स्थानीय तह पुन:संरचना अायोगले मंसिरभित्रै प्रतिवेदन बुझाउने
काठमाडौं: स्थानीय तह पुनःसंरचना गर्न गठित गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या र सिमाना निर्धारण आयोगले मङ्सिर मसान्तभित्र आफ्नो प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको छ ।
तराईका सात जिल्लाबाहेक सबै जिल्लाबाट पुनःसंरचना सिफारिस आइसकेकाले मङ्सिरभित्र प्रतिवेदन बुझाइने तयारी भएको आयोगका अध्यक्ष बालानन्द पौडेलले जानकारी दिए। तराईका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, सिरहा र सप्तरीबाहेक सबै जिल्लाको प्रतिवेदन आयोगमा आइसकेको छ ।
आयोगले ६८ जिल्लाका प्राप्त प्रतिवेदनलाई अन्तिम तयार पार्ने काम गरिरहेको आयोगका सदस्य सुनिलरञ्जन सिंहले जानकारी दिए। 'हामी सरकारलाई प्रतिवेदन बुझाउनका लागि आन्तरिक तयारीमा छौँ,'उनले भने,'सात जिल्लालाई केही दिनभित्र ठोस निर्णय गरी सरकारलाई प्रतिवेदन बुझाउँछौँ ।'
यसअघि आयोगले मङ्सिरको दोस्रो हप्ता प्रतिवेदन बुझाउने भनेको थियो । विसं २०७२ चैतमा स्थानीय निकायको पुनःसंरचना गर्न गठित आयोगले पहिलो चरणमा चैत ४ गतेदेखि काम थालेको हो । रासस