अनशन टुटेपछि

अनशन टुटेपछि

डा. गोविन्द केसीको अनशन बाइसौं दिनमा टुटेको छ यसपटक । सरकार र डा. केसी पक्षबीच यसपटक भएको सहमतिमा प्रायः पुरानै सहमति दोहोरिएका छन् । एमबीबीएस र बीडीएस तहमा अर्को शुल्क व्यवस्था नभएसम्म पुरानै रकम यथावत् रहनेदेखि चिकित्साशास्त्र अध्ययन संस्थानको स्वायत्तता सुनिश्चित गर्ने प्रतिबद्धतामा दुई पक्षले फेरि हस्ताक्षर गरेका छन् । पाँच वर्षमा दसपटक अनशन गर्दा हरेकपटक अनशन कुनै न कुनै सहमति (लिखित या अलिखित) मा टुंगिएको छ ।

फेरिफेरि अनशनमा जानुको अर्थ हो, हस्ताक्षरकर्ता एउटा या दुवै पक्ष आफ्नो हस्ताक्षरप्रति इमानदार रहेनन् । यसपटकको अनशनको अन्त्यमा पनि पुरानै प्रवृत्ति दोहोरिएको छ । अर्थात् दुवै पक्षले सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । सिद्धान्ततः डा. केसीको अनशनको केन्द्रीय विषय या लक्ष्य चिकित्सा शिक्षामा पारदर्शिता तथा स्तरीयता सुनिश्चित गर्नु हो । त्यस्तै विशिष्टता र प्राप्तांकका आधारमा निश्चित कोटामा सरकारी छात्रवृत्ति सुनिश्चित गर्ने मागलाई पनि डा. केसीले उठाउँदै आएका छन् र त्यसको कार्यान्वयनमा व्यवधान आउनुपर्ने कुनै कारण छैन, किनकि त्यो सरकारको नीतिसँग पूर्णरूपमा मेल पनि खान्छ ।

एउटा सत्याग्रहीले सत्याग्रह या अनशन आफ्नो निजी हित र स्वार्थको लागि या कुनै अधिकार आफूमा केन्द्रित राख्नको लागि गर्दैन । त्यो त समाज र राष्ट्रको बृहत् हित तथा अधिकारको लागि गरिएको हुन्छ । डा. केसीले त्यस रूपमा मान्यता पनि पाएका छन् । तर यो अनशन विवादास्पद पनि देखिएको छ । बरियता र योग्यताका आधारमा 'डिन' नियुक्त भएका डा. केपी सिंहले डा. केसीको दबाबमा राजीनामा गरे ।

'मित्रको जीवनरक्षा' का नाममा उनले राजीनामा दिए । वास्तवमा डा. सिंहले एउटा सत्याग्रही चरित्र प्रदर्शन गरे । आफैंमाथि अन्याय भए पनि डा. केसीको जीवन रक्षालाई प्राथमिकता दिएर केसीको जीवनसँगै आफ्नो प्रतिष्ठा पनि बचाए । लाज राखे । डा. सिंहले राजीनामा नदिएको भए ? डा. सिंहको राजीनामा र उनीमाथि दिइएको दबाबले भोलिका दिनमा डा. केसीलाई विवादास्पद नबनाउला भन्न सकिन्न ।

चिकित्साशास्त्र अध्ययन संस्थानको डिन एउटा प्रशासनिक र नेतृत्वदायी पद पनि हो । वरिष्ठतम् डाक्टर मात्र त्यसको लागि योग्यतम् हुन्छन् भन्ने सोच अव्यावहारिक हो । डा. जगदीश अग्रवाल पक्कै पनि वरिष्ठता र अनुभव तथा छविको हिसाबले योग्य छन् त्यो पदको लागि तर जुन दिन एउटा सत्याग्रही एउटा व्यक्तिको विरोध र अर्काको समर्थनलाई अनशनको सर्त बनाउँछ (डिन या कुनै पद नियुक्तिको लागि) उसको अनशनको नैतिक अंश अत्यन्त कमजोर हुन जान्छ । सत्याग्रहीले बेथितिको विरोध गर्छ र पारदर्शी नीतिसँग तथा जवाफदेही पद्धतिको विकासमा योगदान पुर्‌याउँछ । तर डा. सिंह र डा. अग्रवालको मामिलामा डा. केसीले विशुद्ध 'व्यक्तिवादी' अडान लिए ।

तर यो समग्र प्रक्रियाको अन्त्य हस्ताक्षरकर्ता दुवै पक्षको हितमा भएको छ । डा. केसीको ज्यान बचेको छ र सरकारले फेरि एकपटक आफूले स्वीकार गरेका माग कार्यान्वयन गर्ने अवसर पाएको छ । तर यो विषयलाई अनशन र सहमतिको दायराबाट फराकिलो बनाउनु आवश्यक छ, मुलुकमा शिक्षण र चिकित्साशास्त्रमा नेतृत्वदायी भूमिकामा नियुक्तिको लागि कुनै पारदर्शी संयन्त्र बनाएमा चरित्रवान् तथा योग्यहरूले त्यो जिम्मेवारी पाउनेछन् र 'दलीय विद्वान्' हरूले राजनीति गर्ने फुर्सद पाउनेछन् ।

डा. केसीको माग आईओएम र त्रिभुवन विश्वविद्यालयसँग मात्र सरोकार राखे पनि त्यसबाट सरकार र दलहरूले सही निष्कर्ष निकाली शिक्षण र स्वास्थ्य संस्थाहरूलाई भ्रष्टाचार र राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न योगदान पुर्‌याउन सक्ने वातावरण यसले बनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.