प्रिन्ट मिडिया म्यानेजमेन्ट सम्मेलन
काठमाडौः नेपाल मुद्रण उद्योग महासंघको आयोजनामा बिहीबार प्रिन्ट प्रमोसन एन्ड प्रिन्ट मिडिया म्यानेजमेन्ट सम्मेलन भएको छ । काठमाडौंमा आयोजना गरिएको उक्त सम्मेलनमा जर्मनीलगायत विभिन्न देशबाट आएका मुद्रणसम्बन्धी विज्ञहरूको पनि सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपालको मुद्रण व्यवसायी र यससँग आवद्ध विभिन्न सघंसस्थाको अवस्था र चुनौतीवारे चर्चा गरिएको थियो । कार्यक्रममा बोल्दै नेपाल मुद्रण व्यवसायी महासंघका अध्यक्ष माधव केसीले नेपाली प्रिन्टर व्यवसायीले आधुनिक प्रविधिको प्रयोगसँगै गुणस्तरीय सेवा प्रदान गर्दै आएको जनाएका छन् ।
उनले विश्वमा प्रयोग गरिएका सबै किसिमका आधुनिक प्रविधि नेपालमा पनि भित्रिसकेको बताए । उनले नेपालमा प्रिन्टिङ व्यवसायलाई सोचे अनुरूप विकास र विस्तार गर्न नसके पनि आफ्नो तर्फबाट हुन सक्ने कार्य भइरहेको उल्लेख गरेका छन् ।
उनका अनुसार नेपाल मुद्रण व्यवसायी महासंघमा अधिले दुई सयभन्दा बढी प्रिन्टिङ व्यवसायी आवद्ध रहेको बताए । संस्थाले महासंघमा आवद्ध भएका मुद्रण व्यसायीलाई तालिम दिने, क्षमता विकासमा सहयोग गर्ने काम गर्दै आएको छ ।