द्वैध मान्यता

द्वैध मान्यता

संसद्मा कुनै विधेयक, प्रस्ताव या विशेष प्रकृतिका मामिलाहरूको प्रस्तुति, त्यसबारे छलफल अनि निर्णय निश्चित नियम र प्रक्रिया तथा परम्परा अधीन हुन्छन् । असामान्य परिस्थितिमा विवेकसम्मत निर्णयबाट त्यस्त विषयले सदनमा प्रवेश पाउँछन् । तर दोहोरो मापदण्ड अपनाएर त्यही प्रकृतिको कुनै विषयलाई तत्काल टुंग्याउने र अर्कोलाई लम्ब्याउने काम भएमा समग्र रूपमा या संस्थागत रूपमा सदनको नियतमाथि आम जनताको प्रश्न उठ्न सक्छ ।

संसद्मा विगत तीन महिनादेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्ताव विचाराधीन छ । एक सय ५७ जना सांसदहरूको हस्ताक्षरसहित संसद् सचिवालयमा महाभियोग सूचना दर्ता भएलगत्तै तीमध्ये केहीले आफ्नो हस्ताक्षर फरक प्रयोजनको लागि लिइएको भन्दै सार्वजनिक बयान दिए ।

हस्ताक्षर रुजु नगरी सभामुख ओनसरी घर्तीले रातारात कार्की निलम्बनको लागि राष्ट्रपति र सरकार प्रमुखलाई आग्रह गरिन्, महाभियोग दर्ता भएको बहानामा । यसले संवैधानिक तथा संसदीय मामिलामा असाध्य खतरनाक पूर्व दृष्टान्त निर्माण गरेको छ । के महाभियोगसम्बन्धी सूचना संसद्मा दर्ता हुनेबित्तिकै महाभियोग प्रक्रिया सुरु भएको मानिन्छ त ?

संसद्मा कार्कीविरुद्ध कारबाही माग्ने कानुनवेत्ता, सांसदहरूसमेत यसमा मौन रहे । त्यति मात्र हैन, अदालतको विचाराधीन मुद्दा के संसदीय छानबिन, कारबाही र अनुसन्धान अनि फेरि कारबाहीको विषय बन्न सक्छ त ? शक्ति पृथकीकरणको सिद्धान्तलाई बहालवाला प्रधानन्यायाधीशलाई नै प्रधानमन्त्रीका रूपमा स्विकारी तिलाञ्जली दिएका कांग्रेस, एमाले तथा माओवादीका सांसदहरूले पटके प्रवृत्तिभरि मौन बस्न सक्लान्, दलीय स्वार्थको लागि ? तर त्यसले भविष्यमा सिर्जना गर्ने बेथितिको लागि आज हैन भोलि उनीहरू जिम्मेवार ठहर्‌याइनेछन् ।

यो विषय अहिले बढी सान्दर्भिक बन्न गएको छ । किनकि संसद्ले महाभियोगबारे द्वैध मान्यता अपनाएको छ । सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईविरुद्ध परेको महाभियोग उजुरीलाई संसद्को महाभियोग समितिले खारेज गर्दै यस सम्बन्धमा भविष्यमा कुनै कारबाही नहुने निर्णय दिएको छ । कार्कीविरुद्ध तीन महिना पहिले परेको उजुरी अझै संसद्मा कच्छप गतिमा छलफलमै छ र त्यो कति समयपछि सम्बन्धित समितिमा पुग्ला र कहिले समितिले आफ्नो राय देला, त्यसबारे निश्चितरूपमा भन्न सकिने स्थिति छैन ।

तर त्यसको केही समयपछि आएको उजुरीमा तत्काल समितिले निर्णय दिन सक्ने अवस्थालाई संसद्को निष्पक्षताका रूपमा हेर्न सकिएला ? भविष्यमा महाभियोगहरू आउँदा कुन प्रक्रिया र गतिलाई अनुशरण गर्ने संसद्ले ? लोकमानको मामिलामा संसद्ले अपनाएको ढिलासुस्ती कि न्यायाधीश भट्टराईको मामिलामा अपनाइएको द्रूत गति ?

अहिलेसम्म संसद् र सांसदहरूका गतिविधि हेर्दा लोकमानलाई रातारात पदीय दायित्वबाट हटाउनुपर्ने बाध्यतामा केही उच्च पदस्थ व्यक्तिहरू तथा उनीहरूमातहत रहेका सांसदहरू थिए । सभामुख दलीय अंकुशबाट प्रेरित भएर या पारदर्शी नियमावली तथा प्रक्रिया र परम्पराबाट त्यो पनि ढुक्क भएर भन्न सकिने स्थिति देखिएन । त्यसैले यी महत्त्वपूर्ण निकायहरूबारे निर्णय लिँदा संसद्ले दोहोरो मापदण्ड अपनाएको सन्देश बाहिर गएमा उसको निष्ठा, निष्पक्षता, नियत सबै प्रश्नको घेरामा आउनेछन् ।

अहिले संसद् अस्तव्यस्त छ, अर्कै कारणले । तर संसद्मा महाभियोग प्रस्तावको सूचना दर्ता भएदेखि संसद् अस्तव्यस्त हुनुबीचको अवधिमा पनि त्यहाँ कार्की प्रकरणमा अपनाइएका 'नीति' या 'रणनीति' ले संसद्लाई त्यत्ति नै विवादास्पद बनाइसकेको छ, जति विवादास्पद कार्की छन् । यो संसद्को लागि सुखद सन्देश हैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.