अनिश्चयको युगमा ट्रम्प

अनिश्चयको युगमा ट्रम्प

निवर्तमान अमेरिकी राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति निर्वाचनको दौरान रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प अमेरिका र विश्वकै लागि खतरा रहेको बताएका थिए । अझ अगाडि गएर उनले ट्रम्पले विजय हासिल गरे भने त्यो दुर्भाग्यपूर्ण हुने बताएका थिए र ट्रम्प अमेरिकी सेनाको सेनापति हुनसमेत अयोग्य रहेको दाबी गरेका थिए ।

तर, निर्वाचनको परिणामले अर्बपति व्यापारी र रियालिटी टीभी सोका तारा ट्रम्प अमेरिकाको ४५औं राष्ट्रपति भएका छन् । विश्व जनमत र लोकप्रिय मतमा अगाडि डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टन पराजित भइन् । यसले धेरैलाई संसारभर आश्चर्यचकित तुल्यायो । निर्वाचनलगत्तै अमेरिकाका विभिन्न सहरमा ट्रम्पविरोधी प्रदर्शन भए । अमेरिकी समाज विभाजित भयो ।

धेरैले यो निर्वाचन परिणामलाई स्वीकार्न सकेनन् । तर, राजनीतिमा कहिल्यै अनुभव नभएका डोनाल्ड ट्रम्प इलेक्टोरल कलेजको गणनामा विजयी घोषित भए । यसलाई 'ट्रम्प क्रान्ति' पनि भनिएको छ । सन् ८० को दशकमा रिपब्लिकन पार्टीका रोनाल्ड रेगनजस्तै ट्रम्पले चर्चित महत्त्वपूर्ण विजय हासिल गरे । निर्वाचन अभियानका दौरान सबैबाट खिल्ली उडाइएका हाँसोका पात्र ट्रम्पलाई मूर्खसम्म भनियो । तर, ट्रम्प आफ्नो अडानमा कायम रहे । उनी भद्दा, यौनवादी, महिलाविरोधी र आप्रवासीका लागि त्रास र दुश्चिन्ताका विषय थिए ।

अनुभवी र विश्वसम्पर्क भएकी हिलारी क्लिन्टनले विजय हासिल गर्न नसक्नुलाई टिप्पणीकारले उनले अमेरिकी जनताको मनोविज्ञान बुझ्न नसक्नु बताएका छन् । कामदार वर्गप्रति उदार र सहानुभूतिशील बर्नी स्यान्डर्सले उम्मेदवारी पाएको भए उनले ट्रम्पलाई पराजित गर्नसक्ने अनुमान अहिले गरिएको छ । किनभने निर्वाचन अभियानको दौरान दुई हप्ता अघिदेखि ट्रम्पले कामदार वर्ग, सेता अमेरिकी र विपन्नमा रहेका जनतालाई व्यापक रूपमा 'वर्किङ क्लास' भनेर सम्बोधन थालिसकेका थिए ।

तर, हिलारीले 'वर्किङ क्लास' भनेर सम्बोधन गरिनन् । निर्वाचन अभियानका दौरान ट्रम्पले हिलारीलाई ईमेल प्रकरणमा छानबिन गरी कारबाही गरिने बताएका थिए । अहिले त्यो भनाइलाई फिर्ता लिएका छन् । ट्रम्पको विजय के हो त ? धेरै टिप्पणीकारले ट्रम्पको विजयलाई गोराहरूको जातिवादी अहं, आप्रवासी विरोधी, मुस्लिमप्रति असहिष्णु र बाह्य संसारतिर फर्केर अमेरिका अन्तरमुखी भएको टिप्पणी गरेका छन् ।

यसलाई उनीहरूले दक्षिणपन्थी जातिवादको विजय पनि मानेका छन् । ट्रम्प विजयलगत्तै राजधानी वासिङ्टन डीसीमा नवनाजीहरूले विजय उत्सव मनाए र गोराहरू अमेरिकामा अल्पमतमा पर्दै गएकाले आफ्नो जातीय गौरवका लागि एक हुनुपर्ने बताए । यसले पश्चिमी समाज र प्रजातन्त्रको संकटलाई दर्शाउँछ ।

सन् ९० को दशकमा साम्यवादी सोभियत संघको पतन र पूर्वी युरोपबाट साम्यवादी शासनप्रणालीहरूको असफलताबाट विजयी भएको अमेरिका विगत अढाई दशकमा विश्वको एक्लो महाशक्ति भयो । नवउदारवाद कार्यक्रममार्फत प्रजातन्त्रको विस्तार, खुला व्यापार र भूमण्डलीकरणका योजना कार्यान्वयन गरिरहेको अमेरिका अचानक राष्ट्रवादी, सांस्कृतिक पहिचानवादी र जातिवादी हुँदै आन्तरिक राष्ट्रमा खुम्चिन पुगेको धेरैले अनुमान गरेका छन् ।

यस्तो हो भने प्रसिद्ध राजनीतिक विचारक फ्रान्सिस फुकुयामाको इतिहासको अन्त्य अवधारणाले फेल खाएको छ । इतिहास विचारधाराहरूको लडाइँ हो भने अमेरिका उग्र अनुदारवाद र दक्षिणपन्थीतर्फ लागेको छ । यही नै फेरि इतिहासको सुरुआत भयो ।

विवादास्पद नियुक्तिहरू

ट्रम्पको विजयसँगै उनले ह्वाइट हाउस प्रशासनका केही उच्च पदमा नियुक्तिहरू गरेका छन् जुन विवादस्पद छ । उनका नियुक्तिहरू गोरा जातिवादी र विवादास्पदले पाएका छन् । दी न्युयोर्क टाइम्सका स्तम्भकार निकोलस डी. क्रिस्टोफले यस नियुक्तिले ट्रम्प र राष्ट्रलाई नै अप्ठ्यारो र ग्लानियुक्त बनाएको टिप्पणी गरेका छन् । उनले राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्ति पाएका लेफ्टिनेन्ट जनरल माइकल फिलन विशेषगरी खतरा रहेको बताएका छन् ।

इराक र अफगानिस्तानमा लामो कार्यकाल बिताएका फिलन इस्लामलाई क्यान्सर बताउँछन् । उनलाई रुसबाट पैसा लिएर रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उपस्थित एउटा कार्यक्रममा भाग लिएको तथा टर्कीबाट पनि पैसा लिएको आरोप छ । त्यस्तै महान्यायाधिवक्ता नियुक्ति गरिएका सिनेटर जेफ सिसियंन जो संघीय न्यायाधीशका लागि सन् १९९६ मा रिपब्लिकन बहुमत भएको सिनेटबाट अस्वीकृत व्यक्ति हुन् ।

किनभने उनको इतिहास जातिवादी वक्तव्य दिने चरित्रले भरिएको छ । यो पनि अनुमान गरिँदैछ, अमेरिकाको सर्वोच्च अदालत अनुदारवादी दक्षिणपन्थी न्यायाधीशहरूले भरिनेछ । यो किन चिन्ताजनक छ भने अमेरिकी सर्वोच्च अदालतले नागरिक अधिकार, धार्मिक स्वतन्त्रता र गर्भपतनसम्बन्धी विषयमा आफ्नो राय र निर्णय दिनुपर्ने हुन्छ । ह्वाइट हाउस प्रमुख राजनीतिकारमा नियुक्ति पाएका अर्का स्टिभ बानोन पनि विवादास्पद मानिन्छन् ।

गोरा जातिवादी रहेका बानोन 'इस्लामोफोविक' मानिएका छन् । उनले गरेका अन्य नियुक्तिमा चिफ अफ स्टाफ रिन्स प्रिबुस र सीआईएका प्रमुख माइक फोम्पियोलाई उचित र योग्य व्यक्तिहरू भएको बताइएको छ । यसैबीच ट्रम्पले संयुक्त राष्ट्रसंघस्थित राजदूतमा गभर्नर निकी हेलीलाई नियुक्ति गरेका छन् जसलाई उचित भनिएको छ । भारतीय मूलकी हेली साउथ क्यारोलिना राज्यकी गर्भनर हुन् । ट्रम्पले कुनै एउटा उच्च नियुक्ति आफ्नो एकजना छोरालाई पनि दिने कुरा चर्चामा छ जसले ट्रम्प प्रशासनमा नातावाद-कृपावादले स्थान पाउने आशंका गरिँदैछ ।

गलत साबित भएको मिडिया

सन् २०१६ को अमेरिकी मिडिया राष्ट्रपति निर्वाचनले भरिएको थियो । प्रारम्भैदेखि ट्रम्पले अत्यधिक स्थान मिडियाहरूमा पाउन थालेका थिए । तर, निर्वाचनको अन्तिम चरणमा आइपुग्दा अत्यधिक मतसर्वेक्षण गलत साबित भए । दी न्युयोर्क टाइम्स, बुलम्भवर्ग र सीएनएनले ट्रम्पभन्दा हिलारी क्लिन्टन मतसर्वेक्षणमा अगाडि भएको बताएका थिए । जब मत परिणाम आउन थाल्यो तब प्रायः अमेरिकी मिडिया गलत साबित हुन थाले ।

किनकि ट्रम्पलाई कामदार, विपन्न र ग्रामीण क्षेत्रका मतदाताले मत हालेका थिए, जसलाई अमेरिकी मिडियाले बेवास्ता गरेका थिए । मिडियाहरूले त्यो वर्गको मनोविज्ञान बुझ्ने प्रयत्नै गरेनन् । हिलारी क्लिन्टन एलिट, कर्पोरेट हाउस र शिक्षितहरूका बीच लोकप्रिय थिइन् । यसर्थ मूलप्रवाहका मिडियाहरू यसपटक आफ्नो सर्वेक्षणमा असफल भए । तर फेसबुकमा फैलाइएको गल्ती सूचनाहरूले ट्रम्पलाई नै फाइदा पुग्यो । जस्तो, पोपले ट्रम्पलाई समर्थन गरे भन्ने समाचार ।

तर, फेसबुकका मालिक मार्क जुकरबर्ग त्यस्तो समाचारले व्यापक निर्वाचनमा कुनै असर नपारेको भन्दै पन्छिए । जे भए पनि विभिन्न दृष्टिकोणबाट रोचक अमेरिकी निर्वाचनमा मिडियाहरूमा ट्रम्प आलोचित र बदनाम भए पनि निर्वाचनमा सफल भए । यसले मिडिया पण्डितहरूलाई सोच्न बाध्य बनाएको छ ।

विदेशनीतिमा प्रभाव

यी पंक्ति लेखुन्जेल ट्रम्पले विदेशमन्त्री नियुक्त गरिसकेका छैनन् । विदेशमन्त्रीमा न्युयोर्कका पूर्वमेयर रुडी जुलियानी र मिट रोम्नीको चर्चा छ । ट्रम्पको विजयलाई जसरी अमेरिकाभित्र लिइएको छ; त्योभन्दा बढी उत्सुकता, आशंका र त्रासले बाहिरी संसारले हेरिरहेको छ । अमेरिकाका सहयोगी राष्ट्र र शत्रु राष्ट्र सबैतिर उत्सुकता छ । निर्वाचन अभियानका क्रममा ट्रम्पले रुसका राष्ट्रपति पुटिनको प्रशंसा गरेका थिए र उनीसँग काम गर्न सकिने बताएका थिए ।

तर, राष्ट्रपति निर्वाचित भइसकेपछि ट्रम्पको खास विदेश नीति वक्तव्य आएको छैन । क्रिमियालाई आफ्नो भूभागका गाभेपछि रुस र पश्चिमको सम्बन्ध चिसिएको छ । पश्चिमले रुसमाथि आर्थिक नाकाबन्दी लगाएको छ र रुस-अमेरिका सम्बन्ध तनावपूर्ण छ । यसलाई अन्तर्राष्ट्रिय मामलाका जानिफकारले नयाँ शीतयुद्धको संज्ञा दिएका छन् । अमेरिकाले उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) मार्फत बाल्टिक र पूर्वी युरोपमा सैन्य गतिविधि बढाएपछि रुस तर्सिएको छ ।

उता भने बाल्टिकदेखि पोल्यान्डसम्म रुसी सैन्य कारबाहीबाट त्रसित छन् । ट्रम्पले निर्वाचन अभियानका क्रममा नाटोको सान्दर्भिकता र औचित्यमाथि प्रश्न उठाएपछि त्यस क्षेत्रमा असुरक्षाको भावना बढ्दो छ । के ट्रम्प शीतयुद्धको विजेता नाटोलाई भंग गर्न चाहन्छन् ? यो अहिलेलाई अचिन्तनीय कुरो हो । त्यसो त ट्रम्प विदेश मामला र अन्तर्राष्ट्रिय मामलामा अनुभवहीन र अज्ञानी नै छन् । तर, उनले राष्ट्रपति भएलगत्तै ट्रान्स प्यासिफिक पार्टनरसिप नामक व्यापारिक गठबन्धन विघटनको घोषणा गरे । चीनबाहेकका प्यासिफिक र पूर्वी एसियाली राष्ट्रहरूको गठबन्धन यस संगठनको विघटनबाट चीनलाई फाइदा पुगेको छ ।

उनले निर्वाचन अभियानका दौरान चीनलाई मुद्रा चलखेल गर्ने र अमेरिकामा बेरोजगार सिर्जना गर्ने राष्ट्रको आरोप लगाएका थिए । के अब अमेरिका-चीनबीच व्यापारिक युद्ध होला ? र, नछुट्टिने गरी गाँसिएको चीन-अमेरिका सम्बन्ध दक्षिण-चीन समुद्रको विवादमा ट्रम्प प्रशासनको नीतिले पनि निर्धारण हुन्छ । त्यस्तै भारतसँगको नीति पनि महत्त्वपूर्ण हुन्छ । उनले भारतसँग मिलेर कार्य गर्ने बताएका छन् ।

निर्वाचन अभियानका क्रममा दक्षिण कोरिया र जापानले आफ्नो सुरक्षा आफैं गर्ने भन्ने उनको भनाइलाई आश्चर्यको रूपमा लिएको थियो । ट्रम्पसँग जापानी प्रधानमन्त्री सिन्जो आवेले भेट गरिसकेका छन् । उत्तर कोरियाको आणविक परीक्षणबाट त्रसित यी दुई राष्ट्र अमेरिकाका एसियाली सहयोगी हुन् । इरानसँगको आणविक सम्झौता पनि ट्रम्पले पुनर्विचार गर्ने बताएका छन् । यी यस्ता पेचिला र जटिल अन्तर्राष्ट्रिय मुद्दा हुन् जसलाई सनक र हठका भरमा व्यवहार गर्न मिल्दैन ।

सिरियाको गृहयुद्ध र त्यहाँ उत्पन्न मानवीय संकट, आईएसको आतंक, इराकको सामान्यीकरण र अफगानिस्तानको शान्ति यस्ता साझा अन्तर्राष्ट्रिय जल्दाबल्दा मुद्दा हुन् जसबाट विश्व ट्रम्प प्रशासनका नीतिहरू जान्ने उत्सुकतामा छ । तर, धेरै जानिफकार ट्रम्प सिस्टमबाट चल्नुपर्ने भएकाले उनको नीति व्यावहारिक हुनसक्ने बताउँछन् । यसबारे पूर्वविदेशमन्त्री हेनरी किसिन्जर पनि सहमत छन् । यतिसम्म भन्न सकिन्छ, वर्तमान विश्वमा ट्रम्प प्रशासनबाट विश्व व्यवस्थालाई खलबल पार्ने खालका निर्णय सम्भव नहुनुपर्ने हो । तर, अनिश्चयको वर्तमान युगमा ट्रम्पजस्ता भरोसा गर्न नसकिने र अकस्मात् राजनीतिमा प्रवेश गरेका व्यक्तिका ससाना निर्णय र भनाइले विश्वमा व्यापक असर पार्छ ।

अनिश्चयको युग

अहिलेको युगलाई इतिहासकारहरूले अनिश्चयको युग मानेका छन् । शीतयुद्धसम्म विचारधाराको नाममा विभाजित विश्वमा अहिले विचारधारा छैन । लामो समय एकधु्रवीय रहेको विश्व अहिले बहुध्रुवीय बनिरहेको छ ।

हार्वडका प्राध्यापक स्यामुयल हन्टिङ्टनले विचारधाराको युग सकिएपछि संसार विश्व सभ्यताका आधारमा बाँडिने र यहाँ सभ्यताको नाममा द्वन्द्व हुने विचार व्यक्त गरे । यही विचारधाराको अभावमा राष्ट्रहरू पुनः राष्ट्रवादी बन्ने, सांस्कृतिक पहिचान र सभ्यताको अहंमा सञ्चालन हुन थालेको आभास मिलेको छ । चीनको सभ्यतागत राष्ट्रहरूको अवधारणा वा चिनियाँ सपनाको नारा यस्तै हो । भारतमा हिन्दु अतिवादीहरूको शासन, जापानमा राष्ट्रवादी र युरोपमा फेरि एकपल्ट संकुचित राष्ट्रवादको लहर चलेको छ ।

फ्रान्सका राष्ट्रवादी मेरली पेन हुनु वा बेलायतका नाइल फराज सबैले ट्रम्पसँग आफ्नो मस्तिष्कको केमेस्ट्री मिल्ने बताएका छन् । निकट भविष्यमा चुनाव हुने नेदरल्यान्ड वा जर्मनीमा मात्र होइन अस्ट्रियामा पनि यो लहर छ । यस बेला सबैले सोच्नुपर्ने भएकोे छ, भूमण्डलीकरण वा एउटा विश्वको अवधारणा किन असफल भयो ?

बेलायत युरोपियन युनियनबाट अलग हुनु र ट्रम्पको विजय हुनु- यी दुवैमा भूमण्डलीकरण र आप्रवासी समस्याबाट पीडित रैथानेहरूको हात छ । विश्व व्यवस्थालाई नै चुनौती दिँदै अगाडि बढिरहेको चीन नै अब अमेरिकापछिको महाशक्ति हो । विश्व अब उत्तर अमेरिकी भइसकेको कुरा सीएनएनका प्रस्तोता र अन्तर्राष्ट्रिय मामलाका विज्ञ फरिद जाकरियाले लेखिसकेका छन् । यो अनिश्चयले भरिएको उत्तर अमेरिकी संसारमा ट्रम्पले कस्तो नेतृत्व दिने ? उनी समाधानकर्ता बन्ने हुन् कि समस्याको अंग बन्ने हुन् ? पश्चिम अहिले संकटमा छ ।

साम्राज्यको विनिर्माण

विश्वको सबैभन्दा ठूलो आर्थिक सैन्य र राजनीतिक शक्ति अमेरिकालाई फेरि एकपल्ट महान् बनाउनुपर्ने नारा ट्रम्पले चुनावमा दिए । यसको अर्थ पहिले अमरिका महान् थियो, अहिले छैन । त्यसलाई फेरि महान् बनाउनुपर्छ । वामपन्थी चिन्तकहरूको नजरमा साम्राज्य भनिएको अमेरिकाको विनिर्माण गर्न चाहन्छन् ट्रम्प । साधनस्रोत सम्पन्न, रोजगारपूर्ण समाज, सुखी र वैभवशाली अमरिकी ट्रम्पको चाहना हो ।

यसमा ट्रम्पको गोरा जातिवादी र सांस्कृतिक श्रेष्ठताको अहम लुकेको छ । अमेरिका एक्लो राष्ट्रमात्र होइन, यो पश्चिमको नेता पनि हो । सांस्कृतिक र धार्मिक पहिचान व्याप्त भएको वर्तमान विश्वमा ट्रम्पको यो नाराले अमेरिकाको वर्चस्व र उसले थाम्दै आएको विश्व व्यवस्था सधैंभरि उस्तै रहँदैन । यसमा परिवर्तन आवश्यक छ । तर, अराजकतावादी वामपन्थी तथा भाषाशास्त्री नोम चम्स्की भन्छन्- अमेरिकी संस्कृति संसारको सबैभन्दा पुनरुत्थानवादी संस्कृति हो ।

साम्राज्यको विनिर्माणमा लागेका ट्रम्प आफ्नो राष्ट्रपति कार्यकालमा दुर्घटनामा पनि पर्न सक्छन् । एक राष्ट्रपतीय इतिहासकार ट्रम्पलाई आफ्नो कार्यकालमा महाअभियोग पनि लाग्नसक्ने बताउँछन् । तर, यो पनि भन्न सकिन्छ- अत्यधिक लोकप्रिय मत डेकोक्रेटिक पार्टीलाई गएको हुँदा ट्रम्पविरुद्ध बलियो जनमत पनि अमरिकामै छ ।

जे होस्, सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा निर्वाचित ट्रम्प एक यस्तो अनिश्चय व्यक्ति हुन् जो अनिश्चयको युगमा विश्वको नेता बन्न पुगेका छन् । स्वतन्त्रता, सम्पन्नता, सुरक्षा र सुखी जीवनको पर्याय बनेको अमेरिकाभित्रै केही गल्ती र कमीकमजोरी रहेको संकेत यस निर्वाचनले दिएको छ । जर्ज बुसको प्रशासनमा नियोकन्जरभेटिभहरूले विदेशनीति अपहरण गरेका थिए । उनीहरूले प्रजातन्त्र र स्वतन्त्रताको विस्तार र सैन्य शक्तिमा जोड दिए । यसर्थ इराकमाथिको आक्रमण सम्भव भयो । इराक र अफगानिस्तानको सैन्य कारबाहीमा ट्रिलियन डलर खर्च गरेर साम्राज्य आर्थिक रूपमा कमजोर बन्न पुगेको छ ।

अमेरिकाले आतंकवादविरुद्धको लडाइँमा इस्लाम उग्रवादीहरूलाई निशाना साँधेर शत्रु निर्माण गर्न खोज्यो । अब ऊसँग त्यस्तो शत्रु पनि विश्वव्यापी रूपमा छैन । शीतयुद्धको बेला साम्यवादी सोभियत र साम्यवाद विस्तार उसको शत्रु थियो । सर्वसत्तावादी र सैन्य तानाशाहविरुद्ध स्वतन्त्रता र प्रजातन्त्र आकर्षक नारा थियो । मानवअधिकारको दार्शनिक आकर्षण थियो ।

अब त्यस्तो विश्व ट्रम्पले पाउनेछैनन् । गोरा जातिवादमा देखिएको नाजीवादी अंश र साम्राज्यलाई महान् बनाउने ट्रम्पका अगाडि युरोप, एसिया र मध्यपूर्वमा जटिल भूराजनीतिक द्वन्द्व र संकट छन् । यस्तो बेला राष्ट्रपति हुन लागेका ट्रम्प विगतका अमेरिकी राष्ट्रपतिभन्दा भिन्न हुनेछन् । चुनावी अभियानमा नारा दिनु र भाषण गर्नु जति सजिलो छ, उति नै गाह्रो ओभाल अफिसमा बसेर साम्राज्यको व्यवस्थापन गर्न हुनेछ । ट्रम्पले देखाउने क्षमता पनि यहीबाट हो । नत्र साम्राज्य झन् संकटमा जानेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.