भारतीय दूतावासमा नारा लाग्यो, ‘राजदूत रेलाई देश निकाल’
काठमाडौं: संविधान संशोधन प्रस्तावको विधेयक भारतीय योजनामा आएको भन्दै एमाले निकट युवा संगठनले भारतीय दूतावास अगाडि दुई घण्टा चक्का जाम गरेका छन् । अनेरास्ववियु र युवा संघले भारतीय राजदूतावास छिर्ने बाटो लैनचौर क्षेत्रमा चक्काजाम गरेका हुन् ।
शनिबार बिहान १० देखि १२ बजेसम्म भारतीय राजदूतको अस्वभाविक चलखेल र हस्तक्षेप विरुद्ध युवाहरुले चर्को नाराबाजी गरेको युवा संघले जनाएको छ । ‘भारतीय चलखेल बन्द गर’, ‘भारतीय राजदूत रञ्जीत रेलाई देश निकाला गर’, ‘भारतीय हस्तक्षेप मुर्दावाद’ लगायतका नारा लगाएर युवाहरुले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनपछि युवा संघका प्रवक्ता प्रभातविक्रम कटवालले भारतीय राजदूतलाई पदीय मर्यादाको सम्मान गर्न खबरदारी गरेको बताए । ‘केही नेतालाई प्रलोभनमा पार्न भारतीय राजदूतले सञ्चालन गरेका गतिविधिविरुद्ध प्रदर्शन गरेका हौँ, प्रवक्ता कटवालले भने, ‘राजदूतले पदीय मर्यादामा बस्नुपर्छ, नेतालाई दैनिक रात्रिभोज दिएर राजनीतिक हस्तक्षेप गर्नु हुँदैन भन्ने हाम्रो माग हो ।’
कांग्रेस र मधेसवादी दलका केही नेतालाई भारतीय दूतावासमै बोलाएर संविधान संशोधन प्रस्तावको पक्षमा समर्थन गर्न उर्दी जारी गरेको, नेपाललाई सिक्किमिकरण गर्न भारतले षड्यन्त्र सुरु गरेकोलगायत आरोप एमाले युवा संगठनका नेताको छ ।
प्रदर्शनमा अनेरास्ववियुका महासचिव ऐन महरलगायतका नेता सहभागी थिए भने युवा संघका प्रवक्ता कटवाल, महासचिव किरण पौडेललगायतका नेता उपस्थित थिए ।