राजकुमारले चुमे मुस्ताङ म्याडनेसको उपाधि
तातोपानी म्याग्दीः मुस्ताङ म्याडनेस क्रसकन्ट्री साइकल रेसको उपाधि राजकुमार श्रेष्ठले जितेका छन् । अघिल्लो चरणमा १३ घन्टा ६ मिनेट ४७ सेकेन्डको अग्रताका साथ दौड सुरु गरेका राजकुमारले सातौं दिन अन्तिम चरणको मनाङको मार्फादेखि म्याग्दीको तातोपानीसम्मको ५० किलोमिटर दूरी एक घन्टा ४८ मिनेट १० सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् । उपाधिसँगै राजकुमारले एक लाख २५ हजार रुपैयाँ पुरस्कार पाए ।
बुद्धिबहादुर तामाङले १६ घन्टा ३३ मिनेट ४० सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो भए । तेस्रो भएका मानबहादुर थापामगरले १७ घन्टा २२ मिनेट ५२ सेकेन्डमा दूरी पूरा गरे । दोस्रो र तेस्रो हुनेले क्रमशः ७५ हजार र ५० हजार रुपैयाँ पुरस्कार पाए ।
यसैगरी राजेन्द्र चेम्जोङ १९ घन्टा पाँच मिनेट नौ सेकेन्डमा दूरी पूरा गर्दै चौथो भए । सबैभन्दा कान्छो सहभागी १६ वर्षीय प्रचित थापामगरले २० घन्टा १६ मिनेट ४५ सेकेन्डमा दूरी पार गर्दै पाँचौं स्थानमा अटाए ।
विदेशी सहभागीमा बेलायतकी इजाबेल बोइडलले २४ घन्टा ६ मिनेट ३० सेकेन्डमा पूरा गरिन् । नेपाली सेनाकी पुष्पा भण्डारीले ३१ घन्टा २९ मिनेट ५० सेकेन्डमा दूरी पूरा गरिन् ।
उपाधि जितेपछि राजकुमारले सुरुको चरणमा टाइमिङमा निकै मेहनत गरेका कारण उपाधि जित्न सफल भएको बताए । ‘हाई अल्टिच्युडमा साइकल कुदाउन सजिलो छैन । तर पनि उपल्लो मुस्ताङको मनोरम दृश्य अवलोकन गर्दै साइकल कुदाउन पाउँदा सबैलाई उत्साही बनाउँछ', राजकुमारले भने ।
रेसका व्यवस्थापक एवं संयोजक शिखर पाण्डेले मुस्ताङ म्याडनेस क्रसकन्ट्री साइकल रेसले नेपालमा माउन्टेन बाइकिङको विकास र साहसिक खेल पर्यटनमा सहयोग पुग्ने बताए । एडभेन्चर स्पोर्टस् नेपालको आयोजना, नेपाल पर्यटन बोर्ड र हाइमेक्सको सहयोगमा सञ्चालित प्रतियोगितामा एकएकजना नेपाली र विदेशी महिलासहित सात खेलाडीले भाग लिएका थिए ।