रंगमञ्च अभिलेख

रंगमञ्च अभिलेख

भनिन्छ, 'यदि तपाईंलाई इतिहास थाहा छैन भने अरू केही पनि थाहा हुँदैन, यतिसम्म कि कुनै पात रूखको एउटा भाग हो भन्ने पनि ।' इतिहासको गरिमा र महत्त्वलाई दर्शाउन यो भनाइ काफी छ । सभ्यताको पदचाप इतिहास हो र इतिहास लेखनको प्राण अभिलेख । तर, समीक्षकहरू हाम्रोमा अभिलेखनको संस्कार कम भएको कुरा स्वीकार्छन् । रंगमञ्चको मात्र होइन समग्र नेपाली साहित्यकै अभिलेखन फितलो छ भन्छन् साहित्य-इतिहासकारहरू ।

भनिन्छ, नेपाल नाटक र रंगमञ्चको उर्वर भूमि हो । यद्यपि त्यसको गहन विमर्श हुन नसक्नुमा कुनै खास कारण छ भने पहिलो कमजोर अभिलेखन र दोस्रो अल्पइतिहासचेत । नेपाली रंगमञ्चको इतिहासलाई चल्तीको डुंगाजस्तै मान्नेहरू पनि छन्- हिँड्ने अनि पाइला मेट्ने । पाइलामात्रै होइन अगाडि बढेपछि पूर्वाद्र्धको प्रस्थानबिन्दु पनि भुलिदिने । जानकारहरू यो संस्कार झन्डैझन्डै साहित्य-इतिहासलेखनमा पनि लागू हुन्छ भन्छन् ।

भनिन्छ, साहित्यको इतिहास-लेखन अन्य विधाजस्तो रसिलो नभएर खल्लो हुन्छ । यस्तै अभाव र शून्यताबीच लामो समयदेखि रंगमञ्चबारे खोज, अनुसन्धान गरिरहेका कृष्ण शाह 'यात्री'ले पाठकमाझ नयाँ किताब ल्याएका छन्, 'नेपालको रंगमञ्च ः विगत र आगत' । किताब आफैंमा महत्त्वपूर्ण दस्तावेज बन्न पुगेको छ ।नेपाली रंगमञ्चको विषयमा यसअघि पनि केही किताब प्रकाशित भएका थिए- रमण घिमिरेको 'एक दर्जन एक', अभि सुवेदीको 'नेपाली थियटर एज आई सी इट', घिमिरे युवराजको 'रूपान्तरणका लागि रंगमञ्च' आदि ।

शिल्पी थिएटरबाट 'रंगसमीक्षा' नामक पत्रिका पनि प्रकाशन भइरहेको छ । समालोचनात्मक दृष्टिले केशवप्रसाद उपाध्यायको 'नाटक र रंगमञ्च', 'नेपाली नाटक तथा रंगमञ्च उद्भव र विकास', रामचन्द्र पोखरेलको 'नेपाली नाटक सिद्धान्त र समीक्षा', अशेष मल्लको 'सडक नाटकः सिद्धान्त, सिर्जना र प्रस्तुति' आदि पनि यस सन्दर्भका उल्लेख्य सामग्री हुन् । रंगमञ्चमा मोहनहिमांशु थापा, गोविन्दसिंह रावत, कान्छी महर्जन, सावित्री मल्ल कक्षपति आदिका प्रयास पनि थोरबहुत देखिएकै हुन् । यी सबै प्रयासमा हालसम्मको सबैभन्दा बृहत्, संगठित र विस्तृत अभ्यास यात्रीले गरेका छन्, जुन निकै चुनौतीपूर्ण काम हो ।

...लेखकको चर्को आलोचना गर्नु राम्रो होइन । आलोचनाको डरले सिर्जनात्मक सुझाव नदिने हो भने लेखक कुहिराको काग बन्न सक्ने खतरा हुन्छ । यति विशाल काम गरेका यात्रीलाई खाली बधाई र शुभकामनामात्रै दिनुपर्ने हो तर यसमा सुझाव दिनुपर्ने एक-दुई पक्ष छन् । पहिलो, यात्रीले 'नेपालको रंगमञ्च विगत र आगत' शीर्षक जुराए, जुन उनले किताबमा उठान गरेभन्दा ज्यादै 'भेग' विषय हो । नेपाल राज्यमा झन्डै एक सय २३ भन्दा अधिक भाषाभाषीका बासिन्दा छन् ।

उनीहरूको आ-आफ्नै रीतिरिवाज, चालचलन, लोकनाटक छन् । 'नेपालको' भन्ने पदले समग्र नेपालमा बस्ने नागरिक, जातजाति, जनजाति, दलितको रंगमञ्चको विगत र वर्तमान भन्ने बोध गराउँछ । अधिकांश विषयवस्तु र इतिहासका घटना नेपाली नाटक-रंगमञ्चको सन्दर्भको मात्रै राखिनुले किताबले उठान गरेको शीर्षक र पाठमा बेतिरेक देखाउँछ । यसैगरी इतिहासकारलाई परेको अर्को चुनौती के पनि हो भने प्रतिनिधि निर्देशक, कलाकार (पुरुष), प्रतिनिधि कलाकार (महिला) छनोट गर्ने कार्य नै निर्विवाद अभ्यास होइन ।

नेपालको रंगमञ्चको अनौपचारिक-औपचारिक हजार अधिक वर्षमा कति निर्देशक थिए भन्ने खोज्नु नै एउटा साहसिक तर जोखिमपूर्ण सोच हो जुन जोखिम यात्रीले उठाएका छन् । लेखकले प्रतिनिधि निर्देशक छनोट गरेका छन् तर आधुनिक नेपाली नाटक-लेखनको समय याने कि बालकृष्ण समको समयभन्दा अगाडि छिर्न सकेका छैनन् । बालकृष्णपूर्वका नाटकको निर्देशकीय अवस्था के थियो ? एउटा जिज्ञाशा कायम नै छ ।

आधुनिक कालखण्डका पनि राम्रो निर्देशकको नाम छुट्न सक्छ । इतिहास तथ्यमा टेकेर लेखिने भएकाले राम्रो व्यक्तिको प्रतिनिधित्व हुने सकेन भने एकातिर इतिहास खण्डित हुन्छ भने अर्कातिर स्रष्टालाई अन्याय हुन्छ । यही जटिलता प्रतिनिधि कलाकार छनोटमा पनि दोहोरिन सक्छ । यसमा सचेत भएर कलम चलाउनुपर्छ । यद्यपि यात्रीले यस कुरामा अधिक सचेत हुँदै निर्देशक-स्रष्टा छनोटको आधारलाई प्रस्ट पारेका छन् ।

यात्रीले पुस्तकमा जे गरेका छन् त्योभन्दा अरू थप खण्डीकरण गरेर नेपाली रंगमञ्चको इतिहास लेखन आवश्यक छ । यसमा मोतीरामपूर्वको रंग गतिविधिलाई एउटा खण्ड, मोतीराम भट्टदेखि बालकृष्ण समको आगमनसम्मलाई एउटा खण्ड र बालकृष्ण समदेखि आजसम्मको रंगमञ्चलाई कम्तीमा दुई खण्डमा अध्ययन गर्न सकिन्छ । आधुनिक र उत्तरआधुनिक रंगमञ्चीय गतिविधि भनेर आधुनिक कालखण्डलाई टुक्र्याउँदा सहज हुन सक्छ ।
...
कुनै बाँझो क्षेत्रमा कलम चलाउने जो कोही पनि साहसिक लेखक हुन् । नेपाली नाटकको टुक्रेटाक्रे इतिहास भए पनि रंगमञ्चको इतिहासका विषयमा निकै कम कलम चलेको सत्य हो । नेपाली रंगमञ्च हिजो कस्तो थियो र आज कसरी अगाडि बढिरहेको छ भन्ने विमर्श गर्न सफल हुनु यस पुस्तकको सुन्दर पक्ष हो । यी सबै कुराको आधार निर्माणका लागि यात्रीको पुस्तक सबल छ । इतिहास कहिल्यै पूर्ण हुँदैन । यद्यपि भविष्यमा अनुसन्धान गर्नका लागि यो किताब गतिलो आधार हो । नेपाली रंगमञ्चको लामो ऐतिहासिक यात्रालाई एउटै पुस्तकमा अटाउन सक्नु इतिहासकारको सकारात्मक पक्ष हो ।

त्यसमा पनि मोफसलका रंगगतिविधिलाई ल्याउन सक्नु पुस्तकको प्रशंसनीय पक्ष हो । पठनपाठन र अनुसन्धानका लागि सामग्री कम भइहरेको सन्दर्भमा विश्वविद्यालयका कक्षाहरूमा यात्रीको यो पुस्तकले निर्धक्क प्रवेश पाउनसक्छ । विद्यार्थी र विदेशी मित्रहरूलाई अब हामी भन्न सक्छौं, यो हो हाम्रो रंगमञ्चको इतिहास । विषय सान्दर्भिक तस्बिरले पुस्तकको गरिमा झन् बढाएको छ । सूचना संग्रहणका दृष्टिले यो काम उत्कृष्ट छँदैछ ।

यसलाई उत्कृष्ट किन भनिएको भने नेपालको रंगमञ्चको इतिहासका घटनावलीको विवरण पाउन व्यापक कठिनाइ छ । हिजो कुन-कुन नाटकमञ्चन भएका थिए ? त्यसको विषयवस्तु के थियो ? निर्देशक को-को थिए ? कलाकारहरू को-को थिए ? दर्शकको प्रतिक्रिया के थियो ? भन्ने कुरा सधैं गौण रहने गरेको छ हाम्रो सन्दर्भमा । यी यावत् पक्षको चर्चा यस पुस्तकमा छ ।

निकै सूक्ष्म घटना र रंग-गतिविधिलाई पनि यसमा समेट्न सक्नु किताबको सबल पक्ष हो जुन प्राप्त गर्न ठूलै धीरता चाहिन्छ । यो विश्लेषणात्मक या आलोचनात्मक इतिहास होइन, विवरणात्मक कार्य हो । सूचनात्मक कार्य हो । लेखक-निर्देशक, कलाकार र दर्शकको रंगमञ्चीय गतिविधिलाई अभिलेखन गर्न जटिल किन पनि किन छ भने यो सामूहिक कार्य हो । यहि जटिलतालाई सहजतामा परिणत गरेका छन् यात्रीले ।

नाटक क्षेत्रमा लागेका रंगकर्मीलाई आफ्नो कार्यको अतीत मूल्यांकन, स्मृति र आफ्नो कर्मको अनुक्रम अवलोकन गर्न यस कार्यले यथेष्ट सहयोग गर्नेछ । निर्देशक, कलाकारले यस किताबमा आफ्नो योगदान र कर्मको प्रतिबिम्ब भेट्टाउनेछन् । यस क्षेत्रका अनुसन्धाताले नेपाली रंगमञ्चबारे आधारभूत सामग्री र अगाडि बढ्ने बेसलाइन भेट्टाउनेछन् ।

प्राध्यापक-विद्यार्थी-नाटककार-निर्देशक र नाटकका विषयमा रुचि राख्ने जो कोहीले पुस्तक संग्रहण गर्नेछन् ।...लिच्छविकालदेखि नै नेपालमा रंगमञ्चको अनौपचारिक अभ्यास रहेको इतिहासकारहरूको मत छ । त्यस समयको राजनीतिक त इतिहास खण्डित अवस्थामा भेटिन्छ भने रंगमञ्चको ठोस इतिहास नपाइनु स्वाभाविक छ । सात खण्डमा विभक्त 'नेपालको रंगमञ्चः विगत र आगत'मा लिच्छविकालीन रंग-गतिविधिको साथै अन्य सैद्धान्तिक एवं व्यावहारिक पक्षको विमर्श गरिएको छ । पहिलो खण्ड रंगमञ्चको सैद्धान्तिक स्वरूपमा केन्द्रित छ ।

रंगमञ्च के हो ? यसको अवधारणा के-कसरी विकसित भएको छ ? नाटकसँग यसको सम्बन्ध कस्तो हो ? आदि विषयमा यस परिच्छेदमा उल्लेख छ । रंगमञ्चका आधारभूत अवयव, उत्पत्ति र विकास, सैद्धान्तिक अवधारणा, पूर्वीय साहित्यमा भरतको नाट्यशास्त्रम् र अरिस्टोटलको अनुकरण सिद्धान्तका साथै रुसी रंगचिन्तक स्तानिस्लावस्कीको अभिनय सिद्धान्तको विषयमा यस परिच्छेदमा चर्चा गरिएको छ ।किताबको दोस्रो खण्डमा नेपाली रंगमञ्चको प्रारम्भिककालको चर्चा छ । नेपाली रंगमञ्चको आरम्भ लिच्छविकाल हुँदै आज निरन्तर छ भनिएको छ ।

यसका साथै मल्लकालीन समयको नेपाली नाटक र रंगमञ्च- त्यसमा पनि भक्तपुर, ललितपुर र कान्तिपुरका रंग गतिविधिलाई छोटकरीमा उल्लेख गरिएको छ । यस परिच्छेदमा लोकनाटक र रंगमञ्चका विषयमा पनि चर्चा गरिएको छ । पृथ्वीनारायण शाहको नेपाल एकीकरण र रंगमञ्चको गतिविधिलाई किताबमा सूक्ष्म ढंगमा लेखिएको छ । त्यसपछि राणाकालीन समयको रंगमञ्च, अनुदित नेपाली नाटक र रंगमञ्च साथै पहलमानसिंह स्वाँरको नाट्यरंग गतिविधिसम्मको चर्चा किताबमा छ । डबली नाटक (दबु प्याख)बारे लेखकले गहिरो अनुसन्धान गरेका छन् ।

नेपाली रंगमञ्चको आधुनिक कालयात्राबारे किताबको तेस्रो परिच्छेदमा चर्चा गरिएको छ । वि.सं. १९९५ देखि २०२९ पहिलो, २०३० देखि २०४६ दोस्रो र २०४७ देखि हालसम्मलाई नेपाली रंगमञ्चको तेस्रो चरण मानिएको छ । यस परिच्छेदमा नेपाली रंगमञ्चका विषयमा भएका अनेकखाले प्रयोगबारे लेखिएको छ । मल्टिमिडियाको प्रयोग, कविता, कथा, निबन्ध, सडक-नाटक, संकेत नाटकमञ्चन साथै धारावाहिक नाटक, नदी रंगमञ्च, पात्र प्रतिक्रियात्मक नाटक, कचहरी तथा गीति एवं लघुनाटकमञ्चनका विषयमा पनि यस परिच्छेदमा छ ।

यहाँ नेपाली रंगमञ्चको परम्परालाई गर्विलो भनी किटान गरिएको छ ।खण्ड चारमा मोफसलमा रहेको रंग गतिविधिका बारेमा समावेश छ । काठमाडौंबाहिरका भोजपुर, सुनसरी, सुर्खेत, मकवानपुर, धनुषा, कास्की, नुवाकोट, पर्वत, धनुषा (जनकपुर) लगायत २२ जिल्लाका रंग-क्रियाकलापलाई यस परिच्छेदमा चर्चा गरिएको छ । लेखक यात्री रंगकर्ममा उपत्यकामात्र होइन मोफसलमा बसेर पनि नाटकलेखन, मञ्चन, निर्देशन उल्लेख्य रूपमा भएको बताउँछन् । पाँचौं खण्डमा नेपाली रंगमञ्चमा क्रियाशील प्रतिनिधि नाट्यनिर्देशकका विषयमा लेखिएको छ ।

आधुनिक नेपाली रंगमञ्चको इतिहासलाई तीन खण्डमा विभक्त गरी तीनै चरणका २५ जना निर्देशककको परिचयसहित चर्चा गरिएको छ भने बाँकी निर्देशकबारे 'अन्य केही नाटक निर्देशकहरू' उप-शीर्षकमा विमर्श गरिएको छ ।खण्ड ६ मा प्रतिनिधि कलाकारका विषयमा चर्चा गरिएको छ । आधुनिककालका तीन चरणमा जम्मा २२ जना कलाकारको विषयमा किताबमा लेख समावेश छ । यसै परिच्छेदमा १५ जना महिला कलाकारबारे पनि उल्लेख गरिएको छ । पुस्तकको अन्तिम वा सातौं खण्डमा सारांश र निष्कर्ष दिइएको छ । अन्तिममा तस्बिर ग्यालरी राखिएको छ ।

...इतिहासलेखन जटिल भए पनि यसतर्फ यात्रीजस्ता केही परि श्रमी व्यक्ति लागिपरिसकेको दृष्टान्त हो यो किताब । इतिहासजस्तो विरसिलो विधामा लेख्नु चुनौतीको ठूलो पहाड थियो, यात्रीले त्यो पहाड नाघेका छन् । जोसँग इतिहासचेतना अन्तर्भूत छ त्यसले मात्र लेख्न सक्छ इतिहास, त्यसमा पनि साहित्य-इतिहासलेखनका लागि साहित्यिक भावक र इतिहासचेत दुवै समानान्तर रूपमा हुनु जरुरी छ । यात्रीसँग नाट्यचेत, इतिहासचेत र साहित्यचेत सँगसँगै छ भन्ने किताबमा उनले गरेको विशद मेहनतले देखाउँछ ।नेपालको रंगमञ्चः विगत र आगत

लेखकः कृष्ण शाह यात्री
प्रकाशकः नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान
पृष्ठः ५२०
मूल्यः ६५०-


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.