मुस्कान भरिएका राजारानी

मुस्कान भरिएका राजारानी

काठमाडौं: नारायणहिटीमा एउटा तस्बिर छ, स्वर्गीय राजा वीरेन्द्र शाह र रानी ऐश्वर्याको । जुन तस्बिर मानव कपालबाट निर्माण गरिएको हो । तस्बिर 'कास्की बैठक कक्ष' बाट देब्रेतिर रहेको 'रुकुम बैठक कक्ष'को भित्तामा झुन्ड्याइएको छ ।

राजसंस्था रहुँजेल विदेशी राष्ट्र प्रमुखहरू भेट गर्न आउँदा प्रतीक्षालयको रूपमा प्रयोग गरिएको यो कक्षमा झुन्ड्याइएको राजारानीको तस्बिर हेर्दा सामान्य लाग्छ । तर यसले विशाल मूल्य बोकेको दरबारका कर्मचारी रुक्मिणी गुरुङले बताइन् ।

तस्बिर केवल 'मानव कपाल' प्रयोग गरेर बनाइएको छ । झट्ट हेर्दा फोटोजस्तो देखिन्छ । कपालबाट बनेको वीरेन्द्र र ऐश्वर्याको श्यामश्वेत तस्बिरमा मलिनो मुस्कान देखिन्छ । दौरासुरुवाल र कोट लगाएका वीरेन्द्र हँसिला र भलाद्मी देखिएका छन् । ऐश्वर्याको सुन्दरता सारीमा निकै खुलेको छ ।

मानव कपाल प्रयोग गरेर राजारानीको तस्बिर बनाउने चिनियाँ आर्टिस्ट हुन् । जुन तस्बिर चीनले राजारानीलाई उपहारस्वरूप दिएको थियो । तस्बिरलाई २० हजार युआनसम्म पर्ने नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअगाडि संग्रहालयका कर्मचारीलाइ बताएको गुरुङले बताइन् ।

दरबारको रुकुम कक्षमा कपालबाट बनेका वीरेन्द्र-ऐश्वर्याबाहेक एक सेट सेतो रङको सोफा, पुरानो कालो रङको टेलिभिजन, केही पुस्तक राखिएका र्‌याक, गौतम बुद्धलगायतका साना मूर्ति पनि सजाएर राखिएका छन् । नारायणहिटी संग्रहालयमा थुप्रै अर्थ बोकेका यस्ता सामग्री छन्, जसले इतिहास र संस्कृतिलाई उजागर गर्छन् ।

गुरुङका अनुसार साहित्यकार बालकृष्ण समको सुझावअनुसार विभिन्न खालका जनावर र पक्षीका प्रतीक राखिएको थियो । नारायणहिटी छिरेपछि सिंहको आकृति देखिन्छ । यसलाई शक्तिको प्रतीक मानिन्छ । त्यस्तै विभिन्न स्थानमा माछा, घोडा, मयूर, हात्ती राखिएका छन् । यी सबैका आफ्नै खालको अर्थ छ ।

पोर्टियस उड भन्ने विदेशी कलाकारले दरबारमा विभिन्न खालका पेन्ट्स बनाएका थिए । नारायणहिटीको एउटा प्रमुख आकर्षणको बिन्दु रहेको 'गोरखा बैठक कक्ष'मा राजाको सिंहासन छ । यहाँ विशेष खालका कार्यक्रम हुन्थे । यस कक्षमा अष्टमात्रिका, अष्टभैरवलगायतका विभिन्न देवीका चित्र कँदिएका छन् । त्यतिमात्र हैन, दोस्रो विश्वयुद्ध ताकाका केही पेन्टिङ छन् ।

पहिलोपटक नारायणहिटी

संखुवासभाका विकास गुरुङ नारायणहिटी पहिलोपटक घुम्न आएको बताउँदै थिए । त्यसै पनि आकर्षणको बिन्दु मानिएको नारायणहिटीमा हेर्नलायक भने सिंहासन लागेको उनले बताए । गुरुङजस्तै तराई मूलका एक हूल महिला गोरखा बैठक कक्षको सिंहासनमा ढोगिरहेका थिए, कोही नजिकै गएर शिर झुकाइरहेका थिए भने कसैले खुद्रा पैसा टाढैबाट चढाइरहेका थिए ।

सिंहासनको वरिपरि आगन्तुकले चढाएका ५, १०, २० रुपैयाँका खुद्रा पैसा छरपस्ट देखिन्छन् । जनकपुरबाट काठमाडौं आएकी ४५ वर्षीया अञ्जना शाहले पनि पैसा चढाएर ढोग्न थालिन् । उनले सिंहासनमा ढोग्नुको कारण प्रस्ट पारिन्, 'पहिला राजालाई विष्णु भगवान्को अवतार मानिन्थ्यो । त्यति बेला दरबारभित्र पस्न अनुमति थिएन । अहिले सिंहासनमात्रै भए पनि हेर्न पाइयो, मैले श्रद्धाका कारण पैसा चढाएकी हुँ ।'

गोरखा बैठक कक्ष नारायणहिटीको विशेष अर्थ बोकेको कक्ष हो, जुन कक्षमा श्री ५ लागेका व्यक्तिहरूमात्र उपस्थित हुने चलन थियो । यो कक्षमा विशेष कार्यक्रमहरू हुने गर्थे, स्वर्गीय दीपेन्द्रको उमेर पुगेको घोषणा यसै कक्षबाट गरिएको थियो । २०४७ सालको संविधान जारी भएको घोषणा यही कक्षबाट गरिएको थियो । २०६५ सालदेखि राजाको बहिर्गमनपछि सर्वसाधारणका लागि यसलाई खुला गरिएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.