मलाई हतार छैन
![मलाई हतार छैन](https://annapurnapost.prixacdn.net/media/albums/prasana-Pandy-5840fa309c0980.14618080_y7lR5kuKnf.jpg)
प्राश्ना पाण्डेले गायिकाको छवि बनाइसकेकी छन् । नेपाली सांगीतिक आकाशमा उदीयमान गायिका प्राश्नाले 'गाजलु आँखा'बाट सांगीतिक उद्योगमा पहिलो पाइला राखिन् । युवा संगीतकार राम सिटौलाको शब्द र संगीत रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएसँगै चर्चा पनि बढेको उनको दाबी छ । हट र सेक्सी गायिकाको इमेज बनाउन सफल प्राश्नाले ४/५ कक्षादेखि नै गाउन थालेकी हुन् ।
भजनकीर्तन र धार्मिक मेलामा गाएर वाहवाही पाएको प्रसंग सुनाउँदै उनले भनिन्, 'अहिले पनि म बालापन सम्झेर, अतीतका यादमा नोस्टाल्जिक हुने गर्छु ।' कक्षा ९ देखि १० सम्म ऐच्छिक संगीत लिएर पढेकी प्राश्नाले प्लस टुमा संगीत पढ्न नपाएको बताइन् । त्यही कुराले थकथक लाग्ने गरेको उनले बताइन् । तर, सांगीतिक तिर्खा मेट्न उनले साधना कला केन्द्रमा प्रकाश गुरुङसित तीन वर्षसम्म संगीत सिकिन् । आमसञ्चारमा भर्खरै स्नातक गरेकी उनले एमबीए गर्ने योजना बनाएकी छन् ।
इलामबाट उनका बुवाआमा झापा बसाइँ सरे । प्राश्ना झापामै जन्मिन् । पिता तिलकसिंह पाण्डे र माता रूपा पाण्डेका तीन सन्तानमध्ये प्राश्ना जेठी छोरी हुन् । बुवा प्रफेसर हुन् । माता गृहिणी । युवा संगीतकार तथा गीतकार राम सिटौलासित उनी सेमिक्लासिकल संगीत सिक्दैछिन् । त्यही क्रममा उनले पहिलो एल्बम बजारमा ल्याइन् । राम सिटौलाको एकल संगीत रहेको एल्बममा चर्चित गायक प्रमोद खरेलले एउटा गीतमा साथ दिएका छन् । अर्को गीतमा राम सिटौलाले साथ दिए ।
'मान्छेहरूले चर्चामा आउन खोइ केके कोकोसित अफेयर चलाउँछन् । हल्लामा उड्छन् अरे ! तर मेरो भने 'तिमी र म' शीर्षक एल्बमसित आँखा जुध्यो । प्रेम गरेँ', उनले भनिन् । उनको डेब्यु एल्बम 'तिमी र म'मा पाँचवटा गीत छन् । एल्बमको पहिलो नम्बरमा रहेको 'छुकछुक गुड्न थाल्यो' बोलको गीतमा चर्चित गीतकार शीतल कादम्बिनीको शब्द छ । 'गाजलु आँखा' र 'जब जब तिमी र म' गीतका शब्द राम सिटौलाका हुन् । 'तिम्रो हरेक स्पर्श'ले गीत प्राश्नाकै शब्दमा गाइएको हो । 'हृदयको कुनाभित्र' पूजा मारियाको शब्द रचनामा गाइएको हो । 'हिजो आज सबै भन्छन्' बोलको गीत यशोदा थापाको हो ।
प्रेम र सम्बन्धमा विश्वास राख्ने प्राश्नालाई घुमफिर, भेटघाट, फोटो खिच्न, पौडिन मन पर्छ । अग्रजका कुरा सुन्ने र पुस्तक पढने उनको रुचि हो । फ्युजन गीत, क्लासिकल र वेस्टर्न म्युजिक सुन्न रुचाउने उनी उमेरले सानै भए पनि अनुभवले हजुरआमा बन्न मन पराउँछिन् । सामाजिक मानमर्यादा र मूल्यलाई उनी यसरी बयान गर्छिन्, 'बजारमा चल्ने चर्चा र हल्ला हुन्छ तर म सुन्दिनँ । म आफ्नो काम गर्छु । सबैको सम्मान गर्छु, माया गर्छु । निरन्तर साधना र कालजयी गीत गाउने मेरो धोको छ । नाम रहिरहोस् । अरू केही चाहिएन ।'
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)