डा. केसीको अनशन
डा. गोविन्द केसीको यसपटकको अनशन उन्नाईसौं दिनमा प्रवेश गरेको छ र उनको स्वास्थ्यस्थिति अत्यन्तै नाजुक बन्दै गएको छ । ‘आमरण’ अनशनमा बस्ने व्यक्तिको अनशनमार्फत सत्य आग्रह गरेको हुन्छ अर्को पक्षसँग सत्यलाई देख्न र स्विकार्न आग्रह गरिरहेको हुन्छ ।
ऊ आफ्नो स्वास्थ्यस्थितिभन्दा आफूले उठाएको मागमा डटेर लागेको हुन्छ, स्वास्थ्य शिथिल बन्दै जाँदा पनि । सत्यग्रहीको रूपमा डा. केसीबाट त्यही अपेक्षा गरिएको छ हरेकपटक ।
डा. केसी विगत पाँच वर्षमा दसपटक अनशन बसेका छन्, तर अक्सर सरकारसँग भएका वार्ता तथा प्राप्त आश्वासनका आधारमा उनले अनशन तोड्दै आएका छन् । यो आफैँमा एउटा दुःखद प्रवृत्ति हो । सत्यग्रहीसँग भएका समझदारी तथा यसमार्फत सरकारबाट भएका प्रतिबद्धताप्रति सरकारको सत्यनिष्ठा नहुनु आफैँमा आपत्तिजनक र उत्तरदायित्वविहीन चरित्र हो सरकारको ।
डा. केसीले मेडिकल र शिक्षा क्षेत्रलाई भ्रष्टाचारमुक्त राख्न गरेको पटके अनशनलाई उनलाई चिन्ने र नचिन्ने धेरैले स्वागत पनि गरेका छन् । त्यो योभन्दा महत्वपूर्ण कुरा हो, उनका मागलाई स्विकार गरी त्यसलाई सम्बोधन गर्ने सरकार प्रतिबद्धता पूरा नहुने, नगरिनु ।
तर डा. केसीको अनशनले सत्याग्रहको मूल्य, मान्यता र नैतिक हैसियत विश्वास राख्नेहरूका लागि पनि केही असहज र द्विविधायुक्त स्थिति पैदा गरेको छ । पुराना मागसँगै यसपटक चिकित्साशास्त्र अध्ययन संस्थानका डिनको नियुक्तिमा उनले अडान लिएका छन् ।
उनीसहितले स्वीकृति दिएको सूचीबाट डा. केसी सिंहलाई उक्त पदमा नियुक्त गरिएपछि त्यसको विरोधसँग डा. केसीले डा. जगदीश अग्रवालको नियुक्तिको लागि पैरवी गरेका छन् । भ्रष्टाचारविरोधी सत्याग्रहीले कुनै व्यक्तिको विरोध र पक्ष लिँदा त्यसले अनेक विवाद ल्याउँछ नै ।
पारदर्शिता र नियमसम्मत निर्णयहरू नियुक्तिदेखि अन्य महत्वपूर्ण विषयमा लिइनु संस्था र समाजको पक्षमा हुन्छ तर त्यसविरुद्धको अभियानका प्रतीक बनेका व्यक्ति स्वयं अमूक व्यक्तिको पक्ष या विपक्षीका रूपमा चिनिए भने या त्यस्तो अर्थ लाग्यो भने त्यसले सत्याग्रह तथा अनशनकै औचित्य र नियतमाथि प्रश्न उठाउनेछ ।
खासगरी मुलुकको सबभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक दलका सभापति सुशील कोइराला प्रधानमन्त्री बनेकै बेला सत्याग्रही नन्दप्रसाद अधिकारीको प्राण गयो ।
सदनदेखि नागरिक समाज र मानव अधिकारवादी समूहका कुनै नेताले सरकार या राजनीतिक तहमा जिम्मेवारी सुनिश्चित गर्ने प्रयास गरेन । सत्यग्रहीको जीवन र संघर्षलाई अवमूल्यन गरियो सबैतर्फबाट । दुर्भाग्य डा. केसीको अनशनसमक्ष त्यो अमानवीय पूर्वदृष्टान्त र राज्य तथा नागरिक समाज सबैको उदासीनता या सत्तासँगको मिलोमतो छ ।
डा. केसीको साहस, चरित्र, प्रतिबद्धता तथा भ्रष्टाचारविरुद्ध होमिने प्रण स्तुत्य छ, तर भ्रष्टाचारको जरो महाराजगन्ज र कीर्तिपुरमा सीमित छ भन्ने निष्कर्ष निकाल्दा त्यसले सतही तथा आंशिक सम्बोधन मात्र गर्नेछ समस्याको ।
समाधानका लागि सिंहदरबार र बानेश्वर (संसद्) लाई ठाडै मुछेर जवाफदेही नबनाएसम्म अनि नेपालका राजनीतिक एजेन्डालाई मात्रै हैन राज्यको अखण्डताविरुद्ध समेत बाहिरबाट आएका पैसाहरूको हिसाबकिताब अनि त्यसबाट नाजायज फाइदा लिनेहरूलाई छानबिनको दायरामा ल्याउने मागलाई भ्रष्टाचारविरोधी अभियानमा सामेल नगरेसम्म डा. केसीको अनशन सतही मात्र बन्नेछ ।
तर पनि उनले आफ्नो बुझाइ र पूर्ण प्रतिबद्धताका साथ गरेको सत्यग्रहले भ्रष्टाचारविरुद्ध व्यापक जनचेतना फैलाएको छ । उनी त्यसका प्रेरणा र अभियन्ता दुवै हुन् । त्यस अर्थमा उनको जीवनले अत्यन्त ठूलो अर्थ राख्छ । त्यसलाई स्विकारी अनशन तोड्नु आफ्नो जीवनरक्षा गर्नु र भ्रष्टाचारविरुद्धको महाअभियानमा जान शक्ति सञ्चय गर्नु उनको प्राथमिकता बन्नुपर्दछ ।