उच्च शिक्षाका लागि २२ जनालाई अष्ट्रेलियन दूतावासको छात्रवृत्ति
काठमाडौं: नेपालस्थित अष्ट्रेलियन दूतावासले विभिन्न क्षेत्रका २२ जनालाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ । अध्ययनका लागि छनोट भएकालाई मुख्य सचिव सोमलाल सुवेदीले शुक्रबार प्रमाणपत्र दिए ।
छात्रवृत्तिमा छनोट भएकाको कक्षा आगामी जनवरीदेखि सञ्चालन हुनेछ । छात्रवृत्तिमा छनोट भएकालाई प्रमाणपत्र वितरण गर्दै सुवेदीले उच्च शिक्षा अध्ययनपछि सिकेको सीपलाई स्वदेशको विकासमा खर्च गर्न आग्रह गरे ।
कार्यक्रममा नेपालका लागि अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाईटले छनोटका लागि आएका तीन सय निवेदनबाट २२ जना छनोटमा परेको जानकारी दिए । दश महिला र चार जना अपांगता भएका सहित गरेर २२ जना छनोटमा परेका हुन्। अष्ट्रेलियन सरकारको पूर्ण खर्चमा उनीहरुले विभिन्न विश्वविद्यालयमा स्नातकोत्तर, एमफिल तथा पिएचडीसम्मको अध्ययन गर्न पाउनेछन् ।
यो छात्रवृत्ति योजना अष्ट्रेलिया सरकारले प्रयोजन गरेको महत्वपूर्ण कार्यक्रम हो । नेपालसहित अन्य विश्वका विभिन्न मुलुकबाट यसैगरी प्रत्येक वर्ष अध्ययनका लागि विद्यार्थी अष्ट्रेलिया जाने गरेका छन् ।