प्रधानमन्त्री प्रचण्डलाई भेट्न बाबुराम भट्टराई र उपेन्द्र यादव वालुवाटारमा
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्रीलाई भेट्न पूर्वप्रधानमन्त्री तथा पूर्वमाओवादी नेतासमेत रहेका भट्टराई र पूर्व परराष्ट्रमन्त्री समेत रहेका यादव वालुवाटार पुगेका हुन् ।
तीन शीर्ष नेताको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
वालुवाटारमा भएको भेटवार्तामा संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्ताव, स्थानीय निकायको निर्वाचनलगायतका विषयमा छलफल भएको छ ।
नेताहरु बीचको भेटमा आन्दोलनरत दलको मागको सुनुवाइ गर्नकै लागि संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव विधेयक कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको छ ।
भेटमा प्रधानमन्त्रीले सरकारले केही दिनमै स्थानीय निकायको निर्वाचनको घोषणा गर्न लागेकाले त्यसमा सहयोग गर्न दुवै नेतालाई आग्रह गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
भेटवार्तामा संयोजक डा भट्टराई र अध्यक्ष यादवले केही दिनअघि संयुक्त रुपमा जारी गरेको विषयमा प्रधानमन्त्री प्रचण्डले चासो राखेका थिए ।
बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच एकताका विषयमा समेत छलफल भइरहेको छ । पूर्वप्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्री समेत रहेका भट्टराई र यादवले प्रधानमन्त्रीसँग गरेको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।