आज पाँचौ दिन पनि बुटवल ठप्प
बुटवलः प्रदेश विभाजनको विरोधमा रुपन्देही आज पाचौ दिन पनि ठप्प बनेको छ । संयुक्त संघर्ष समितिले आयोजना गरेको अनिश्चितकालीन बन्दका कारण रुपन्देहीका अधिकांश क्षेत्र सुनसान छन ।
आज बिहान सातबजेसम्म फाटफुट यातायातका साधन चलेपनि त्यसपछि पूर्ण रुपमा बन्द भएका छन । बन्द आयोजकहरु विहानैदेखि सडकमा उत्रिएका छन । एमालेको भातृ संगठन अनेरास्ववियु र युवा संघका कार्यकर्ताहरु बिहानैदेखि सडकमा उत्रिएका हुन ।
पूर्वपश्चिमको मध्यभाग रुपन्देही बन्द हुदा महेन्द्र राजमार्ग हुदै चल्ने यातायातका साधनहरु जिल्लाको सीमामा रोकिएका छन । बुटवलको बन्दले पूर्वपश्चिम यातायात यात्रालाई विच्छेद गरेको छ । सिद्धार्थ राजमार्ग हुदै जाने यातायातका साधन पनि रोकिएका छन । रोजगारीका लागि भारत पुगेर फर्किएकाहरु वेलहिया नाकामा रोकिएका छन ।
बुटवल क्षेत्रमा विहान सञ्चालन हुने शैक्षिक संस्थाहरु पनि चल्न सकेका छैनन । सडकमा बिभिन्न समूहले प्रदर्शन गर्ने कार्यक्रम भने जारी छ ।