एनएमबी माइक्रोफाइनान्सले २५ प्रतिशत बोनस दिने
काठमाडौं: एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०७२/०७३ को मुनाफाबाट आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ६ लाख पाँच हजार दुई सय ६३ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
सभाले अध्यक्ष उत्तम भ्लोनले प्रस्तुत गरेको आव २०७२/०७३ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै वित्तीय संस्थाको अधिकृत पुँजीलाई २० करोडबाट वृद्धि गरी ४० करोड पुर्याउने प्रस्ताव पारित गरेको छ । चौथो साधारण सभाबाट पारित बोनस तथा हकप्रद सेयर जारी गरेपछि वित्तीय संस्थाको जारी तथा चुक्ता पुँजी ११ करोड २७ लाख पुगेको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा एनएमबी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत एवं नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष उपेन्द्र पौडेलले एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाले बिकट हिमाली तथा पहाडी जिल्लाको दुर्गम भेगमा शाखा स्थापना गरी त्यहाँका विपन्न समुदायमा सेवा प्रदान गरेकोमा प्रशंसा गर्दै आगामी दिनको लागि सुभकामना दिए ।