कसरी परिचालन गर्ने नेपाली सेनालार्इ
राजनीतिक अस्थिरता र विनाशकारी भूकम्पको कारण चरम आर्थिक मन्दीको साथै नयाँ संविधान घोषणाबाट उत्पन्न परिस्थितिमा राष्ट्रको सार्वभौमसत्तामाथि विभिन्न कोणबाट प्रहार भइरहेको छ । संविधान संशोधनको नाममा अनावश्यक अस्थिरता निम्त्याउने, नेपालीको स्वाभिमान र राष्ट्रियतामा खलल पुर्याइदिने, संघीयताको नाममा भौगोलिक र सामाजिक सद्भाव बिथोल्ने, जातीयता र क्षेत्रीयताको विष रोप्ने काम भइरहेको छ ।
जुनसुकै जात, वर्ण, लिंगको भए पनि म नेपाली हुँ, मेरो मातृभूमि नेपाल हो भन्ने भावना नेपाली हुँ भनेर गर्व गर्ने सबैमा हुनुपर्छ । यतिबेला सबै नेपालीले राष्ट्र हितलाई सर्वोपरि ठानी हाम्रा सबै शक्ति, स्रोत, साधन एवं हामीमा भएको ज्ञान, सीप र क्षमता राष्ट्र निर्माणमा होम्नुपर्ने चुनौतीपूर्ण समय आएको छ ।
नयाँ संविधान घोषणाका साथै भूपरिवेष्टित राष्ट्र हुनुको कारण झेल्नुपरेको नाकाबन्दी र इतिहासका सन्धिसम्झौताले सिकाएको पाठलाई मनन गर्दै सक्दो आत्मनिर्भरता बढाउने र परनिर्भरता घटाउने रणनीति अवलम्बन गर्नु हाम्रो बाध्यता भएको छ । भनिन्छ, बुद्धिमान व्यक्तिले अरूको गल्तीबाट पाठ सिक्छ, मूर्खले आफ्नै गल्तीबाट सिक्छ । विगतका नाकाबन्दी एवं सन्धिसम्झौताबाट पाठ सिक्न नसक्ने हामी पक्कै पनि विवेकीको कित्तामा पर्दैनौं होला ।
देश भूपरिवेष्ठित मात्र होइन, प्रचुर जलस्रोत, पर्यटकीय सम्भावना, भौगोलिक विविधताका कारण पाइने जडीबुटी र वन पैदावार, कृषि र पशुपालनको सम्भावनाको अतिरिक्त पर्याप्त मानव स्रोतका कारण हामी गरिब र अभागी देशको पंक्तिमा उभिनु पर्दैन ।
नेपालको भूराजनीतिक स्थिति र जलस्रोतको प्रचुरताका कारण नेपालमा राजनीतिक अस्थिरता आइरहनु सामान्य देखिन्छ । बहुजातीय, बहुसांस्कृतिक र बहुभाषिक समाजका कारण हाम्रो राष्ट्रियतामा बेलाबेलामा चुनौती आइरहेका छन् । भविष्यमा पनि दोहोरिने क्रम जारी नै रहन्छ ।
विनाशकारी भूकम्पबाट उत्पन्न दैवी विपत्तिका बेला होस् वा पुनर्निर्माणको छोटो समयमा सामूहिक वासस्थान निर्माण गरेर होस् वा हिमतालको पानी सुरक्षित तरिकाले व्यवस्थापन गरेर, नेपाली सेनाले आम नेपालीको मन जित्न सफल भएको छ । राष्ट्रिय विपत्तिको बेला सेनाले देखाएको समर्पण र बहादुरीको राष्ट्रवासीले मुक्तकण्ठले प्रशंसा गर्दै आएका छन् ।
हालैको राजनीतिबाट उत्पन्न नाकाबन्दीले नेपालीलाई नारकीय जीवन बिताउन बाध्य बनाएको थियो । यस्तो दुःखको घडीमा राष्ट्रिय शक्तिको महत्त्वपूर्ण संयन्त्रको रूपमा रहेको नेपाली सेनाको अहं भूमिका छ, रहिरहनेछ ।
नेपालको एकीकरणदेखि ००७, ०१७, २०३६, ०४७ र ०६३ का राजनीतिक परिवर्तनलाई सेनाले सुझबुझका साथ जनचाहनाअनुसार आत्मसात गर्दै आएको छ । हो, यतिबेला परिवर्तनले उग्र मोड लिएको छ । राष्ट्र प्रमुखको रूपमा रहेका राजालाई विस्थापित गरी राष्ट्रपतिको व्यवस्था गरिएको छ । जनताले चुनेर पठाएका जनप्रतिनिधिले नयाँ संविधान निर्माण गरी जारी भएको पनि एक वर्ष बितिसक्यो । देश संघीयतामा गएको छ ।
नयाँ संविधानमा घोषित संघीयता र अन्य विविध पक्षको सफल कार्यान्वयन पक्ष बाँकी नै छ । पार्टीहरू राष्ट्रिय मुद्दामा एउटै सोच राख्न नसक्ने, राष्ट्रिय हितभन्दा पार्टी हितलाई सर्वोपरि ठान्ने, घरभित्रको समस्या भित्रैबाट सुल्झाउनुको साटो पराई गुहार्दै हिँड्ने बानीले हाम्रो राष्ट्रियता कमजोर हुँदै गएको छ । पराई हाबी हुँदै गएका छन् । 'अर्काको बुद्धिले राजा हुनुभन्दा आफ्नो बुद्धिले जोगी हुनु ठीक' भन्ने उखानको पनि मर्म होला नि ?
नेपाली सेनासँग राष्ट्रियदेखि अन्तर्राष्ट्रिय क्षेत्रको समेत अनुभव छ । सेनामा सेवारत तथा सेवानिवृत्त अधिकृतले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उच्च स्तरको तालिम प्राप्त गरेका छन् । तल्लो दर्जाका सैनिकले पनि विभिन्न ट्रेडमा तालिम हासिल गरेकाले पनि यो शक्ति अनुशासित मानव स्रोत नै हो ।
आधुनिक नेपालको समस्या भनेकै आर्थिक अनियमितता, भ्रष्टाचार अक्षमता, कमजोर व्यवस्थापन, राजनीतीकरण र समयको पाबन्दी बुझ्न नसक्नु हुन् । नेपाली सेना उपरोक्त सबै समस्याको समाधान कदापि होइन । तर नेपाली सेना संस्थाको रूपमा र यसले उत्पादन गरेको मानव जनशक्ति नेपालमा उपलब्ध जनशक्तिमध्ये सर्व श्रेष्ठ-उत्तम अवश्य हो ।
नेपाली सेना सिंगो संस्था र यसले उत्पादन गरेको जनशक्तिले नेतृत्व र व्यवस्थापनमा लामो अनुभव प्राप्त गरेको छ । निवृत्त भएका अधिकृतलाई एउटा उचित जिम्मेवारी र त्यसलाई आवश्यक पर्ने स्रोत साधन र काम सम्पन्न गरी सक्नुपर्ने समयावधि तोकिदिएमा आगामी १० वर्षभित्र कुनै सार्क मुलुकभन्दा नेपाल कम हुने छैन । बिर्सन नहुने तथ्य केहो भने सार्क क्षेत्रको सबैभन्दा जेठो र संयुक्त राष्ट्रसंघ शान्ति सेनामा सेवा गर्ने पहिलो सेना नेपाली सेना हो, यसको राष्ट्रहितबाहेक कुनै स्वार्थ छैन ।
यस्तो पवित्र राष्ट्र सेवामा सेनाबाट अवकाश प्राप्त व्यक्ति मात्र नभएर अन्य सुरक्षा निकायका व्यक्तिलाई पनि सहभागी बनाउँदा सर्वसाधारणको तुलनामा अनुभवबाट खारिएका व्यक्ति बढी असरदार निर्विवाद हुन्छन् । विभिन्न निकायमा प्राप्त ज्ञानबाट कार्यक्षेत्रमा प्रतिस्पर्धा र सन्तुलन पनि हुन्छ । अमेरिका, युरोप, अफ्रिका, दक्षिण अमेरिका र हाम्रा छिमेकी मुलुक भारत, पाकिस्तान, बंगलादेश तथा मलेसिया र इन्डोनेसियामा यस्तो जनशक्तिको उच्च प्रयोग भइरहेको छ ।
अवकाश प्राप्त जनशक्ति सबै सक्षम र चरित्रवान् नै हुन्छन् भन्ने पनि सत्य होइन । जिम्मेवारी दिँदा योग्य र स्वच्छ छवि भएका व्यक्ति छनौट गर्दा नेपाली सेनाको विभागीय अभिलेखलाई मध्यनजर राखेर छनोट गर्दा उत्तम हुन्छ । राष्ट्र निर्माणमा पारदर्शी, जवाफदेही, राष्ट्रिय चिन्तन बोकेको, रचनात्मक र सकारात्मक जनशक्तिको खाँचो हुन्छ । नियुक्ति गर्दा पहिलो वर्ष परीक्षणकालको रूपमा नियुक्ति दिने र राम्रो क्षमता प्रदर्शन गरेमा मात्र स्थायी नियुक्ति दिने गर्दा प्रभावकारी हुन्छ ।
यस्तो जनशक्तिलाई राज्यले चुनौतीपूर्ण क्षेत्रको जिम्मेवारी दिने कि, जुन क्षेत्रमा व्यवस्थापकीय चुनौती देखा परिरहेका छन् । नेपाल आयल निगम, नेपाल वायु सेवा निगम अथवा जनसरोकारका आधारभूत आवश्यकता परिपूर्ति गर्ने क्षेत्रजस्तै ग्याँस, कृषि मल जसको आपूर्तिमा कालोबजारी हुन्छ अथवा समयमा उपलब्ध नहुँदा ठूलो मर्का पर्छ ।
सेनालाई दिन सकिने जिम्मेवारी
सेनालाई भूकम्पपश्चात् पुनः निर्माणको क्षेत्र । सडक निर्माण, साना जलविद्युत् आयोजना, साना सिँचाइ आयोजना, पूर्व-पश्चिम रेलमार्ग, राष्ट्र सेवा रणनीति जस्ता जिम्मेवारी दिन सकिन्छ । नेपाल कृषि प्रधान देश हो । सिँचाइको लागि पानीको स्रोत छ, तर सिँचाइ नहुँदा खेतीयोग्य भूमि टारमा परिणत भएका छन् । काम गर्ने जनशक्ति पनि कृषिबाट गुजारा नचल्नेदेखि विदेश पलायन भएको छ । खाद्यमा परनिर्भरता बढेको छ ।
सिँचाइमा केही गरेर सेनाले खाद्य सामग्री उत्पादन गर्न योगदान पुर्याउने ठूलो सम्भावना छ । नेपाली सेनाका अंग ७५ वटै जिल्लामा छन् । हरेक गण/गुल्मलाई सानो सिँचाइ योजनाको जिम्मा एक वर्षभित्र पूरा गर्ने गरी दिएमा एक वर्षभित्र औसत ७५ गोटा योजना सम्पन्न हुन सक्छन् । आगामी १० वर्षमा ७५० सिँचाइ योजना पूरा हुन्छन् । यसबाट नेपाललाई कृषिमा आत्मनिर्भर बन्न ठूलो योगदान पुग्नेछ ।
१४ अञ्चलमा १/१ वाहिनी छन् । हरेक वाहिनीलाई लगभग एक मेघावाटदेखि १० मेघावाटसम्मको विद्युत् उत्पादन जिम्मेवारी दिने हो भने एक वर्षमा १२ साना जलविद्युत् उत्पादन गृह तयार हुन्छन् । १० वर्षमा १२० जलविद्युत् गृह निर्माण हुन्छन् । पृतनाहरूले सिँचाइ र विद्युत् उत्पादनमा समन्वयात्मक र निर्देशनात्मक भूमिका निभाउनु वान्छनीय देखिन्छ । सरकार, पार्टीहरू, जनसमुदाय र सेनाबीच गहिरो चिन्तनमनन भएमा यस्ता धेरै कार्य क्षेत्र पहिचान गर्न सकिन्छ ।
सेनाका अवकाशप्राप्त जनशक्तिलाई दिन सकिने जिम्मेवारी
भूकम्पपछिको पुनर्निर्माणको क्षेत्र, रासायनिक मल उत्पादन उद्योग, (हरेक संघीय राज्यमा एकका दरले) । कृषि सामग्री उत्पादन उद्योग (हरेक संघीय राज्यमा एकका दरले) । सार्वजनिक यातायात, नेपाल आयल निगमका डिपोमा र केन्द्रीय जिम्मेवारी, सवारी इन्धन आयात र वितरण, कपडा उत्पादन क्षेत्रमा/गार्मेन्ट उद्योग, कृषिसम्बन्धी उत्पादन उद्योग, कुनै पनि शैक्षिक क्षेत्रमा (प्राविधिक तथा साधारण), राष्ट्रिय सुरक्षा सल्लाहकार÷संघीय राज्य सुरक्षा सल्लाहकार, सेनाभित्र वा अन्य सुरक्षा निकायको तालिम अनुसन्धानका क्षेत्र, कूटनीति, लोकसेवा आयोग, अख्तियार, निर्वाचन आयोग र पार्टीको सुरक्षा सल्लाहकारको जिम्मेवारी सेनाका अवकाश प्राप्त जनशक्तिलाई दिन सकिन्छ ।
अवकासप्राप्त जनशक्तिको वर्गीकरण
उपरथी र सो भन्दामाथिः यो समूहले औसतमा ३५ देखिमाथि ४२/४३ वर्षसम्म सेनामा विभिन्न नेतृत्वदायी एवं व्यवस्थापकीय जिम्मेवारी बहन गरिसकेको हुन्छ । स्वदेशका साथै विदेशमा चल्ने स्टाफ कलेज तालिम र अन्तर्राष्ट्रिय जगत्मा सञ्चालन हुने वार कलेज उत्तीर्ण हुन्छ ।
जुन तालिम सेनाको लागि सबैभन्दा उच्च र ज्यादै महत्त्वपूर्ण तालिम हो । उक्त तालिमको उद्देश्य ग्लोबल पर्सेपेक्टिभमा सैनिक नेतृत्व तयार गर्नु हो, जसले जुनसुकै परिस्थितिमा पनि सबै किसिमको जिम्मेवारी बहन गर्ने सामथ्र्य राख्छ । राष्ट्रसंघअन्तर्गत संसारका द्वन्द्वग्रस्त क्षेत्रमा जिम्मेवारी पदमा रहेर पटकपटक सेवा गरिसकेका हुन्छन् ।
महासेनानी र सहायक रथीः यो समूहले पनि सेनामा ३० देखि ३५ वर्षसम्म नेतृत्वदायी र व्यवस्थापकीय जिम्मेवारी बहन गरिसकेको हुन्छ । स्टाफ कलेज उत्तीर्ण गरेको र स्वदेश एवं विदेशमा महत्त्वपूर्ण जिम्मेवारी बहन गरेको
हुन्छ ।
सहसेनानी सेनानी र प्रमुख सेनानीः तालिम, नेतृत्वदायी र व्यवस्थापकीय भूमिकामा सहायकको रूपमा काम गर्न सक्ने समूह ।
पदिक र अन्य दर्जा (सुबेदार देखि सिपाहीसम्म): सेनामा १६ देखिमाथि ३०/३५ वर्षसम्म सेवा गरिसकेको यो समूहले विभिन्न ट्रेडको सीप सिकेको हुन्छ । विभिन्न महत्त्वपूर्ण जिम्मेवारी लगनशील भई बफादारीका साथ बहन गर्न सक्छ ।
उपसंहार
संसारभरका सेनाको स्वभाव, काम गर्ने शैली प्रायः एउटै किसिमको हुन्छ । दज्र्यानी संरचना र पदअनुसारको योग्यता झन्डै-झन्डै मिल्दोजुल्दो हुन्छ । सैनिकमा गहिरो जिम्मेवारीबोध हुन्छ । चुनौतीपूर्ण कार्यमा कत्ति पनि विचलित नभई डटेर सामना गर्न सक्ने हुन्छन् ।
आफ्नो पेसामा दक्ष हुन्छन् । आत्मबल बलियो हुन्छ । दृष्टि दूर हुन्छ । सक्षम नेतृत्व प्रदान गर्न सक्नु त यो संस्थानको उच्चतम गुण नै हो । सेवारत रहँदा सिकेका, भोगेका अनुभव राष्ट्रको लागि सधैं खाँचो पर्दछ । राष्ट्रिय सेना र यसबाट अवकाश प्राप्त सैनिक सेवाको महत्त्व बुझेर हरेक देशमा सेनालाई प्रयोग गरिरहेको हुन्छ । अवकाशपछि पनि पुनः विभिन्न क्षेत्रमा जिम्मेवारी दिएको हुन्छ । हाम्रो देशमा पनि राष्ट्रिय सेना र अवकाश प्राप्त योग्य जनशक्तिलाई राष्ट्रका खातिर नेतृत्व तथा व्यवस्थापन क्षेत्रमा अधिकतम प्रयोग गरेमा राष्ट्रले विकासको गति तीव्ररूपमा लिन सक्छ ।
-कडेंल नेपाली सेनाका अवकाश प्राप्त उपरथी हुन् ।