संविधान संशोधन प्रस्ताव तत्काल फिर्ता गर्न एमालेको चेतावनी
काठमाडौँः एमालेले सरकारले संसद्–सचिवालयमा मङ्गलबार दर्ता गरेको संविधान संशोधन विधेयक फिर्ता लिन आग्रह गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयमा उपाध्यक्ष वामदेव गौतमको प्रमुख आतिथ्यता र महासचिव ईश्वर पोखरेलको आतिथ्यतामा बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले संविधान संशोधन प्रस्ताव सम्बन्धी विधेयक फिर्ता लिन आग्रह गरेको हो ।
बैठकले संविधानकोे उल्लङ्घन, अदालतको अपहेलना र जनतालाई विभाजन गर्ने गरी विधेयक प्रस्तुत भएको आरोप लगाउँदै तत्काल विधेयक फिर्ता लिन माग गरेको हो ।
केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख योगेश भट्टराईका अनुसार बैठकले लोकतान्त्रिक परिपाटीमा शान्तिपूर्ण आन्दोलनको नैतिक बल नै निर्णायक हुने बताए ।
पार्टी प्रवक्ता समेत रहेका भट्टराईले विधेयकविरुद्ध आन्दोलनलाई शान्तिपूर्ण रुपमा अघि बढाउन, निजी तथा सार्वजनिक सम्पत्तिको रक्षा गर्न तथा जातीय, साम्प्रदायिक एवम् भौगोलिक एकता र सद्भावलाई उच्च प्राथमिकता दिन सम्पूर्ण आन्दोलनकारीसँग आग्रह गरेका छन् ।
बैठकमा पार्टी स्थायी समिति सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्वाङ र संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले संसदीय दलका गतिविधि, विभिन्न दलसँगको वार्तालगायत विषयमा बैठकलाई जानकारी गराएका छन् । रासस