ग्लोबल मेट्रो सिटी बस सञ्चालन
काठमाडौं: भरतपुर नारायणघाट आसपासका क्षेत्रमा सुविधायुक्त सार्वजनिक यातायात सञ्चालन गर्ने उद्देश्यसहित ग्लोबल मेट्रो सिटी बस प्रालि सञ्चालनमा आएको छ । कम्पनीले अत्याधुनिक एवं सुविधासम्पन्न २६ सिटे टाटा ४०७ सिटीबस सञ्चालनमा ल्याएको हो ।
राज्यको नीतिभित्र रही व्यवस्थित यातायात सञ्चालन गर्ने, रोजगारीबाट बञ्चित युवालाई रोजगारीको अवसर प्रदान गर्ने, सरल र सुलभ दरमा यात्रुलाई सुविधा प्रदान गर्ने लक्ष्यसहित उक्त बस सेवा सञ्चालनमा ल्याइएको ग्लोबल मेट्रो सिटी प्रालिका अध्यक्ष बद्रीप्रसाद अधिकारीले बताए । उक्त अवसरमा सिप्रदी ट्रेडिङ प्रालिका सिईओ राजेशप्रसाद गिरीले उक्त नयाँ यातायात सेवाले यात्रु मात्र नभई समग्र पर्यटन क्षेत्रलाईसमेत फाइदा पुग्ने बताए ।
उनले टोल र गाउँको माग अनुरूप यातायातका साधन र सेवालाई थप गर्दै लैजाने बताए । २६ सिटे बसमा यात्रा गर्ने यात्रुको सुविधाका लागि मासिक कार्डको व्यवस्था, सीसी क्यामेरा, मोबाइल चार्ज सुविधा, निःशुल्क वाइफाइ, एलईडी टीभीलगायतका अन्य विभिन्न सुविधा रहेको प्रमुख जिल्ला अधिकारी रामराज सुवेदीले बताए ।