सडक निर्माण गर्न हेलिकोप्टरबाट सामान ढुवानी
खाँदबारी: रानी-विराटनगर-किमाथांका कोसी सडक निर्माण तीव्र पारिएको छ । सडक निर्माण गर्न हेलिकोप्टरबाट सामग्री ढुवानी गरी निर्माण थालिएको छ । भारत र चीन जोड्ने एक मात्र छोटो राजमार्गलाई केपी ओली नेतृत्वको सरकारले दुई वर्षभित्र दुई लेनको कालोपत्रे सडक निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएसँगै सडकको ट्र्याक खोल्ने काम तीव्र बनाइएको हो ।
प्याकेज बनाएर सडक निर्माण गरी ६ नम्बर प्याकेज हटियाको टेजुङ खोलादेखि हान्दाक खोलासम्मको (१५ किलोमिटर) सडक निर्माणका लागि दुईवटा स्काभेटर, दुईवटा ट्र्याक्टर र एउटा कंक्रिट मिक्सचर नेपाली सेनाको एमआई १७ हेलिकोप्टरबाट ढुवानी गरी काम अघि बढाइएको छ । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेअनुसार नेपालमै पहिलो पटक पीसी १४० स्काभेटर ढुवानी गरेको उत्तर-दक्षिण कोसी सडकका इन्जिनियर पशुपति ज्ञवालीले बताए ।
गजुरमुखी कञ्चनजंघा मोतिदान जेभीले निर्माण प्याकेज भ्याटबाहेक ५० करोडमा ठेक्का लिई हेलिकोप्टरबाट सामग्री ढुवानी गरेर निर्माण सम्पन्न गर्ने सहमति गरेको छ । निर्माण कम्पनीले राष्ट्रिय गौरवको राजमार्ग भएकाले आफूले सकेसम्म चाँडो काम सक्ने जनाएको छ ।
खाँदबारीदेखि किमाथांकासम्मको दूरी एक सय ६२ किलोमिटर हो जसमध्ये एकुवासम्म ६९ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ । २० नम्बर प्याकेजअन्तर्गत शर्मा एपेक्स कान्छाराम जेभीले किमाथांकादेखि तल १४ किलोमिटर सडक निर्माण सम्पन्न गरेको छ । अहिले ७९ किलोमिटर ट्र्याक खन्ने काम धमाधम भइरहेको छ । उत्तर-दक्षिण कोसी सडक आयोजनाले स्तरउन्नतिका लागि देउरालीदेखि पाथीभरासम्म ग्राभेल गर्न सुरु गरेको छ ।
सात नम्बर प्याकेजअन्तर्गत हान्दाकदेखि छुम्सुरसम्म २२ किलोमिटर कञ्चनजंघा मोतिदान गजुरमुखीले भ्याटबाहेक ५७ करोडमा ठेक्का लिई काम गर्ने तयारी गरेको छ । अरुण नदीको निर्माणधीन पुल माघ मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने तयारी गरेको आयोजनाले जनाएको छ । राष्ट्रिय गौरवको कोसी सडक निर्माण तीव्र पार्न उत्तर-दक्षिण कोसी सडक आयोजनाले प्याकेजमा काम दिएर निर्माण गरिरहेको छ ।
भारत र चीन जोड्ने एक मात्र छोटो राजमार्ग (३ सय ९० किमि) निर्माणलाई मुख्य प्राथमिकतामा राखेसँगै विकासका सम्भावना पनि उत्तिकै बढेको छ । जग्गा कारोबारदेखि पर्यटकसमेत त्यस क्षेत्रमा प्रवेश गर्न थालेका छन् । सडक निर्माण सम्पन्न भएपछि जोगबनीदेखि ६ घन्टामा किमाथांका पुगिने छ । चिनियाँ सामग्री आयात र नेपाली सामग्री निर्यात गर्न किमाथांका नाका मुख्य हुनेछ । चीनसँग जोडिएका १३ वटा नाकामध्ये कम उचाइको र मानवबस्ती भएको यो एक मात्र नाका हो ।