बोल्ट छठौं पटक वर्षको सर्वोत्कृष्ट पुरुष एथलेटिक्स खेलाडी घोषित
लन्डन: जमैकन धावक उसेन बोल्ट छैठाैं पटक वर्षको सर्वोत्कृष्ट पुरुष एथलेटिक्स खेलाडी घोषित भएका छन्। अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघ (आईएएएफ)ले उनलाई शुक्रबार छैठौं पटक वर्षको सर्वोत्कृष्ट खेलाडीबाट सम्मानित गरेको हो।
हालै ब्राजिलको रियो दी जेनेरियोमा सम्पन्न संस्करणमार्फत ओलम्पिक खेलकुदमा ‘ट्रिपल ट्रिपल’को सफलता हात पारेका बोल्टलाई आईएएएफका अध्यक्ष सेबास्टियन कोएले अवार्ड हस्तान्तरण गरेका थिए।
‘यो बास्तवमै ठूलो सम्मान हो। जब तपाईं वर्षको सर्वोत्कृष्ट खेलाडीको अवार्ड जित्नुहुन्छ, अनि वर्षभरि आफूले गरेको कडा मेहनतको प्रतिफल प्राप्त भएको महसुस हुन्छ’, सम्मानित भएपछि बोल्टले भने। उनले छैटौं अवार्ड आफ्ना लागि पहिलो अवार्ड जत्तिकै महत्वपूर्ण रहेको पनि बताए । बोल्टले एक सय, दुई सय र एक सय मिटर चार गुणा रिलेमा लगातार तेस्रो ओलम्पिक खेलकुदमा स्वर्ण जितेर ‘ट्रिपल ट्रिपल’को सफलता हात पारेका थिए ।
अर्काे वर्ष लन्डनमा हुने विश्व च्याम्पियनसिपपछि सन्न्यास लिने घोषणा गरिसकेका ३० वर्षीय बोल्टले यसअघि पहिलोपटक सन् २००८ मा यो अवार्ड जितेका थिए । बोल्ट त्यसपछि सन् २००९, २०११, २०१२ र २०१३ मा पनि वर्षको उत्कृष्ट एथलेटिक्स खेलाडी चुनिएका थिए ।
रियो ओलम्पिकमा १० हजार मिटर दौडमा स्वर्ण जितेकी इथियोपियाकी अल्माज याना महिलातर्फकी वर्षको सर्वोत्कृष्ट एथलेटिक्स खेलाडी भएकी छन् । यानाले २३ वर्ष पुरानो विश्वकीर्तिमानलाई समेत आफ्नो नाममा लेखाएकी थिइन्। यानाले यसअघि चीनकी वाङ जुवान्छियाको नाममा रहेको कीर्तिमानलाई १४ सेकेन्डले पछि पारेकी थिइन्।
विश्वभरका एथलेटिक्स ‘फ्यान’को भोटिङमार्फत पुरुष र महिलातर्फको विजेता खेलाडी चुनिएको आईएएएफले जनाएको छ ।