भाषाविज्ञान र झर्रो नेपाली
अचेल म छक्क पर्छु, किनभने छिमेकी भाषा प्रयोग गर्नेहरू त्यसबाट असन्तुष्ट हुँदै धेरै टाढाको अङ्ग्रेजी भाषालाई सर्व श्रेष्ठ अभिव्यक्तिको माध्यम मान्दै त्यसैको शरणमा आफूलाई पूर्ण रूपले समर्पित गर्छन् । कहाँसम्म भने हाम्रो वैदिक सनातनी धर्मलाई समेत जनसमक्ष प्रस्तुत गर्दा संस्कृतजस्तो विश्वको सर्व श्रेष्ठ भाषामा अध्ययन र आराधना गरी आध्यात्मिक जीवनमा संलग्न विद्वान् र योगाभ्यास गरी जोगीको भेषभूषा अँगाल्दै हिँड्ने त्यागीहरूसमेत अङ्ग्रेजी भाषामा नबोले जनताले पत्याउँदैनन् भन्ने भ्रममा दारी हल्लाउँदै हलल्ल हाँस्छन् ! छिमेकी भारतका यी नवयोगीहरूलाई देख्ता मलाई औधि ठूलो मानसिक पीडा हुन्छ ।
भाषा विज्ञानको विषय उक्काउँदा मलाई मेरा अभिन्न मित्र बालकृष्ण पोखरेलको उल्लेख नगरी हुँदैन । काशीविश्वविद्यालय (अर्थात् भारतको बनारसस्थित विश्वविद्यालय)मा हामी स्नातक तहमा पढ्दा (विक्रमाब्द २०१३–१४ तिर) हामीले ‘झर्रो नेपाली' भन्ने आकर्षक नाउँ दिएर विशुद्ध नेपालीको प्रचार ‘नौलो पाइलो' पत्रिकामार्फत थालेका हौँ । शुद्ध नेपाली हामी दुवै प्रयोग गथ्र्यौँ ।
तर त्यसको नाम ‘झर्रो' राख्ने अति सुन्दर कार्य बालकृष्ण पोखरेलबाट भएको हो । जसरी हामी कार्की, बस्नेत, थापा, कुँवर, कटुवाल आदिलाई विशुद्ध वा झर्रा छेत्री भन्छौँ उसरी नै हामी हाम्रो पवित्र राष्ट्रिय साझा भाषालाई पनि ‘झर्रो' शब्दले सिँगारौँ भन्ने मेरा मित्रको सल्लाह मलाई उत्कृष्ट लाग्यो । स्नातक तह सकेपछि ‘भाषा विज्ञान'को उच्च अध्ययन गर्न पोखरेल कलकत्ता विश्वविद्यालय जानुभयो र म चाहिँ अङ्ग्रेजीमा आचार्य गर्न (अर्थात् एम.ए. पढ्न) पटनातिर हानिएँ ।
पछि अङ्ग्रेजीमै उच्च अध्ययन गर्ने भनी म ‘बेलाइत्'तर्फ (‘बेलायत' होइन, त्यो हिन्दी हो । नेपालीमा सर्वप्रथम १९१० सालमा ‘जङ्गबहादुर राणाको बेलाइतयात्रा' भन्ने ग्रन्थ छापिएको थियो र त्यसै राष्ट्रिय भनाइलाई आदर र अनुसरण गर्दै मैले पनि ‘बेलाइततिर बरालिँदा' लेखेको हुँ ।) लागेँ ।
त्यहाँ अक्सफोर्ड्जस्तो उच्च विश्वविद्यालयका प्राध्यापकहरू हुन् वा म अमेरिकामा पी.एच.डी. गर्न जाँदा भेटिएका त्यहाँको सर्वोच्च शिक्षण संस्था हार्भर्ड् विश्वविद्यालयमा पढ्ने वा पढाउने जर्मनीकी विदुषी हुन् तिनले नै मलाई विश्वको सर्वोत्कृष्ट भाषा संस्कृत हो र भाषा वैज्ञानिक दृष्टिकोणले व्याख्या गर्ने व्याकरणकार ‘पाणिनी' हुन् भनेर सतर्क गराए । नेपाल फर्केर मैले स्थलगत र भाषा वैज्ञानिक अनुसन्धान गर्दा संस्कृत त नेपालमै जन्मेको र यहीँको हाम्रो भाषा पो रहेछ र पाणिनी पनि नेपालमै जन्मिएका व्यक्ति रहेछन् भन्ने थाहा पाएँ ।
त्यति मात्र होइन, हाम्रो धर्म वैदिक हो र त्यसको राम्रो व्याख्या गर्ने प्रथम ऋषि वेदव्यास हुन् जो भानुभक्त जन्मेको जिल्ला तनहुँकै दमौली भन्ने ठाउँमा जन्मेका रहेछन् भन्ने कुरो अनुसन्धानबाट पत्तो लगाएँ । हाम्रै ‘दमौली'मै उनले गणेशले हतारहतार सारेका चारै वेद, उपनिषद्हरू, अठार पुराणहरू तथा रामायण, महाभारतजस्ता महान् ग्रन्थहरूको सम्पादन गरेका र संरक्षण गरेका रहेछन् र त्यही हाम्रै राष्ट्रभित्रको दमौलीमै त्यत्रो महान् वैदिक व्यवस्था भएको रहेछ भन्ने ज्ञान पाउँदा म आत्मविस्तृत भएँ ।
खोज्दै जाँदा संस्कृतको सर्व श्रेष्ठ र प्रथम महाकाव्य ‘अध्यात्म रामायण' वाल्मीकि नाउँका नवलपरासी भन्ने कपिलवस्तुनजिकै (अर्थात् गौतम बुद्ध जन्मेको जिल्लानजिकै) नेपालको तराई जिल्लामा जन्मेका ऋषिले रचना गरेका रहेछन् त्रिशूली नदीको प्रसिद्ध किनार देवघाटमा ।
मैले थाहा पाएकामा महाभारतको लडाइँमा वाक्क भएर पाँचै भाइ पाण्डव युद्धक्षेत्र विराटनगरबाट सोझै हिँडेर स्वर्ग जान भनी गएको ‘स्वर्गद्वारी' पनि नेपालकै प्यूठान जिल्लामा छ र उनीहरू जिउँदै स्वर्ग पुगेर स्वर्गद्वारी नै फर्के भनिन्छ । झापास्थित किच्चकवधबाट विराटनगरमै महाभारतको युद्ध भएको तथा प्रसिद्ध भाषा वैज्ञानिक पाणिनी पनि अर्घाखाँची जिल्लाको पणेनामा जन्मी त्यहीँ नै सुप्रसिद्ध ‘सिद्धान्त कौमुदी' नामक संस्कृतको व्याकरण रचना उनले गरेका हुन् । पाणिनीको ‘लिपि' अत्यन्त वैज्ञानिक र श्रेष्ठतम छ जसको प्रयोग हामी नेपालीहरू पनि आफ्नो राष्ट्रिय साझा भाषा नेपालीमा गर्छौं ।
हाम्रो जनकपुरस्थित जनकराजाको दर्बारमा याज्ञवल्क्य नामक ऋषि थिए । गार्गी र मैत्रेयी भन्ने दुई अविवाहित नवयुवतीहरू आफूले वैदिकलयमा रचेका श्लोकहरू उनलाई सुनाउँथे । पछि गएर एकजनालाई याज्ञवल्क्यले विवाह पनि गरे । जनकको दर्बारमा संस्कृत र वेदको ठूलो सेवा हुन्थ्यो ।
जनककी सुपुत्री जानकी (वा सीता)को विवाह भारतको अयोध्याका राजा दशरथका जेठा छोरा रामसित भयो । राम र उनका भाइ लक्ष्मण वनवास गए । सीता अत्यन्त आदर्श पतिभक्तिकी उत्कृष्ट उदाहरण हुनाले उनी पनि पतिसितै वनवास गइन् ।
लङ्काको दुष्ट शासक रावणले सीतालाई हरण गर्यो र लङ्का लग्यो । रामले आफूले बनाएका मित्रहरू सुग्रिव, हनुमान र आफ्नै भाइ लक्ष्मणसित मिलेर लङ्का गई रावणलाई जिते र सीतालाई फर्काए । पछि रामहरू अयोध्या फर्के, तर अयोध्याको एक सामान्य धोबीले सीतालाई रावणले सतीत्व हरण गरेको हल्ला गरेकाले रामले बिचरी पवित्र र पतिव्रता सीतालाई बनवासको सजाय दिए अनि लक्ष्मणले भाउजूलाई त्यही नवलपरासीको वनमा लगेर छाड्ने निर्णय गरे ।
भारतलाई पतिव्रतापालनको उत्कृष्ट उदाहरणले र चीन, जापान, कोरियातिर हाम्रो काठमाडौंस्थित काष्ठकला तथा समस्त प्रस्तर वा पत्थरकलाले मुग्ध पारेको पाइन्छ । त्यसै हुनाले हाम्रा फुपूहरू सीता र भृकुटी अविस्मरणीय भएका छन् ।
तर सीता स्वच्छ चरित्रकी हुनाले उनको पेटबाट जन्मेका आफ्ना (र रामका) छोराहरू लव र कुशलाई दोष नलगोस् भनी दन्दन आगो बालेर आफूलाई त्यसमा आत्मसात् गर्न खोजिन् । सीता पवित्र हुनाले आगाले छुनै सकेन । यसरी उनले आफ्नो पतिव्रताको ठूलो दृष्टान्त दिँदै आफ्नो माइती नेपाल राष्ट्रको गौरव राखिन् ।
एकातिर हामी सबैकी आदरणीया फुपू सीताले विश्वलाई नेपाली सतीत्वको उदाहरण दिइन् भने अर्कातिर हाम्रो उपत्यकामा जन्मेकी अर्की फुपू भृकुटीले तिब्बतका राजा शुद्धोधनसँग विवाह गरेर ह्लासा जाँदा आफूसँग बौद्ध धर्मसम्बन्धी हस्तलिखित ग्रन्थहरू (प्राकृत भाषामा) लिएकी र बौद्ध धर्म विद्वान्हरूलाई समेत साथ लिएकी थिइन् ।
त्यसका साथै काठमाडौंको कलामा पारङ्गत अर्निको र अरू कलाकारहरूसमेत उनीसँग थिए । एकातिर तिब्बत समस्त उत्तरपूर्वी एसिया (चीन, जापान, कोरिया, बर्मा आदि देशहरू)मा नेपाली विद्वान्हरूले अनुवाद गरेका ग्रन्थहरूको सहायताले बौद्ध धर्म फैलियो भने अर्कातिर उनका सहयोगी नेपाली कलाकारहरूको सहायताबाट हाम्रो पाग्री शैली (अर्थात् पगोडा शैली)का घर र मन्दिरहरू पूरै फैलिए भने अर्कातिर नेपाली कला समस्त पूर्वोत्तर एसियामा फैलियो र हाम्रो गौरव बढ्यो ।
भारतलाई पतिव्रतापालनको उत्कृष्ट उदाहरणले र चीन, जापान, कोरियातिर हाम्रो काठमाडौंस्थित काष्ठकला तथा समस्त प्रस्तर वा पत्थरकलाले मुग्ध पारेको पाइन्छ । त्यसै हुनाले हाम्रा फुपूहरू सीता र भृकुटी अविस्मरणीय भएका छन् ।
यसरी नेपाली संस्कृति चिरस्मरणीय भएको छ । यस्तो चिरस्मरणीय संस्कृतिलाई आज हाम्रै साझा भाषाले बचाउनु र उजिल्याउनुपर्नेमा अर्थात् झर्रो नेपाली भाषा र यस भाषाकी उत्कृष्ट जननी संस्कृतको उदाहरणबाट अघि बढ्नुपर्नेमा हाम्रा केही लोभी र स्वार्थी शिक्षकहरू क्राइस्टेली धर्मप्रचारकहरूको गोप्य योजनालाई नबुझी अथवा बुझे पनि मोटा रकमहरू कुम्ल्याउँदै र बुझ पचाउँदै हाम्रो राष्ट्रिय एकतालाई टुक्य्राउने अभियानमा निर्लज्ज हुँदै लागेका छन् ।
हाम्रै अर्घाखाँची जिल्लाभित्रको पणेना गाउँमा जन्मेका हाम्रा पुर्खा पाणिनी संस्कृत भाषाका सर्व श्रेष्ठ व्याकरणकार र भाषा वैज्ञानिक हुन् जसले ‘सिद्धान्त कौमुदी'को रचना गरे । सिद्धान्त कौमुदीमा व्याख्या गरिएको ‘लिपि'मा कुनै खोट छैन र नेपाली भाषा पनि संस्कृतबाटै जन्मेर विकसित भएको हुनाले त्यो लिपि र पाणिनीका सारा नियम हाम्रो भाषामा पनि लाग्छन् । संस्कृति (र नेपाली)मा जुन वर्ण लेखिन्छ वा उच्चारण गरिन्छ त्यो सधैँ त्यही रहन्छ । जस्तो ‘क' छ भने त्यो सधैँ ‘क' हुन्छ, ‘द्य' (द्य) छ भने त्यो ‘द्य' नै रहन्छ (जस्तो ‘विद्या'लाई मूर्खले मात्र ‘बिध्या' भन्छ) तर अङ्ग्रेजीमा हेर्नुहोस् त दुर्गति !
....................
अङ्ग्रेजीको पहिलो वर्ण ‘ब' (वा A) को बिजोकः
A –१. ‘या' cat, at, land (क्याट्, याट्, ल्यान्ड् आदि)
२. ‘अ' arrive, attend (अराइभ, अटेन्ड्)
३. ‘ए' ache, make, shake (एक्, मेक्, शेक्)
४. ‘आ' arm, alm, palm (आर्म्, आम्, पाम्)
..............................
धेरै मात्र होइन सबैजसो अङ्ग्रेजीका वर्णहरूको यस्तै बिजोक छ, जस्तै ch छ भने ‘च' हो कि, ‘श' हो बुझ्नै सकिँदैन– church (चर्च्), change (चेन्ज्), chemistry (केमिस्ट्री), chemical (केमिकल्),michigan(मिशिगन्) machine (मेशिन्) chicago (शिकागो)।
..............
नेपालीमा भने कुनै वर्णको पनि दुइटा वा तीनटा उच्चारण हुनै सक्तैन । जुन वर्ण लेखिन्छ वा पढिन्छ त्यो सदा त्यही हुन्छ । भाषा त त्यस्तो दह्रो र भरपर्दो पो हुनुपर्छ, अङ्ग्रेजीजस्तो लुइतामे ता हुनु हुँदैन ।
(यहाँ लेखाइ, हिज्जे र उच्चारणको दृष्टिकोणले मात्र अङ्ग्रेजीको आलोचना गरिएको हो । ज्ञान, सूचना र अभिव्यक्तिमा तथा विश्वलाई परिचय दिने सम्पूर्ण कुरामा भने अङ्ग्रेजी भाषा विश्वमै अग्रणी मानिनुपर्छ । म पनि अङ्ग्रेजी पढेर नै विश्वलाई चिन्न सक्षम भएको हुँ । सारा विश्वले आफूलाई र अरूलाई चिन्न अङ्ग्रेजी पढ्नैपर्छ ।