आउटरिच नेपाल अन्तर्राष्ट्रिय अवार्डद्वारा सम्मानित
काठमाडौं: आउटरिच नेपालले 'साउथ एसिया इन्डिपेन्डेन्ट एजेन्सी अफ दि इयर २०१६' को अवार्ड प्राप्त गर्न सफल भएको छ । अवार्ड पाउनुअघि आउटरिच नेपालले दक्षिण एसियाका प्रमुख एजेन्सीबीचको प्रतिस्पर्धामा अन्तिम चरणमा प्रवेश गरेर आफ्नो पहिचान कायम गर्न सफल भएको थियो ।
साथै नेपालका लागि यो अवार्ड पहिलो क्याम्पेन अवार्ड भएको कम्पनीको दाबी छ । यस स्पर्धामा विजयी अन्य दुई एजेन्सी भारतीय छन् । कम्पनीले बिगत २३ वर्षदेखि एसिया प्यासिफिक क्षेत्रको विज्ञापन र प्रचारप्रसार उद्योगका लागि प्रदान गरिँदै आएको क्याम्पेन एसिया प्यासिफिक्स एजेन्सी अफ दि एयर अवार्ड्सले यस क्षेत्रका नेतृत्वकर्ता, उत्कृष्ट व्यवस्थापक, कुसल व्यावसायिक कार्यक्षमता भएका एजेन्सीलाई सम्मानित गर्दै आएको छ ।
अवार्डको मुख्य उद्देश्य दक्षिणपूर्वी एसियाका सर्व श्रेष्ठ विज्ञापन कर्मीलाई पुरस्कृत गर्नु हो । यो अवार्ड स्पर्धामा साना ठूला जुनसुकै एजेन्सीले सहभागिता जनाउन सक्छन् । यसको माध्यमबाट सिर्जनशीलतालाई स्थानीय बजार र क्षेत्रगत रूपमा प्रस्फुटन गरी एसिया प्यासिफिक एजेन्सीलाई सञ्जाल विस्तारको अवसर प्राप्त हुनेछ ।