अन्तर्राष्ट्रिय पोलर अभियानमा नेपाली शिवकुमार सहभागी
काठमाडौं: स्वीडेनमा हुने अन्तर्राष्ट्रिय पोलर अभियानमा नेपाली शिवकुमार चम्लागाई पनि सहभागी भएका छन् ।
प्रतियोगितामा सहभागी शिव भोटिङ मतका आधारमा चौथो स्थानमा छन् । पछिल्लो समयको गणना अनुसार उनले एक हजार पाँच सय ९० मत पाएका छन् । मत परिणामका आधारमा उत्कृष्ट भए आफूले प्रतियोगिता जित्ने शिवकुमारको विश्वास छ ।
झापाको दमकका स्थानीयबासिन्दा शिवकुमार भन्छन्-'प्रतियोगितामा भोटिङमा अघि बढ्न सके म पहिलो वा दोस्रो स्थानमा आउन सक्छु । यसका लागि सहयोगको अपेक्षा गर्दछु ।'
कुकुरसँगको ३०० किलोमिटरको हिउँमा हुने दौडमा २० जना विभिन्न देशका प्रतिस्पर्धी छन् । यो प्रतिपर्धामा उत्कृष्ठ भएर नेपाली झण्डा स्वीडेनमा फहराउने उनको लक्ष्य छ ।
स्वीडेनको फ्यालसेजन कम्पनीले प्रायोजन गरेको अन्तर्राष्ट्रिय पोलर अभियान कार्यक्रममा सहभागी शिवकुमार नेपालमा ट्रेकिङ गाइडको रुपमा काम गर्दथे ।
यो प्रतियोगितामा सहभागी हुने शिवकुमार नेपालकै पहिलो खेलाडी हुन् ।