संशोधन प्रस्तावकाे विराेधमा बर्दिया सदरमुकाम बन्द
बर्दियाः प्रदेश नम्बर-५ बाट पहाडी जिल्लालाई फुटाउने गरी गरिएको संविधान संशोधन प्रस्तावको विरुद्धमा बर्दियाको सदरमुकाम गुलरिया बन्द भएको छ ।
उद्योग बाणिज्य संघ गुलरिया, बर्दियाको आव्हानमा स्थानीय व्यापारीले बन्द आव्हान गरेका हुन् । बिहानैदेखि भएको बजार बन्दले व्यापारिक प्रतिष्ठानहरु प्रभावित बनेका छन् । बन्दका कारण व्यापार, व्यवसाय लगायत कलकारखाना थप्प हुँदा जनजीवन कष्टकर बनेको छ ।
पहाडलाई ५ नं प्रदेशबाट अलग गर्ने विधेयक औचित्यहीन रहेको भन्दै नेपाल कम्युनिष्ट पार्टी एमाले बर्दियाले पनि विरोध गर्दै आएको छ ।
संविधान संशोधन जस्तो गम्भीर विषयमा प्रर्याप्त छलफल नगरी आधारहीन र हचुवाको भरमा संशोधन प्रस्ताव दर्ता गरेकोमा आपत्ती प्रकट गर्दै नेकपा एमाले जिल्ला समितिका अध्यक्ष हरी ज्ञवालीले संशोधन फिर्ता नलिदाँसम्म आन्दोलन जारी राख्ने बताए ।
प्रदेश नं. ५ मा रहेका पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा र रुकुम जिल्ला फोडेर अर्को प्रदेशमा मिसाउने भन्दै सत्तागठबन्दन दलहरुले संसदमा प्रस्ताव दर्ता गराएको विरोधमा बर्दिया बन्दको आव्हान गरेका हुन् ।