपमा लिग नभएको लामै समय भइसक्यो, यसले पनि त असर गरेको होला नि ?
पक्कै गरेको छ । एउटा लाग्ने हतियारलाई पनि त्यत्तिकै राख्ने हो भने खिया लाग्छ । हाम्रा खेलाडी पनि राम्रा छन् तर उनीहरू गतिलो अभ्यास गर्ने र आफ्नो क्षमता तिखार्ने अवसर नै पाउँदैनन् । यत सानो कुरा पनि बुझ्न सक्दैनन् भने एन्फामा कस्तो नेतृत्व छ ? लिग किन हुँदैन ? मेरो विचारमा एन्फालाई राम्रो संस्था बनाउने हो भने दुई भागमा विभाजन गर्नुपर्छ । एउटा पोलिटिक्स विभाग, जहाँ फुटबल विकासका लागि राजनीति हुनुपर्छ । अर्काे स्पोर्टिङ विभाग, जहाँ क्यालेन्डर बनाएर प्रतियोगिता कहिले सञ्चालन गर्नेदेखि सबै काम हुनुपर्छ । त्यसपछि मात्र टेक्निकल डाइरेक्टरसँग नतिजा माग्ने हो ।
तर कसलाई विदेश पठाउने ? कसलाई केन्द्रमा ल्याउने वा कसको पत्तासाफ बनाउने भन्ने राजनीतिमै नेतृत्व अल्झिएपछि कसरी प्रगति हुन्छ ? निर्वाचनपछि कार्यसमितिको पहिलो बैठक बस्दैछ । पदाधिकारीलाई पठाएको एजेन्डामा फुटबल लिगको एजेन्डा त धेरै तल छ । बैठकको प्राथमिकतामा पदाधिकारी नियुक्ति लगायतका विषयलाई बढी महत्व दिइएको छ । त्यसैले यो समिति पनि फुटबल विकासभन्दा पनि अर्काे वर्षको निर्वाचन कसरी जित्ने भन्ने राजनीतिमा लागेको छ ।
समग्रमा अब एन्फाको सुशासन र फुटबल विकासका लागि के गर्नु आवश्यक छ ?
हामीसँग पानी चुहिएको घरलाई पूरै नयाँ बनाउने वा टालटुल गरी अर्काे एक वर्षसम्म थेग्नसक्ने बनाउने भनी दुईवटा उपाय थिए । पहिलो उपाय हामीले गुमाइसकेका छौं । अब यसलाई टालटुल गरेर अर्काे एक वर्ष कसरी चलाउने भन्ने कुरा हो । यसबीचमा फुटबल विकासका गतिविधि रोकिनु हुन्न । त्यसका लागि सबैलाई समेटेर अघि बढ्नु आवश्यक देखेको छु ।