जहाँबाट राज्यको अक्षमता चियाउँछ

जहाँबाट राज्यको अक्षमता चियाउँछ

२०६९ साल पुस ४ गते राति अछाम रिडिकोट-४ की शर्मिला भुल (१५) ले महिनावारी भएकै बेला छाउगोठमा ज्यान गुमाइन् । उनले ज्यान गुमाएपछि त्यहाँ छाउगोठ भत्काउने अभियान चलाइयो । ठीक चार वर्षपछि २०७३ साल मंसिर ३ गते तिमिल्सेन-७ की डम्मरा उपाध्याय (२१) ले राति महिनावारी भएको बेला छाउगोठमै ज्यान गुमाउनु पर्‌यो । दुवैले जाडो महिनामा ज्यान गुमाए ।

चार वर्षपछि फेरि उस्तै घटना दोहोरिएपछि 'अछाम जिल्ला छाउगोठ मुक्त जिल्ला भयो' भनी घोषणा गर्नेका लागि ठूलो चुनौती भएको छ । सात वर्षपहिला अछाम पुग्दा सदरमुकाम नजिकका गाउँमा समेत छाउगोठ देखिन्थे । छ महिनापहिला पुग्दा 'छाउगोठ मुक्त जिल्ला' गठन भइसकेको थियो ।

मध्यपश्चिम र सुदूरपश्चिका जिल्लाहरूमा महिनावारी भएका महिलालाई घरबाट अलग्गै 'छाउगोठ'मा राखिन्छ । सुदूरपश्चिममै हुर्केकाले मेरा लागि छाउगोठ अपरिचित होइन । त्यसकारण पनि समाचारमा यस्ता घटना पढ्दा, सुन्दा आफैंमाथि भएजस्तो लाग्छ । सुदूरपश्चिमका पहाडी जिल्लाबाट यो कुप्रथा कैलाली र कञ्चनपुरमा पनि बसाइँ सर्‌यो । शिक्षा, स्वास्थ्य र सुविधाको हिसाबले पहाडी जिल्लाभन्दा राम्रो मानिएका यी जिल्लामा बसाइँ सरी आउनेले 'छाउगोठ' पनि ल्याएका थिए ।

केही वर्षअघि कञ्चनुपरमा 'छाउगोठ' अभियान चलेको बेला म फोटो खिच्न पुगेकी थिएँ । छाउगोठ भत्काउँदा बिच्छी, करेत सर्पसमेत निस्केको देखेँ । भौतिक स्वरूपका 'छाउगोठ' भत्काइए पनि मानसिकतामा रहेका छाउगोठ भत्काउन सकिएनछ । फेरि बने छाउगोठ ।

अहिले पनि सुदूरपश्चिमका धेरैजसो पहाडी जिल्लामा महिनावारी भएको बेला केटीहरू स्कुल जाँदैनन् । स्कुल जाँदा बाटोमा देउताको मन्दिर पर्छ र त्यो बाटोमा हिँडेर जाँदा देउता लाग्छ भन्ने त्रास फिँजाइएको छ । पहाडी क्षेत्रका महिलाहरू अहिले पनि मन्दिरनजिक भएको बाटो छलेर मन्दिरलाई माथि पारी अप्ठ्यारो तल्लो बाटो घाँस बोकेर हिँड्छन् । महिनावारी भएको बेला बजार जाँदैनन् ।

कैलाली र कञ्चनपुर जिल्लाका केही ठाउँमा अहिले पनि महिनावारी भएको बेला चार दिनसम्म गाईको दूध खान दिँदैनन् । महिनावारी भएका महिलाले गाईको दूध खाएमा दूध सुक्छ भन्ने भ्रम छ । हरियो लहरेबेला, फलफूलका बोटहरू छुनु हुँदैन, छोए सुक्छ भन्ने मान्यता छ । महिनावारीका बेला जिल्ला छोडेर जानु हुँदैन भन्ने अर्को भ्रान्त धारणा उत्तिकै व्याप्त छ आजपर्यन्त ।

छाउगोठसँगै जीवित यस्ता भ्रान्तीहरूले जेलिएको छ मध्य र सुदूरपश्चिमेली महिलाको जीवन । हरेक महिनाको प्राकृतिक प्रक्रिया उनीहरूका लागि जीवनमरणको प्रश्न बनेर आउँछ । मासिक स्रावबाट उन्मुक्ति पाएको दिन नयाँ जीवन पाएको महसुस गर्छन् उनीहरू ।

रारा ताल, घोडाघोडी ताल, विभिन्न ऐतिहासिक र पुरातात्त्विक सम्पदा बोकेर बसेको मध्य र सुदूरपश्चिम आफैंमा कुरूप छैन । प्रकृतिले यसलाई कतै पनि अन्याय गरेको छैन । अनेकन सम्पदा र सौन्दर्य उपहार दिएको छ यसको पोल्टोमा पनि । तर, कुप्रथाको अन्धकारमा अँध्यारो जीवन बिताउन विवश चेलीहरूको आँसु बदनामीको बिल्ला बनेको छ । विडम्बना !

त्यस्तै अन्धकारको सँघार नाघेर देशको उच्च ओहोदामा पुगेका मानिसहरूले समेत यो कुप्रथालाई निमिट्यान्न पार्न सकेका छैनन् । मन्त्री र प्रधानमन्त्री भइसकेका मानिसहरूले समेत आफ्नै आँगनको कुप्रथा नहटाउनु नसकेर त पक्कै होइन, नचाहेरै हुनुपर्छ । हरेक महिना प्राकृतिक प्रक्रियाबाट गुज्रिँदा मृत्युसँग सिँगौरी खेल्नुपर्ने विवशता कायम राख्ने हाम्रा अधिकारसम्पन्न मान्यवरहरूको अक्षम अनुहार देखाइदिने ऐना कहाँ पाइन्छ ? छाउपडी मृत्युको कारखानामात्र होइन, यो त्यही ठाउँ हो जहाँबाट राज्यको अक्षम अनुहार चियाउँछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.