अनिश्चितकालिन बन्दले गुल्मीको जनजीवन प्रभावित
गुल्मीः व्यवस्थापिका संसदमा दर्ता भएको संविधान संशोधन विधेयकले सधैँ व्यस्त रहने तमघास बजार चार दिनदेखि ठप्प छ । लामो तथा छोटो दूरीका सवारीसाधान चल्न सकेका छैनन् । एम्बुलेन्स र प्रेसका सवारी साधनमात्र फाट्टफुट्न चलेका छन् ।
बजारका सबै ब्यापारी र उद्योगी पसल र उद्योग बन्द गरेर आन्दोलनमा छन् । माग पूरा नभएसम्म बजार, पसल र उद्योग नखोल्ने प्रदर्शनकारीको अडान छ ।
सरकारले ५ नम्बर प्रदेश छुट्याउने गरी संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोधमा शनिबार बिहान पनि प्रदर्शन जारी छ । गुल्मी, पाल्पा र अर्घाखाँचीलाई ५ नम्बरबाट अलग गराउने सरकारको प्रस्तावविरुद्ध सम्पूर्ण गुल्मीवासी आन्दोलनमा उत्रिएका हुन् ।
बन्दका कारण तमघाससहित गाउँगाउँका बजार ठप्प छन् । चार दिनदेखिको बन्दले अत्यावश्यक सामाग्रीको अभाव सुरु भएको स्थानीयवासीको भनाइ छ ।
समस्या सुरु भए पनि प्रदर्शनकारीले भने संविधान संशोधन प्रस्ताव फिर्ता नभएसम्म आन्दोलन नरोकिने बताउदै आएका छन् ।