फाष्टट्रयाक र एयरपोर्ट माग गर्दै पैदल यात्रा

फाष्टट्रयाक र एयरपोर्ट माग गर्दै पैदल यात्रा

निजगढः राजनितिक अस्थिरताका कारण राष्ट्रिय गौरवका योजना निर्माणमा भइरहेको ढिलासुस्ती अन्त्य गर्न माग राख्दै संघर्षमा उत्रिएका बाराका स्थानियले काठमाण्डौ–तराई जोड्ने फाष्टट्रयाक (द्रुतमार्ग) मा पैदल यात्रा सुरु गरेका छन् ।

राजधानीलाई तराईसंग सिधा जोडने द्रुतमार्ग र बाराको टांगियावस्तीमा दोस्रो अन्तर्राष्ट्रिय बिमानस्थल बनाउने सरकारी निर्णय कागजमा मात्रै सिमित भईरहेको भन्दै सरकार र राजनितिक दललाई दवाव दिने उदेश्यले स्थानियले पैदल यात्रा सुरु गरेका हुन् ।

‘हाम्रै पालामा फाष्टट्रयाक र एयरपोर्ट, विकासका निम्ति एकता' भन्ने नाराका साथ निजगढबाट सुरु भएको पैदल यात्रा काठमाण्डौसम्म पुग्नेछ । तीन दिनमा काठमाण्डौ पुगेर प्रधानमन्त्री र विभिन्न राजनितिक दलका अध्यक्षलाई भेटेर ज्ञापन बुझाउने उदेश्यका साथ निजगढबाट शुक्रवार सुरु भएको पैदल यात्रामा पाच महिलासहित ६० जना सहभागी छन् ।

पैदल यात्राका सहभागीलाई निजगढका स्थानियले अबिर र माला लगाएर बिदाई गरेका थिए । बिदाई कार्यक्रममा उद्योगी, ब्यवसायी, विभिन्न राजनितिक दलका प्रतिनिधि, विद्यार्थी र स्थानियको सहभागीता थियो । फाष्टट्रयाक एयरपोर्ट निर्माण संघर्ष समिति गठन गरी घोषणा गरिएको ६ महिने चरणबद्ध कार्यक्रम अन्तर्गत सरकारलाई दवाव दिन पैदल यात्रा सुरु गरिएको संयोजक रविराज दंगालले बताए ।

‘यस्ता महत्वकांक्षी योजना राजनितिक अस्थिरताका कारण अन्यौलमा पर्नुहुदैन । यसलाई चाडो भन्दा चाडो निर्माण गर्नुपर्छ' फाष्टट्रयाक एयरपोर्ट निर्माण संघर्ष समितिका संयोजक दंगालले भने ‘त्यसैले सरकार र विभिन्न राजनितिक दलका शिर्षस्थ नेतालाई भेटेर दवाव दिन हामीले अभियान सुरु गरेका हौ । जनताले चाहिरेको विकासका लागि गम्भिर हुन आग्रह गर्नेछौ ।'

मंसीर ६ गतेबाट संघर्षका कार्यक्रम घोषणा गरेको समितिले बारा, पर्सा, रौतहट, मकवानपुरलगायतका जिल्लामा सञ्चालन गरेको अभियानका क्रममा जनस्तरबाट आएको कुरा राज्यको महत्वपूर्ण स्थानमा रहेका राजनितिक दलसम्म पुर्‍याउन जरुरी रहेको दंगालको भनाई छ । देशको बिकासमा राजनितिक दलनै बाधक देखिएको भन्दै उनले आफ्नो अस्तित्व जोगाउने नाममा जनताले चाहेको बिकास नरोक्न ध्यानाकर्षण गराउने दंगालको भनाई थियो ।

‘जनताले चाहेको बिकास कसका कारण रोकिएको छ, यसको जवाफ सरकार र राजनितिक दलले दिनुपर्छ ' दंगालले भने ‘आफ्नो अस्तीत्व जोगाउनकै लागि बिकासका काममा एकबद्ध हुन नसक्नु दुभाग्यपूर्ण हो, यसको अन्त्य हुनुपर्छ ।'

सरकार परिवर्तन भएपनि निति परिवर्तन गरिनुहुदैन भन्ने जनताको चाहनालाई अब जिम्मेवार राजनितिक दलले बुझुनपर्ने दंगालले बताए । जनस्तरबाट दवाव दिन निजगढबाट सुरु भएको पैदल यात्रा पहिलो दिन छतिवन, दोस्रो दिन ठिंगन र तेस्रो दिन ललितपुरको बुङमती हुदै काठमाण्डौ पुग्ने कार्यक्रम रहेको छ । पैदल यात्रामा छतिवन, ठिंगन र बुङमतीका स्थानिय समेत सहभागी हुनेछन् ।

पैदलयात्रा सुरु गर्नुअघि समितिले बारासहित विभिन्न जिल्लामा फाष्टट्रयाकका लागि ‘एक रुपैया लगानी गरौ' भन्दै घरदैलो अभियान सञ्चालन समेत गरेको थियो । अभियानका क्रममा ५० हजार भन्दा बढी रकम र एक लाख हस्ताक्षर संकलन भएको संयोजक दंगालले बताए । संकलित हस्ताक्षर र रकम सरकारसहित पार्टिका शिर्षस्थ नेतालाई बुझाउने कार्यक्रम रहेको दंगालको भनाई छ ।

सरकार र पार्टिका शिर्षस्थ नेतालाई भेटेर दवाव दिएपछि संघर्षका कार्यक्रम अन्तर्गत डकुमेन्ट्री प्रदर्शन, दुई नं. प्रदेशका सबै जिल्लामा अन्तक्र्रिया र त्यसपछि सय दिने रिले अनसन सुरु गरिने समितिका सदस्य महेश्वर अधिकारीले बताए ।

प्रधानमन्त्रीसहित सबै पार्टिका शिर्ष नेताको उपस्थिती गराई काठमाण्डौमा पुष १९ गते फाष्टट्रयाक र एयरपोर्टको बिषयमा तयार पारिएको डकुमेन्ट्री प्रदर्शन गर्ने तयारी समितिले गरेको छ । पुष २० गतेदेखी माघ २१ गतेसम्म दुई नं. प्रदेशका जिल्लामा सरोकारवाला निकायसंग अन्र्तक्रिया गर्ने र माघ २२ गतेदेखी निजगढमा एक सय दिने रिले अनसनमार्फत दवाव दिने संयोजक दंगालले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.