सगुनमा सर्वसाधारणले लगानी गर्न पाउने अवसर न्यून
काठमाडौं: सर्वसाधारणको लागि लगानीको अवसर खुल्ला गर्ने जनाएको सगुनले आफ्ना प्रयोगकर्तालाई पठाएको इमेलबाट भने त्यो अवसर दिने कुरामा शंका उब्जाएको छ।
सगुनले हालै आफ्ना प्रयोगकर्ताहरुलाई पठाएको इमेलमा लगानीको पहिलो अवसर प्रयोगकर्ताहरुलाई रहेको देखिएको हो। सगुनले आफ्ना ४ लाख प्रयोकर्तालाई आफ्नो 'मिनी आइपीओ' को बारेमा जानकारी गराउँदै लगानीको लागि इच्छा व्यक्त गर्ने अवसर समेत दिएको छ।
विश्वव्यापी रुपमा सञ्जाल विस्तार गरिरहेको सामाजिक सञ्जाल सगुन डटकम अमेरिकामा रहँदै आएका नेपाली गोविन्द गिरीले शुरुवात गरेका हुन्। बलिउडकी लोकप्रिय नायिका मनिषा कोइरालाले २०१४ मा सार्वजनिक गरेको सगुनको दोस्रो संस्करण तत्कालीन प्रधानमन्त्री केपी ओलीले २०७२ कात्तिकमा नेपालमा शुभारम्भ गरेका थिए।
'मिनी आइपीओ' मार्फत लगानी गर्न आफ्ना आधिकारिक प्रयोगकर्तालाई आह्वान गरेको इमेलमा संस्थापक गोविन्द गिरीको सन्देश समेत रहेको छ। गिरीको इमेलमा सगुनमा जोडिएका सबै प्रयोगकर्ताहरुलाई धन्यवाद दिइएको छ। उनले इमेल मार्फत प्रयोगकर्ताहरुलाई सगुनमा लगानी गर्दा हुने फाइदाको बारेमा पनि बताएका छन्। व्यक्तिगत संजाल विस्तार गर्न तथा भविष्यमा उच्च प्रतिफल हासिल गर्न पनि मिनि आइपिओमा लगानी गर्न इमेलमा उनले आह्वान गरेका छन्। इमेल सन्देशमा उनले प्रयोगकर्तालाई लगानीको लागि आफ्नो इच्छा प्रकट गर्न आह्वान गरेका छन्।
'मिनी आइपीओ ' मा जानु अघी अमेरिकी 'सेक्युरिटी एक्सेन्ज कमिसन' को स्विकृती पाउने प्रक्रियामा सगुन रहेको छ । यो स्वीकृति पाएपछि सगुनले सर्वसाधारण लगानीकर्ताहरुका लागि लगानीको अवसर खुल्ला गर्नुपर्ने हुन्छ। तर सर्वसाधारणलाई लगानीको अवसर खुल्ला गर्नु अघी नै आफ्ना प्रयोगकर्ताहरुलाई इमेल गरेर सगुन टीमले लगानीकर्ताहरुको इच्छा समेत जाँचेको छ।
सगुनमा लगानीको लागि इच्छा व्यक्त गर्नेहरुलाई आफ्नो इच्छा प्रकट गर्न सगुनले आफ्नै वेभसाइट मार्फत प्लेटफर्म पनि प्रदान गरेको छ। यसका लागि सगुनको वेभसाइटमा 'इन्भेष्ट' पेज नै बनाइएको छ। सो इन्भेष्ट पेजमा गएर सगुनका प्रयोगकर्ताहरुले सगुनमा लगानी गर्न इच्छा प्रकट गरेको समेत देखिएको छ। सगुनको इन्भेष्ट पेजमा बिहिवार साँझसम्म ९ सय भन्दा बढी लगानीकर्ताहरुले १२ करोड भन्दा बढी लगानीको लागि इच्छा प्रकट गरेका छन्। सगुनको इमेल मात्र पाएका लगानीकर्ताहरुले आफ्नो इच्छा प्रकट गर्ने क्रम दिनदिनै बढेको सगुनकै वेभसाइटमा देख्न सकिन्छ। सगुन ' मिनी आइपीओ ' मार्फत २ अर्व भन्दा बढी रकम लगानीको रुपमा जुटाउँदै छ।
'मिनी आइपीओ' मार्फत एक लगानीकर्ताले कम्तिमा २९९ अमेरिकी डलर लगानी गर्न सक्नेछन् । त्यसभन्दा माथि भने लगानीकर्ताले आफ्नै इच्छा अनुसार लगानी गर्न सक्नेछन। सर्वसाधारणका लागि लगानीको अवसर भनिएपनि ४ लाख प्रयोगकर्ताहरु मध्ये २० हजार प्रयोगकर्ताहरुले सरदर १ हजार डलर मात्र लगानी गरेपनि २० मिलियन अमेरिकी डलर अर्थात २ अर्व भन्दा वढी रकम सहजै उठ्ने सक्ने देखिन्छ। यस्तो अवस्था आए सगुनमा सर्वसाधारण लगानीकर्ताको लागि लगानीको अवसर नै नहुने देखिएको छ।
तर नेपालमा रहेका प्रयोगकर्ताहरुले नेपाली कानुन अनुसार लगानी गर्न नपाउँदा यो अवसरबाट उनीहरु वञ्चित हुने देखिएको छ। तर त्यसको सोझो फाइदा नेपाल वाहिर रहेका अन्य प्रयोगकर्ताहरुलाई हुने आँकलन गरिएको छ। लगानीको इच्छा जनाउनेहरुले नै लगानीको पहिलो अवसर पाउने भएपनि ' मिनी आइपीओ ' मा पहिलो लगानी गर्न आउने नै शेयरका पहिलो हकदार हुनेछन्।
सामाजिक सञ्जालको क्षेत्रमा प्रभुत्व जमाउँदै आएका फेसबुक ट्वीटर लगायतलाई चुनौती दिने लक्ष्यका साथ सगुनका संस्थापक गिरी अघी बढेका छन्। सगुनले अन्य सामाजिक सञ्जाल भन्दा फरक रुपमा प्रयोगकर्तालाई कनेक्ट गर्दै आफ्ना प्रयोगकर्ताहरुलाई नाफाको हिस्सेदार बनाउने दावी गर्दै आएको छ।